विचार

गणतन्त्रमा ओलीको गाइजात्रा: ब्याक गियर नभएको गाडीको ब्याकतिरै यात्रा !     

रमेश सुनुवार

गणतन्त्रमा ओलीको गाइजात्रा: ब्याक गियर नभएको गाडीको ब्याकतिरै यात्रा !     

एक जमाना थियो, जब माओवादी पार्टीको विशाल फौजले देशभरि मार्चपास गथ्र्यो, तब सातो हराएको एमाले पार्टीका दुब्ला–पातला नेता केपी ओलीअगाडि गएर उभिन्थे र उद्घोष गर्थे– ‘मेरो गाडीमा ब्याक गियर छैन ।’ उनको त्यो व्यवहार मुड्कीले हानेर पहरो फुटाउने दुस्साहसजस्तै लाग्थ्यो ।

तर विस्तारै समय बदलियो । माओवादी ओइल्यायो, एमाले मौलायो । माओवादी दुब्लायो, एमाले मोटायो । माओवादी ओरालो लाग्यो, एमाले उकालो लग्यो । अन्ततः ओरालो लाग्दै गरेको माओवादी र उकालो लाग्दै गरेको एमालेको बीच बाटोमा भेट भयो । त्यसपछि मार्क्सवाद र कम्युनिष्ट पार्टी दुवैको अपमान र बद्नाम हुनेगरी एउटा नक्कली पार्टी बन्छ । नाम राखिन्छ– डबल नेकपा ! सँगसँगै त्यही पार्टीको नेतृत्वमा दुईतिहाई बहुमतको सरकार बन्छ । प्रधानमन्त्री बन्छन्– ब्याक गियर नभएको गाडी चढ्ने केपी ओली !

अब के चाहियो, दुवै हातमा लड्डु ! शुभारम्भ हुन्छ, महायात्रा । प्रधानमन्त्री एकपछि अर्को घोषणा गर्दै जान्छन्– भूपरिवेष्ठित देशमा पानीजहाज, पहाडै–पहाडले भरिएको देशमा रेल, घर–घरमा ग्यासपाइप, हरेक नेपालीलाई रोजगारी, भोकको उन्मूलन, रोगको उन्मूलन, तराइमा सितलहरको उन्मूलन,....... इत्यादि । 

एकातिर कहिल्यै पछाडि नफर्किने गाडी, अर्कोतिर दुईतिहाई बहुमतको जादूको छडी । त्यसले अद्भुत चमत्कार गर्छ । शत्रुलाई तर्साउँदा पनि दुईतिहाई, मालिकलाई रिझाउँदा पनि दुईतिहाई । चोर्नु ठिक छ भन्दा पनि दुईतिहाई, चोर्नु हुँदैन भन्दा पनि दुईतिहाई । सबैतिर कामलाग्ने यो ‘दुईतिहाई बहुमत’ चटकेको बूटीभन्दा कुनै मानेमा कम छैन ।

तर कस्तो आश्चर्य ! गाडी छ ब्याक गियर नभएको, यात्रा छ पछाडितिर । अहिले केपी ओली गणतन्त्रमा बसेर राजतन्त्रको अभ्यास गरिरहेका छन् । देशबाट भ्रष्टाचार उन्मुलन हुनुको सट्टा नेताहरु नै भ्रष्टाचारमा संलग्न छन् । अपराधीहरु दण्डित हुनुको सट्टा राज्यद्वारा नै संरक्षित भइरहेका छन् । स्वतन्त्रता बढ्नुको सट्टा निरंकुशता बढिरहेको छ । प्रगतिशील चेतना फैलिनुको सट्टा रुढिवाद फैलिरहेको छ । दुईतिहाई बहुमतको कम्युनिष्ट सरकारले कम्युनिष्टहरुकै बद्नाम गरिरहेको छ । 

