भिडियो

स्वास्थ्य मन्त्री उपेन्द्र यादवबाट जनता सन्तुष्ट छैनन (भिडियोसहित) 

स्वास्थ्य मन्त्री उपेन्द्र यादवबाट जनता सन्तुष्ट छैनन (भिडियोसहित) 

मुलुक डेंगु र स्क्रव टाइपस रोगको महामारीबाट ग्रस्त भएका बेला स्वास्थ्यमन्त्री उपेन्द्र यादव दुई हप्ता भन्दा लामो अमेरिका भ्रमणमा निस्किएका छन् । अमेरिका जानुअघि संसद्मा उनले डेंगु संक्रमणबारे दिएको जवाफप्रति सत्तारुढ दलकै सांसदहरुले गम्भीर आपत्ति जनाए । यादवले डेंगुको माहामारीलाई सामान्यीकरण गर्दै केही पनि नभएको जस्तो गरी जवाफ दिएपछि उनको आलोचना झन् चुलिएको छ । 

सत्तारुढ दल नेकपाका सांसद एवम पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले त मन्त्री यादवबाट जनता सन्तुष्ट नभएको स्पष्ट शब्दमा भनेका छन् । नेपाल आजसंग विशेष साक्षात्कार गर्दै नेता अधिकारीले देशका अधिकांश जिल्ला डेंगुको संक्रमणमा परेर हजारौं विरामी र केहीले ज्यान गुमाएको अवस्था हुँदा पनि मन्त्री यादव गम्भीर हुन नसकेको आरोप लगाए । डेंगुसंगै पछिल्लो समय स्क्रव टाइफस लगायतका अन्य रोगहरुको पनि संक्रमण बढेको छ । यस्तो बेला मन्त्री यादव लामो समयका लागि विदेश भ्रमणमा जानु कतिको जिम्मेवार विषय हो, उनैले जानून । 

सांसद अधिकारी भन्छन्, ‘अहिले ‘हेल्थ इमरजेन्सी’ को अवस्था हो । यो बेला के सरकार, के प्रतिपक्षी, के कलाकार, के पत्रकार सबैले मिलेर स्वास्थ्य चेतना बढाउँदै संक्रमण न्यूनीकरणका उपाय अवलम्बन गर्ने हो । तर, त्यसो हुन सकेको छैन । स्वास्थ्यमन्त्रीले पछिल्लो समय जे सक्रियता देखाउनुभयो, त्यो पनि प्रधानमन्त्रीले दवाव दिएपछि हो ।’

स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम र लिनुपर्ने होशियारीका सन्दर्भमा वर्तमान सरकारका थुप्रै कमजोरी छन् । विगतका सरकारले पनि यो कमजोरी गरेका छन् । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका विभागहरु कहिल्यै पनि योजनाबद्ध रुपमा चल्न सकेनन् । आज डेंगुको संक्रमण यसको नतिजा हो । अब पाठ सिकेर अघि बढ्न सक्नुपर्छ । 

‘डायनामिक’ प्रधानमन्त्री 

प्रधानमन्त्री मुलुकको विकास र समृद्धिका लागि दत्तचित्त भएर लाग्नु भएको छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा भैरहेका सबै कामको उहाँले अनुगमन गरिरहनु भएको छ । सानो त्रुटी भेट्यो कि आफै सक्रिय बन्नु हुन्छ । थोरै समयमा महत्वपूर्ण काम भएका छन्, तर तिनको प्रचार हुन सकेको छैन । 

प्रधानमन्त्रीले पार्टी र सरकारलाई सन्तुलित रुपमा अघि बढाउनु भएको छ । दुवैतर्फ उहाँको नेतृत्व निकै ‘डायनामिक’ देखिएको छ । अब केही दिनमै पार्टीको एकीकरण प्रक्रियाका सबै काम सकिंदैछन् भने सरकारका कामको नतिजा पनि विस्तारै देखिन थालेको छ । 

माधव र ओली 

पार्टीमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष ओलीबीच बोलचाल नभएको भन्ने  सत्य होइन । बाहिरबाट हेर्दा त्यस्तो देखिएला तर उहाँहरुबीचको सम्बन्ध श्रीमान श्रीमती जस्तो हो । खुलेर झगडा गर्ने, खुलेर प्रेम गर्ने । 

