समाचार स्वास्थ्य

७६ कैदीबन्दी एकैपटक बिरामी, उपचारमा समस्या

७६ कैदीबन्दी एकैपटक बिरामी, उपचारमा समस्या

इलाम - इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। जसकारण उनीहरुको उपचारमा समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। उनका अनुसार करिब ४ दिनयता कैदीबन्दीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने लक्षण देखिएको छ।

ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको उनले बताए।  

‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने, ‘एकैपटक उनीहरूलाई अस्पताल लैजान असम्भव भएकाले यहीं चिकित्सक बोलाएर उपचार गर्नुपर्ने भएको छ।’

कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छन्। केही बिरामी निको हुने हुनेक्रम रहेको कारागारले जनाएको छ। १ सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागारले जनाएको छ।