देशमा दुईतिहाई बहुमतको कम्युनिष्ट सरकार छ । काठमाडाै‌ महानगरपालिकामा कम्युनिष्ट मेयर विराजमान छन् । तर सडक धुलाम्य र दुर्गन्धित छ । हावा चल्दा पनि धुलो उड्छ र गाडीहरु गुड्दा पनि धुलो उड्छ । त्यसबाट बच्नको लागि सवैले मास्क लगाएर हिँड्नुपर्छ । तर मानिसहरुले मास्क लगाएको देख्दा प्रधानमन्त्रीलाई खपिनसक्नु हुन्छ । उनी आक्रोश व्यक्त गर्छन्– ‘मास्क लगाएर हिँड्नु सरकारको विरोध हो ।’  बिचरा नेपाली जनता, मास्क लगाउँदा सरकारको आक्रोशको शिकार हुने, मास्क नलगाउँदा क्यान्सरको शिकार हुने ! कर्मै खोटो भएपछि के लाग्छ र ?

नेपाली समाजमा एउटा प्रसिद्ध भनाइ प्रचलित छ– ‘जता काफल पाक्यो, त्यतै चरी नाच्यो ।’ यो भनाइ चरितार्थ हुनेगरी अहिले डबल नेकपामा प्रवेश गर्ने मानिसहरुको लर्को लागेको छ । त्यहाँ को इमानी र को बेइमानी, को सदाचारी र को भ्रष्टाचारी, को क्रान्तिकारी र को प्रतिक्रियावादी भन्ने कुनै भेदभाव छैन । डबल नेकपाका नेताहरु सगर्व उद्घोष गर्छन्– ‘देश बनाउनको लागि सवै मिल्नुपर्छ ।’ तर आजसम्मको इतिहासमा इमानी र बेमानी, सदाचारी र भ्रष्टाचारी, क्रान्तिकारी र प्रतिक्रियावादी  मिलेर देश बनेको उदाहरण कतै देखिएको छैन । देश बनाउनको लागि जहिले पनि बेमानीको विरुद्ध इमानीले, भ्रष्टाचारीको विरुद्ध सदाचारीले, प्रतिक्रियावादीको विरुद्ध क्रान्तिकारीले अनवरत संघर्ष गर्नुपरेको छ । यदि सवै मिलेर देश बन्थ्यो भने राणाकालमा सवै मिल्दा हुन्थ्यो होला, पञ्चायतकालमा सवै मिल्दा हुन्थ्यो होला र दशवर्षे जनयुद्धको पनि आवश्यकता पर्दैनथ्यो होला । 

लेखक रमेश सुनुवार


सत्ताको वरिपरि बस्ने पहरेदारहरुलाई आलोचना सह्य हुँदैन, खपिनसक्नु हुन्छ । उनीहरु अरिङ्गल बन्छन् र विरोधीहरुमाथि जाइलाग्छन् । उनीहरुका तर्क पनि अचम्मका हुन्छन् । अन्तर्राष्ट्रिय कुरा गर्‍यो, राष्ट्रिय तर्क गर्छन्; राष्ट्रिय कुरा गर्‍यो, अन्तर्राष्ट्रिय तर्क गर्छन् । नेपालमा चीनको जस्तो नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन भन्यो भने उनीहरु नेपालमा नेपाली विशिष्टताको जनवादी क्रान्ति भइसक्यो भन्छन् । नेपालमा संग्रहालयमा थन्किसकेको राजाको शब्द ‘मेरो सरकार’ किन प्रयोग गरियो भन्यो भने उनीहरु यो त अन्तर्राष्ट्रिय प्रचलन हो भन्छन् ।

दोश्रो विश्वयुद्धको बेला हिटलरका एक संचारमन्त्री थिए । उनको नाम गोयबल्स थियो । उनले असत्यलाई हजारौं पटक दोहोर्‍याएर सत्य बनाइदिन्थे । त्यसकारण उनी गलत कुरालाई सही सिद्ध गर्ने व्यक्तिको रुपमा विश्वप्रसिद्ध छन् । गलत कुरालाई सही सिद्ध गर्ने यस्तो तरीकालाई उनकै सम्मानमा ‘गोयबल्स शैली’ भन्ने नामकरण गरिएको छ । अहिले नेपालमा सरकारको वरिपरि घेरा हालेर बस्ने मानिसहरु त्यही ‘गोयबल्स शैली’ मा तर्क गरिरहेका छन् ।

