फोटो कभर स्टोरी

सुतेर पत्रिका पढ्न मिल्ने सागर (फोटोफिचर)

सुतेर पत्रिका पढ्न मिल्ने सागर (फोटोफिचर)

पूर्वतर्फ जोर्डन र पश्चिमतर्फ इजरायल यी दुई देशका बीचमा पानीको एक विशाल जलराशि छ,  जसलाई मृतसागर (म्भबम क्भब) भनिन्छ । ७५÷१५ किलोमिटरको लम्बाई–चौडाईमा फैलिएर रहेको मृतसागरको वास्तविक नाम ‘याम हेमलेक’ हो । मृतसागरको नामले पुकारिए पनि साँचो अर्थमा यो सागर चाहीँ होइन । मृत होस या जीवित, वास्तवमा यो नूनिलो पानीको विशाल ताल हो । 

अरु सागरमा नूनको परिमाण दुईदेखि लिएर तीन प्रतिशतसम्म हुन्छ भने यो सागगरमा २७ प्रतिशत वा त्यो भन्दा बढी नै नूनको मात्रा छ । यसको पानी अरु समुद्रको भन्दा दशगुना बढी नूनिलो छ । मृतसागरमा विद्यमान नूनको कूल परिमाम लगभग चार करोड टन छ । मृतसागरबाट एक गाग्री पानी भरेर बाहिर घाममा सुकायो भने पानी बाफ बनेर उडेपछि गाग्रीमा एक तिहाई जति नून थेग्रिएर बसेको हुन्छ । मृतसागरको पानी यति धेरै नूनिलो भएका कारण यहाँ माछालगायत अन्य सामुद्रिक जीवहरु बाँच्नै सक्दैन । प्राणीहरु बाँच्न नसक्ने भएकाले नै यो नूनिलो पानीको ताललाई मृतसागर भनिएको हो । 

मृतसागरको पानीको आपेक्षिक घनत्व १ दशमलव १८ छ अर्थात साधारण पानीको तुलनामा यसको घनत्व धेरै गुना बढी छ । त्यसैले मान्छे चाहेर पनि यो समुद्रमा डुब्न सक्दैन् । डुब्न मात्र होइन, यहाँ पौडी खेल्न पनि असम्भव छ । जस्तोसुकै पौडीबाजको पनि यहाँ पुगेपछि मस्ती मर्छ । डुब्न या पौडी खेल्न असम्भव भएपनि यहाँको छालमा मजाले सुतेर किताव पढ्न सकिन्छ । यदि कुनै घोडालाई त्यहाँ छोडिदियो भने त्यो घोडा न खडा रहन सक्छ , न डुब्न नै । बरु नाच्न थाल्छ, छालको तालमा । अनि नाच्दानाच्दै थाकेर एकातिर पल्टिन्छ र चारै पाउ आशतिर फर्काएर उत्तानो पर्छ । कस्तो आनन्द, कस्तो रमाइलो दृश्य ! सर्कस हेर्नु त यस्तो पो । 

नूनमा जिउँदो जीवाणु 

मृतसागरको नूनिलो पानी सामुद्रिक प्राणीहरुका लागि मृत भए पनि त्यहाँका जीवाणुहरुका लागि यो पानी अमृत बराबर नै छ । अमेरिकी अनुसन्धानकर्ता डा. वाल्टर स्टोकोनियसले मृतसागरको पानीको विश्लेषण गरे । विश्लेषणबाट यस्तो सूक्ष्म जीवाणु पत्ता लगाए कि  जुन जीवाणु नूनमा नै जीवित रहन सक्छ । नून खाएर बाँच्ने यो जीवाणुको नाम हो– ‘हेलो बेक्टेरियम, हेलो वियम’ । यो सूक्ष्म जीवाणुमा बैजनी रंगको एक पदार्थ हुन्छ, जसलाई पिगमेन्ट भनिन्छ । जसलाई क्लोरोफिलमा सूर्यको प्रकाशलाई उर्जामा परिवर्तन गर्ने गुण हुन्छ, ठीक त्यस्तै गुण पिगमेन्टमा पनि रहेको हुन्छ । अत ः सूर्यबाट शक्ति प्राप्त गर्ने दिशाबाट यो सूक्ष्म जीवाणुको अहं योगदान हुनसक्छ । नूनिलो पानीलाई स्वादिलो पानीमा परिवर्तन गर्नमा यो जीवाणु प्रयोगमा ल्याउन सकिन्छ । यो सूक्ष्म जीवाणुमा पाइने वैजनी रंगको पिरामेण्ट मानिसको आँखामा पनि पाइन्छ । 

समुद्री लेउ– डन आयला

तेलको कुवा पाइने आशाले इजरेली वैज्ञानिकहरुले मृतसागरको मुनि ३६ सय ६० मिटरको गहिराईसम्म खनेर तेल खोजे । तेल त पाइएन तर उनीहरुले डन आयला नामको सामुद्रीक लेउ फेला पारे, जसबाट पेट्रोलियम पदार्थ प्राप्त गर्न सकिन्छ । नक्कली तलाउ तयार गरेर त्यसमा मृतसागरको पानीले भरेर लेउको खेती गर्न सकिन्छ । पेट्रोलियम दिने यो लेउ उमार्न वैज्ञानिकहरु कम्मर कसेर लागेका छन् । 
 

रोगको उपचार

मृतसागरको पानीमा रोग निको पार्ने चमत्कारी शक्ति छ । प्राचीन कथाअनुसार भविष्यवेत्ता इब्राहिमकी बृद्ध पत्नी सराहाले यही  मृतसागरमा नुहाएकी थिइन । फलस्वरुप उनी गर्भवती भइन र इसाक भन्ने पुत्र जन्माइन । हेरोड महान जो एक नामी कालिगढ पनि थिए, एकपल्ट सिकिस्तै विरामी परे । बाँच्ने आशै थिएन । जीवनको ज्योति निभ्नै आँटिसकेको थियो । त्यो अन्तिम अवस्थामा उनी मृतसागर गए र आफ्नो शरीर सागरको पानीमा चोपले । फलस्वरुप उनी हट्टाकट्टा भए । उनी निको भएको देखेर धेरैले सिको गर्न थाले । आज पनि संसारभरका रोगी आफ्नो रोगको उपचार हुने विश्वासले त्यहाँको पानीमा नुहाउन जान्छन् । यहाँ स्नान गर्दा निरोगी झन् दीर्घायु रहने र रोगीको रोग च्वाट्टै विशेक हुने विश्वास गरिन्छ । 

मृतसागरको जलले उपचार गर्दा रोग निको हुन्छ भन्ने मान्यताका पछाडि कुनै ठोस वैज्ञानिक आधार पनि छ कि मानिसको केवल फोस्रो श्रद्धा मात्र भन्ने बारेमा चिकित्सा विशेषज्ञहरुले अनुसन्धान गरेका छन् । सागरतटको माटो विश्लेषण गर्दा त्यसमा रेडियोधर्मी वेरियम पाइयो, जुन अनेकौं असाध्य रोगको उपचारका लागि उत्तम ओखती मानिएको छ । तसर्थ मृतसागरप्रति मानिसको केवल कोरा भक्ति होइन, सागरको जलमा नै पूरा शक्ति छ भन्ने सिद्ध भइसकेको छ । 


 

इजरायल जोर्डन मृतसागर