अपराध सुरक्षा विचार

त्यो फ्रान्स, यो फ्रान्स

त्यो फ्रान्स, यो फ्रान्स

फ्रान्सको सवैभन्दा बदनाम खानदान । यस्तो खानदान जसको नाम लिनासाथ मानिसको शरीरमा कम्पन छुट्ने गथ्र्यो । अपराधीलाई मात्र हैन, निरपराधीलाई समेत फाँसीको फन्दामा झुण्ड्याउनु त्यो परिवारको नियमित कामजस्तै थियो । सजायको एउटै बाटो हुन्थ्यो– मृत्युदण्ड । सन् १८४७ ताका राज्य गर्ने फ्रान्सीसी शासक चाल्र्स हेनरी आततायी शासकका रुपमा चिनिन्छन् । त्यस शाही परिवारको असन्तुष्टिको निहुँमा दर्जनौं आफ्ना भाइभारदारहरुलाई समेत अग्निमा होम्ने काम गरेको थियो । त्यहाँ कस्ता कस्ता अन्याय हुने गरेका थिए भन्ने दृष्टान्त यहाँ प्रस्तुत गरिएका छन् । 
फ्रान्सली युवती एगेलिक कारलियर अत्यन्त सुन्दर र चतुर थिइन । उनका पिता पुस्तक प्रकाशक थिए । स्वभावत उनी पेरिसमा सम्भ्रान्त परिवारको सदस्यका रुपमा स्थापित थिइन । कारलियरसंग विवाह गर्न इच्छुक पुरुषहरुको संख्यामा दिनप्रतिदिन वृद्धि हुन थाल्यो ।

त्यसमध्ये ताइक्वेत नामका एक युवा मजिस्ट्रेट उनीप्रति आशक्त थिए । उनी संसद सदस्य पनि थिए । ताइक्वेतको व्यक्तित्वबाट कारलियर प्रभावित भइन । अन्तत दुईबीच विवाह सम्पन्न भयो । यसैबीच ताइक्वेतले आफ्नो अभिन्न मित्रसंग पत्नीको परिचय गराए । मातज्योरज नाम गरेका ती आकर्षक व्यक्ति फ्रान्सेली सेनाका कप्तान थिए । कारलियर आफ्नो पति ताइक्वेत छोडेर मातज्योरतर्फ आकर्षित हुन थालिन् । यो सम्बन्ध दुईमा मात्र सीमित नभएर आमचर्चाको विषय हुन थाल्यो । यो आकर्षण यतिसम्म बढ्यो कि उनी आफ्नो पतिको अपमान गर्न थालिन् । यतिमात्र हैन, ताइक्वेतमाथि अज्ञात व्यक्तिमार्फत मार्ने प्रयास गरियो । उनीमाथि हानिएको गोली छलिएर बाँच्न सफल भए । कारलियरलाई षड्यन्त्रकारीका रुपमा अदालतको कठघरामा उभ्याइयो । अदालतमा बहस चल्यो । अन्त्यमा उनलाई मृत्युदण्डको सजाय सुनाइयो । 

तोकिएको समयमा उनलाई यातनागृहमा लगियो । उनलाई अपराध स्वीकार्न विविध उपाय लगाइयो । केही गर्दा पनि अपराध स्वीकार नगरेपछि जबर्जस्ती तरल पदार्थ खुवाइयो । तरल पदार्थ खुवाउनासाथ नसा नसामा छाएको पीडाले उनी छट्पटाउन थालिन् । आखिर अपराध स्वीकार्न कर लाग्यो । कारलियरलाई बधशालामा लगियो । बधशालामा अनगिन्ती मानिस भेला भएका थिए । कारलियरका समर्थक पनि भीडमा सामेल थिए । कारलियरलाई देख्नासाथ भीड आकर्षित भई उनीतर्फ खनियो ।

कारलियरलाई मार्नुअघि अर्को अपराधीलाई मार्ने रोलक्रम थियो । उसलाई मारिेपछि मात्र उनको पालो आउँथ्यो । चाल्र्स हेनरी स्वयं तरवार लिएर बसेका थिए । बधशालामा चढ्दै कारलियरले विनम्रतापूर्वक सोधिन– ‘महाशय, म कुन ठाउँमा खुट्टा राखेर उभिँदा ठीक होला ?’ तीनपल्ट प्रहार गरेपछि मात्र चाल्र्स कारलियरको शिर छुट्याउन सफल भए । उनको टाउको तमाशा बनाएर झुण्ड्याइयो । चाल्र्सले गर्वसाथ घोषणा गरे– ‘छल, प्रपञ्चको परिणाम यस्तै हुन्छ ।’

