समाचार

भैरव र गणेश ओझेलमा

भैरव र गणेश ओझेलमा

काठमाडौं । इन्द्रजात्राको रथयात्राका समयमा प्रचार भए पनि रथयात्रापछि भैरव र गणेशका विषयमा त्यति सुनिँदैन । नेवार समुदायभन्दा बाहिरका समुदायलाई जीवित देव भैरव र गणेश पनि हुन् र भन्नेसम्म भाव हुने नेवार समुदायका मानिस बताउँछन् ।

रथयात्रा गर्ने क्रममा पहिलो र दोस्रो रथ गणेश र भैरवको हुन्छ भने अन्तिममा कुमारीको रथयात्रा हुन्छ । अवकाश नपाएसम्म भैरव र गणेश पनि कुमारीसरह बस्ने गर्छन् । कुमारी र भैरव÷गणेशमा एउटा मात्रै फरक रहेको पाइन्छ । कुमारी वर्षमा १३ दिन मात्रै स्थायी रूपमा बसेको कुमारी घरबाट बाहिर निस्कन पाउँछिन् भने भैरव र गणेशलाई बाहिर निस्कन छुट छ ।

कुमारी, गणेश र भैरव बस्ने निश्चित सीमा हुन्छ । काठमाडौँको परम्परागत सीमा नाघेर अन्त बस्नु हुँदैन । कुमारीघरमा कुमारीको बस्ने व्यवस्था रहे पनि भैरव र गणेशका लागि छुट्टै घर छैन । आफ्नै घर छैन भने भाडामा लिएर समेत भैरव र गणेश बस्नुपर्ने हुन्छ । हाल भैरव फुपूको घर र गणेश मामाघरमा बस्दै आएका छन् ।

वि.सं २०६५ मा भैरवका रूपमा नियुक्ति लिँदा रुजन शाक्य तीन वर्षका थिए । हाल उनी १४ वर्षका भए । भैरवसँगै रथयात्रामा सहभागी हुने गणेश (संवेग शाक्य) पनि १४ वर्षकै छन् ।  सामान्यतया रजस्वला भएपछि कुमारीले अवकाश पाउने गर्छिन् भने व्रतबन्ध (बन्देछुयगु) गर्ने उमेर भएपछि गणेश र भैरवले अवकाश पाउने व्यवस्था छ । नेपालमा राजतन्त्र हुँदा कुमारी, गणेश र भैरवले गर्दै आएको नियमित पूजा रोकिएको छ ।

कुमारी, भैरव र गणेशको कार्यविधि परिमार्जित हुन नसक्दा नियमित पूजाहरू रोकिएको वर्तमान तथा भूपू जीवित श्रीभैरव तथा श्रीगणेश संरक्षण समितिका कार्यालय सचिव विश्व शाक्यले जानकारी दिए । उनका अनुसार कुमारी, गणेश र भैरवमध्ये एकको नयाँ नियुक्ति हुँदा र राष्ट्रप्रमुखको नयाँ नियुक्ति हुँदा गर्नुपर्ने पूजा राजतन्त्रको समाप्तिसगै रोकिएको छ ।

वि.सं २०६५ मा कुमारी र भैरवको नियुक्ति हुँदादेखि उक्त पूजा रोकिएको हो । पूजा रोकिएपछि २०६६ सालमा गणेशको नियुक्ति पाएका संवेगको पालामा भने गुठी संस्थानको सहयोगमा नियमित पूजा गरिएको थियो ।

लिच्छविकालदेखि इन्द्रजात्रा मनाइने प्रचलन रहे तापनि कुमारी, भैरव र गणेशको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशको पालादेखि शुरु भएको पाइन्छ । शुरुवाती चरणमा भैरव र गणेशको रथलाई अगाडि राखेर स्वयम् जयप्रकाशले कुमारीको रथमा बसी यात्रा चलाएको भन्ने गरिन्छ ।

कुमारी, भैरव र गणेश छनोट गर्ने एउटै विधि हो । छनोट भएपछि उनीहरू तोकिएको विधिअनुसार बस्नुपर्छ । अवकाश लिने समय नजिकिँदै गर्दा आफ्नो छोरालाई गणेश र भैरव बनाउन इच्छुक काठमाडौँका शाक्य समुदायका परिवारलाई आवेदन दिन लगाइन्छ । इच्छुकको चिना तलेजुको पुजारीकहाँ पठाइन्छ । पुजारीले चिना हेरेपछि राजपुरोहितलाई सिफारिस गर्छन् । राजपुरोहितको सिफारिशअनुसार छनोट गरिन्छ । गाेरखापत्र दैनिकबाट