स्वास्थ्य

डेंगु ६१ सालमैँ देखापरेको हो : स्वास्थ्यमन्त्री 

डेंगु ६१ सालमैँ देखापरेको हो : स्वास्थ्यमन्त्री 

काठमाडौँ । सरकारले ५६ वटा जिल्लामा ५ हजार बढी डेंगु संक्रमित रहेको जनाएको छ । डेंगुका कारण यो वर्ष ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जानकारी गराए ।प्रतिनिधिसभाको बुधबारको बैठकमा डेंगु बारे जानकारी दिने क्रममा मन्त्री यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए । 

मन्त्री यादवले नेपालका लागि मात्रै नभएर विश्वकै लागि डेंगुको संक्रमण चुनौती बनेको बताए । नेपालमा २०६१ सालमा पहिलोपटक चितवनमा डेंगु देखिएको मन्त्री यादवले जानकारी दिए । हरेक वर्ष संसारमा २९ करोडमा संक्रमण देखिने गरेको र २० हजारको मृत्यु हुने गरेको तथ्याङ्क समेत यादवले प्रस्तुत गरे ।

एसियाका सबै देशमा डेंगुको संक्रमण देखिएको भन्दै मन्त्री यादवले न्यून रुपमा मात्रै नेपालमा देखिएको भन्दै आपत्कालिन स्थितिको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताए ।

मन्त्री यादवले डेंगुको कुनै औषधी नभएको भन्दै लामखुट्टेको नियन्त्रण गर्न मात्रै सम्भव रहेको बताए । उनले लामखुट्टे नियन्त्रणका लागि स्थानीय सरकार समेतको सहभागितामा काम भइरहेको बताए ।
संघीय सरकारले डेंगु नियन्त्रणका लागि १ करोड ६६ लाख र ६ करोड १७ लाख प्रदेशमा पठाइसकिएको उनले बताए ।

साथै स्थानीय सरकारहरुले समेत ‘लामखुट्टटे खोज र नष्ट गर अभियान’ सञ्चालन गरिरहेको उनको भनाइ छ ।