कारलियर मृत्युदण्डको प्रकरणलगत्तै अर्को एक मृत्युदण्डले पनि त्यत्तिक्कै चर्चा पाएको छ । कारतुशे नामको खुँखार अपराधीलाई जेलबाट भाग्दाभाग्दै प्रहरीले समात्यो । ऊ पक्राउ परेको खबरले सम्पूर्ण पेरिसमा खुल्दुली मच्चियो । अपराधी भएपनि कारतुशे साँच्चै सुन्दर थियो । उप्रति शहरका सम्भ्रान्त महिला आकर्षित हुन्थे । उसलाई पनि मृत्युदण्ड उपहार दिने घोषणा गरियो । घोषित मितिमा बधशाला पुर्याइयो । यातनाका क्रममा यसअघि नै उसको करङ भाँचिइसकेको थियो । कारतुशेलाई झुण्ड्याइएको हेर्न आकर्षक दरमा टिकट किनेर मानिस ओइरिएका थिए । उसले आखिरी समयसम्म पनि अपराध स्वीकारेन । आखिर फलामको विशाल चक्काले किचेर उसको प्राण लिने काम सम्पन्न गरियो । 

हेनरी चाल्र्स ४५ वर्षसम्म मात्र जीवित रहे । चाल्र्सको शेषपछि ७ वर्षको उनको छोरो चाल्र्स जाँ वापतिस्तेले यस किसिमको काम सम्हाल्नु पर्यो । यो समय निरपराधी व्यक्तिले सन्तोषको सास फेर्न पाउने अवस्था हुनुपथ्र्यो । तर यथार्थ त्यस्तो भएन । चाल्र्सकी विधवा पत्नीले सरकारी अधिकारीमार्फत लेखापढी गरेर शाही प्रतिनिधिमा नियुक्त गरिन । रानीको कान्छो भाइ जेवरियल सेसनको नायवीमा सजाय दिने कामले निरन्तरता पाइरह्यो । 

फ्रान्सको राजनीतिक जीवनमा उतार चढाव आउन थाल्यो । राजसत्ता जनताको हातमा पुगेको थियो । राजवंश एवं सम्भ्रान्त परिवारका सदस्यलाई फाँसी दिन थालिएको थियो । डा. गिलोटिनद्वारा निर्मित फाँसीका लागि तयार गरिएको ‘गिलोटिन’ नामको यन्त्रबाट मृत्युदण्ड दिने क्रम आरम्भ भयो । यन्त्रबाट पीडित व्यक्तिले कम पीडा पाउँथ्यो । त्यसताका फ्रान्समा फाँसीपछि शब प्रदर्शन गरिन्थ्यो । यो दृश्य अत्यन्त विभत्स हुन्थ्यो । टाउको काटेर प्राणदण्ड दिइएका व्यक्ति आफूलाई भाग्यमानी सम्झन्थे । यस्ता व्यक्तिलाई मृत्युपूर्व अन्य कुनै यातना दिइँदैनथ्यो । यस किसिमको सजायबाट मुक्ति पाउनका लागि गिलोटिनले यन्त्र आविष्कार गरेका थिए ।

आविष्कार भएको यन्त्रको कार्यक्षमता जाँच्न मोटा मोटा घाँटी भएका तीन व्यक्तिलाई फाँसीमा चढाइएको थियो । यो यन्त्र राजप्रासाद अगाडि राखिएको थियो । फ्रान्सका क्रूर सम्राटले अरुलाई मृत्युदण्ड दिन बनाएको उक्त ठाउँमा फ्रान्सका सम्राट लुईस सोर्हौंलाई पनि गिलोटिनमा चढाउन ल्याइयो । त्यसबेला फ्रान्समा अराजकताको ज्वारभाटा चलेको थियो । जनताले कानुन आफ्नो हातमा लिएका थिए ।

सम्राटको गाडी बधस्थलमा आएर रोकियो । सम्राटलाई देख्नासाथ उत्तेजित भीड शान्त देखियो । सम्राटलाई लगाएको कपडा खोल्न आग्रह गरियो । उनले भने– ‘म जुन अवस्थामा छु , त्यही स्थितिमा मर्न दिनुस् ।’ सम्राटका दुवै हात पछाडि लगेर बाँधियो । ढोलकेहरुले मृत्युपूर्वको ढोलक बजाए । फाँसी चढ्नुअघि सम्राटले मधुर स्वरमा सम्बोधन गर्दै भने– ‘फ्रान्सलीहरु देखिरहेका छौ कि तिमीहरुको राजा बलिवेदीमा चढ्दैछ । मेरो रगतले यो देश र जनतालाई सधैं भलो गरोस् । तर म निर्दोष छु..... ।’ सम्राटको स्वरले चारैतिर स्तब्ध छायो । केही समयपछि नै सम्राटको शिर शरीरबाट अलग्गियो ।