Breaking News स्वास्थ्य विचार

जताततै डेंगु आतंक, सरकार रमिते  

जताततै डेंगु आतंक, सरकार रमिते  

अहिले राजधानी काठमाडौंसहित देशभर डेंगुका विरामी देखा पर्न थालेका छन् । डेंगुको प्रभावकारी उपचार नभएसँगै यसका विरामीको पनि मृत्युको खबर आउन थालेपछि सर्वसाधारण आत्तिन थालेका छन् । 

डेंगुको संक्रमण देखिने वित्तिकै विरामी मात्र  नभइ विरामीका आफन्तमा समेत सन्त्रास फैलिएको छ । चिकित्सकले समेत डेंगुको उपचार नभएको जवाफ दिन थालेपछि यसले अर्को आतंक सृजना गरेको छ । 

के हो त डेंगु ? 

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ । 

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुने चिकित्सकहरु बताउँछन् । 

डेंगुको उपचार लक्षण अनुसार गरिन्छ । ज्वरो घटाउन सिटामोल खानुकासाथै प्रशस्त झोल पदार्थ पिउनु पर्दछ । एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । 

डेंगुका लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । ज्वरोकासाथै  असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने आदि हुन्छ । कतिपय अवस्थामा रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ? 

मुख्यतः डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने । यसको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । 

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । 

अझ घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ । 

सरकारको भूमिका ?

वास्तवमा भन्ने हो भने डेंगुका विरामीको उपचार र डेंगु फैलन नदिन सरकारले कुनै चासो दिएको छैन । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन परीचालन गर्न सकिने अभिव्यक्ति दिएर जग हसाएका छन् । 

तराईंदेखि पहाडी जिल्लामा समेत डेंगुका विरामी एकपछि अर्को गर्दै देर्खा पर्नु र ती मध्ये कतिपयको ज्यान गैसक्दा समेत सरकार गम्भीर भएको देखिदैन । स्थानीय, प्रदेश होस वा केन्द्र सरकार कसैले पनि चासो दिएका छैनन् । सरसफाई, किटनाशक औषधी छर्किने, झूल वितरण लगायतका काम सहजरुपमा गर्न सकिने भएपनि सरकारी ध्यान त्यसतर्फ देखिदैन ।