इतिहासका घटनाक्रम हेरे पुग्छ, महाकाली सन्धी देखि पार्टीभित्र र देशका राष्ट्रिय मुद्दाहरुमा उहाँहरु सधैं एकै ठाउँमा उभिनु भएको छ । पछिल्लो समय उहाँले उठाएको भनिएको ९ बुँदे फरक मत अध्यक्ष ओलीविरुद्ध होइन । केन्द्रीय समितिमा त्यो विषयमा छलफल अवश्य हुनेछ । 

जहाँसम्म एक व्यक्ति एक पदको कुरा छ, त्यो पार्टीको महाधिवेशनपछि लिइने नीति हो । महाधिवेशनपछि सो नीति लिनु उपयुक्त हुन्छ । प्रधानमन्त्री ओलीलाई लक्षित गरेर नेता नेपालले त्यो प्रस्ताव ल्याउनै सक्नु हुन्न । ओलीलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने व्यक्ति नै माधव नेपाल हुन् ।  प्रधानमन्त्री हुने व्यक्तिलाई संसदीय दलको नेताका रुपमा अर्को पद दिन तयार व्यक्तिले अहिले यस्तो तर्क गर्न मिल्छ ?

ओलीको झोला 

प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओलीको स्वभाव र आनीबानीबारे टिप्पणी गर्दै नेता खगराज भन्छन्, ‘२०७२ सालमा भूकम्पपछिको कुरा हो । मलाई अध्यक्षले बोलाउनुभयो, म गएँ । उहाँले मलाई एउटा झोला थमाएर ईश्वर पोखरेललाई दिन अहउनुभयो । मैले अनुमान गरे, झोलामा पैसा छ । मैले यस्तो काममा आफूलाई नलगाउन आग्रह गरे । झोलामा के छ, मलाई थाहा थिएन, उहाँले पनि भन्नु भएन, अनुमान मात्र थियो । अब अध्यक्षले लगाएको काम नगरी पनि भएन । म त्यो झोला लगेर कमरेड पोखरेल कहाँ गए, झोला दिएँ । ईश्वर कमरेडले के हो भनेर सोध्नुभयो । मैले अध्यक्षले पठाएको के हो ख्वै भनेर टारे । केही दिनपछि ईश्वर कामरेडलाई सोध्दा थाहा भयो, त्यसमा नौ लाख जति रुपैयाँ रहेछ । भूकम्प पीडितहरुको बन्दोबस्तीका लागि चन्दा उठाएर संकलन गरिएको पैसा रहेछ त्यो । अध्यक्ष ओली आफैंलाई त्यो झोला भित्र कति रकम छ भन्ने थाहा थिएन, गने पो थाहा हुन्छ । ’

अध्यक्ष ओली व्यक्तिगत जीवनमा निकै लापर्वाह व्यक्ति हुन् । उनले आफ्नो स्वास्थ्य, आर्थिक अवस्था, घर परिवारलाई कहिल्यै वास्ता गरेनन् । उनको जीवन शैली पनि अस्तव्यस्त हो । तर, कामरेड ईश्वर पोखरेल भने निकै व्यवस्थित नेता हुन् । 

वामदेव र विद्या

गृह जिल्ला कास्की भएका नेता अधिकारीले कास्की २ मा हुने उपनिर्वाचनमा आफनो पार्टी नेकपाको जित सुनिश्चित भएको दावी गरे । जो उम्मेदवार भएपनि नेकपाको जीत सुनिश्चित भएपनि पार्टीका तर्फबाट गर्नुपर्ने तयारी र मेहनत भने कम नहुने बताए । 

सो क्षेत्रबाट चुनाव लड्न स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको सम्भावना प्रवल रहेको उनले बताए । यस्तै, नेता वामदेव गौतम पनि उम्मेदवार बन्ने सम्भावना उत्तिकै रहेको उनी बताउँछन् । यो विषयमा पार्टीले चाँडै निर्णय गर्नेछ ।