अहिले ब्याक गियर नभएको गाडीमा सवार साहसी केपी ओली मृत्यसँग डराएको देखियो । उनले मानिसहरुले मलाई मरोस् भने भनेर दुःख व्यक्त गरे । तर उनी मानिसहरुले त्यस्तो कामना किन गर्छन् भनेर किन सोच्दैनन् ? मानिसहरुको मन–मस्तिष्कमा प्रेम र सम्मानको भावनाले बास गर्नु र आँखाको कसिङ्गर बनेर राज गर्नुमा आकाश–पाताल अन्तर हुन्छ । मानिसहरुको मन–मस्तिष्कमा प्रेम र सम्मानले बास गर्नेहरु मरेर पनि अमर हुन्छन् तर आँखाको कसिङ्गर बनेर राज गर्नेहरु बाँचेर पनि मरेतुल्य हुन्छन् । यति कुरा मनन् गरे त पुगिहाल्थ्यो होला नि !

शायद ब्याक गियर नभएको गाडी चढेर पछाडितिर यात्रा गर्ने प्रधानमन्त्रीको कार्यकाल भएर होला, यहाँ अरुको पनि यात्रा पछाडितिरै देखिएको छ । आपूmलाई मार्क्सवादको प्राधिकार ठानेर, मार्क्सकै उत्तराधिकारी भएजस्तै को सक्कली मार्क्सवादी हो, को नक्कली मार्क्सवादी हो भनेर मार्क्सवादको प्रमाणपत्र वितरण गर्दै हिँड्नेहरु विश्वहिन्दू महासंघको जस्तो सभा–सम्मेलन गर्छन् । उनीहरु वेदमा मार्क्सवाद खोज्छन्, बुद्धदर्शनमा गणतन्त्र खोज्छन् र योग–ध्यानमा साम्यवाद खोज्छन् । अनि आफ्नो समयमा आफूले प्रयत्न गर्न छोडेर पच्चीस सय वर्षअगाडि जन्मिएका बुद्धलाई आजको समाज निर्माण गर्ने ठेक्का दिन्छन् ।

रिमोट कन्ट्रोलर प्रयोग गरेर अरु ग्रहहरुको सतहमा यान चलाउने आजको युगमा साँढे चढेर हिँडने शिवलाई महान दार्शनिक घोषित गरिन्छ र मानव सभ्यताको आरम्भ नेपालबाटै भएको थियो भनेर ग्रन्थ लेखिन्छ । त्यसो त उहिले नैै माधव घिमिरेले लेखिसकेका थिए– ‘बुद्धले यही पाएथे ज्ञानको पहिलो मुहान, शिवले यही ल्याएथे सृष्टिको पहिलो बिहान ।’ त्यही लेखेर उनी राष्ट्रकवि घोषित भए । अब यो राष्ट्रकवि हुने प्रतिस्पर्धामा अरु के के लेखिने हुन् ?

यी कुनै मिसावट नभएका, शत प्रतिशत सक्कली मार्क्सवादीहरुलाई आफ्नो युगका र आफ्नै वरिपरिका घटनाहरुसँग कुनै सरोकार छैन । उनीहरु त सुदूर विगतको बारेमा दिनरात चिन्तन–मननमा निमग्न हुन्छन् र अनौठा–अनौठा तथ्यहरु पत्ता लगाएको दावी गर्छन् । आफ्नो युगमा घटेका घटनाहरुको अध्ययन–अनुसन्धान गरेर भविष्यको खाका कोर्न छोडेर उनीहरु विगतको दर्शन लेखेर गर्व गर्छन् । 

दुई–तिहाइ बहुमतको कम्युनिष्ट सरकारका प्रधानमन्त्रीबाट उद्घाटित उल्टो यात्रामा यसरी निरन्तर प्रगति भइरहेको छ । सबैलाई शुभयात्रा !       

                 

केपी शर्मा ओली