मनोरञ्जन

‘शब्दबाट चुम्बन पठाइरहेको छु’

राजु सुवेदी ‘कल्पित’

‘शब्दबाट चुम्बन पठाइरहेको छु’

मेरी प्यारी मधुर रानी !
मलाई अहिलेसम्म यकिन भएको छैन कि यी हरफहरुलाई म आफ्नी सपनाकी रानी समक्ष कसरी पुर्याउन सकुँला । सोच्दछु आफ्नी बहिनीसंग यसो भनौं कि एलीमार्फत तिम्रो हाम्रो भेट आइतवार पक्का गरियोस् । अनि म तिमीलाई यो चिठी आँखा छलेर चुपचाप दिन सकूँ । तर, म फेरि लेख्ने कुरामै विश्वास गर्छु । किनभने केही क्षणको भेटमा के नै गर्न सकिन्छ र ! छोटो भेटमा मनका कुरा कहाँ त्यति सजिलै व्यक्त गर्न सकिन्छ ? फेरि मलाई लाग्छ, समय पाए पनि तिमी मनका सारा उकुसमुकुस व्यक्त गर्न साहस पैदा गर्न सक्तिन होला । तिमी हेम्बोर्ग जाँदैछौ । त्यसका बारेमा साधारण चलाखी र उपायको काम गर्नु छ हैन त ? प्रिय मार्था, तिमीले मेरो पुरै जीवन कसरी परिवर्तन गरिदियौ ?

आज जब म तिम्रो घरमा थिएँ, तिमीसंग बसिरहँदाको क्षण कति अपनत्वपूर्ण कति अद्भूत आनन्दमय लागिरहेको थियो मलाई । एलीले हामीलाई     केही क्षण एकान्तमा छाडिदिएका बेलालाई मैले आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा उपयोग गर्न चाहिन । नत्र त तिमीलाई झटपट चुम्बन गरेर एकक्षणको लागि स्वर्गीय आनन्द र अनुपम सुखको क्षण हासिल गर्न नसकिने थिएन । तर तिनले प्रदान गरेको आतिथ्यलाई जो प्रेमपूर्वक प्रदान गरिएको थियो, त्यसलाई अपमान गर्नु जस्तो हुन्थ्यो  भनी प्रतीत भयो । म तिमीसंग सामाजिक रुपमा नीच सम्झिने काम कसरी गर्न सक्थें ?

मलाई त्यसक्षण लागिरह्यो– यो सुन्दर र रमाइलो क्षणको अन्त्य कहिल्यै नहोस् । त्यो समय मलाई विश्वास भइरहेको थिएन कि तिम्रो त्यो सुन्दर र प्रिय आकृतिको दर्शनका लागि महिनौं कुर्नुपर्ने आत्मविश्वासको भावना मसंग अलिकति पनि बाँकी छैन् । म खुशी, आनन्द, सन्देह, यातना यी सबको भुँवरीमा एकसाथ परेको छु । तिमी जाँदैछ्यौ र तिमीले मैले लेखेका  चिठीका वेदनाहरु सहनुपर्ने बाध्यता छ ।

तिमी यस्तो वातावरण बनाऊ कि कसैले पनि हाम्रो यो कुरालाई पत्तो पाउन नसकून । सर्वप्रथम त यो तिम्रो खातिर हो । र दोस्रो कुरा तिमीलाई थाहै छ, म एक अत्यन्त गरिब मानिस हुँ । मेरो यो मूर्खतापूर्ण विचार शून्यताप्रति मलाई सबैले लज्जित पार्नेछन् । मलाई आशा छ– मेरी हृदयकी रानी मार्थाले मात्र मलाई त्यस्तो गर्ने छैन् । र, म जान्दछु यो बाहेक अरु केही गर्न सक्तिन । 

प्रिय मार्था ! मैले तिम्रो जादू महशूस गरेको छु । मलाई एउटा अक्कल सुझेको छ । तिम्रो काकाको घरमा एउटा पुरुषको लेख शायद सबैको उत्सुकताका कारण बनोस् । यसकारण तिमी केही खामहरुमा आफ्नो ठेगाना लेखेर दिन्नौ ? र म बहुमूल्य शून्यतामा  आफ्ना यातनाहरुले भरेर त्यसमा पठाइ दिउँ । मार्था, तिम्रो जवाफ नआइकन मेरो काम बन्दैन । हिजो जुन कुरा हामीलाई अनौठो लाग्दथ्यो, त्यही कुरा आज अनिवार्य भइसकेको छ कि हाम्रो भेट नहुनु पीडापूर्ण क्षण सावित हुन्छ । 

प्रिय कहिलेकाहीँ म मेरी मार्थालाई सबथोक बताउन असमर्थ हुन्छु जस्तो पनि लाग्छ । तिम्रा किशोरवयका नयन र भावभंगिमाले मलाई मेरा मनका कुराहरु भन्नबाट रोकिरहे जस्तो पनि लाग्छ । त्यस समय मलाई तिम्रो रुप, सौन्दर्य र यौवनले आफ्ना मनका कुरा भन्न इजाजत दिएजस्तो पनि लाग्छ । आमन्त्रण गरेजस्तो पनि लाग्छ । अनुमति दिएजस्तो पनि लाग्छ ।

प्रिय मार्था ! मलाई यी सब लेख्न कति साहस बटुल्नु पर्यो, तिमीलाई के थाहा ? तर तिमीले यो चिठी पढेर नाक खुम्च्यायौ र आँखी भौं तन्कायौ भने मलाई लाग्नेछ– आफ्नै प्रियतमबाट उपेक्षित संसारको सबैभन्दा दुखी प्राणी मै हुँ । तर मलाई यतिबेला गर्वकासाथ यो दावी गर्ने साहस पैदा भइरहेछ कि म मेरी सबैभन्दा प्रियतमालाई यी शब्दहरुद्वारा पूजा गरिरहेको छु , अर्चना गरिरहेको छु । शब्दहरुबाटै प्रेम पठाइरहेको छु , चुम्बन गरिरहेको छु । 

मार्था एली