विचार

 किन गर्ने श्राद्ध ?

 किन गर्ने श्राद्ध ?

-केशव आचार्य 

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । सोह्र श्राद्धबारे शास्त्रमा उल्लेखित कुरा यस्ता छन् । 

सूर्ये कन्यागते श्राद्धं 

आश्विनकृष्ण पितृपक्ष प्रतिपदा देखि अमावास्यसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना दिवंगत समस्त पितृहरुको श्राद्ध गर्ने प्रचलन छ । श्राद्ध गर्नाले उनीहरु मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । श्राद्ध गर्नाले पितृको कल्याणमात्र होइन उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण र कार्य सफल हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ ।

सोह्र श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृहरुको पर्व भन्ने बुझिन्छ , औँसीमा गरिने श्राद्धको स्वरुप भएकाले यसलाई पार्वण श्राद्ध भनिएको हो । सोह्र श्राद्धलाई महालय पनि भनिन्छ । महालय भन्नाले पितृहरुको ठूलो आश्रयस्थल भन्ने बुझिन्छ ।

श्राद्ध आफ्ना मृत पूर्वजहरु प्रति गरिने श्रद्धाको प्रतीक हो । पितृहरुलाई लक्षित गरि विधिपूर्वक जुनकर्म श्रद्धा पूर्वक सम्पन्न गरिन्छ त्यसैलाई श्राद्ध भन्ने गरिन्छ ।

श्रद्धया दियते दानं इति श्राद्धं ।
श्रद्धया क्रियते यत्र तच्च श्राद्धं परिकीर्तितम् ।
श्रद्धया क्रियते यत् तत् श्राद्धं ।
श्रद्धया दियते , हुयते , क्रियते तत् श्राद्धं । 

अर्थात् श्रद्धाले दिइने , हुने र गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । वेद आदि शास्त्रले बताएका विधि विधान अनुसार आफ्ना पितृहरु प्रति गर्नु पर्ने कार्यलाई नै श्राद्ध भनिन्छ । अर्थात् श्रद्धापूर्वक गरिने कार्यलाई नै श्राद्ध भनिएको छ । पितृकार्य अन्य कार्यको तुलानामा श्रद्धापूर्वक गर्नु पर्ने भएकोले पनि पितृहरुको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो ।

यं मातापितारौ क्लेशं सहेते सम्भवे नृणाम् ।
न तस्य निष्कृतिः शक्या कर्तुं वर्षशतैरपि ।।

अर्थात् प्रत्येक व्यक्तिलाई जन्म दिएर लालनपालन गरि हुर्काएर सक्षम बनाउने काम मातापिताले गरेका हुन्छन् । माता पिताले जति दुख कष्ट र क्लेश सहेर पालनपोषण गर्नु भयो त्यसको ऋण चुक्ता गर्नका लागि सन्तानले सयौंवर्ष सेवागरे पनि सकिँदैन र पुग्दैन पनि ।

यसर्थ मातापिता व्यक्तिका साक्षात ईश्वर हुन् । मातापिताले अनेक दुःख कष्ट गरि हुर्काएर सबल र सक्षम बनाएको यो हाम्रो शरीर आज तिनै मातापिताको वृद्धअवस्थामा सेवा गर्न, टेवादिन, सहयोग गर्न र वहाँहरूका इच्छा पुरा गर्न तयार हुँदैन भने त्यो जति विडम्बना के हुन सक्ला ?

अत हामीले बुझेर माता पिताको सेवा गरौँ मृत्युु पछिपनि वहाँहरुको चाहना अनुसार पितृयज्ञ पिण्ड पानी दिएर आफ्नो कर्तव्य पूरा गरौँ । हामी सनातन धर्मावलम्बीहरु वेद, धर्मशास्त्र अनुयायी हौं शास्त्रहरुले विधान गरेको र पितापुर्खाले अवलम्बन गर्दै आएको धर्म संस्कार नै हाम्रो सनातन संस्कृतिको मूल आधार हो ।

शास्त्र अनुसार पनि मातापिताको स्थान सर्वोपरि हुन्छ । संसारमा कुनै भौतिक वस्तु छैन जसले मातापिताले लगाएको गुन चुक्ता गर्न सकियोस् । यसर्थ जीवन भर मातापिताको सम्मान, आज्ञापालन, सेवा र इच्छापूर्ति गर्नु नै परं कर्तव्य हुन आउँछ भने मरणोपरान्त पनि शास्त्रोक्त विधि अनुसार पितृ उद्धारका कार्यहरु गरिनै रहनुपर्छ ।

वैदिक सनातन धर्म संस्कृतिमा षोडश संस्कारहरु छन् । ती संस्कार हरु विधिवत् रुपमा विधि सम्पादन गर्दै जीवनलाई मूल्यवान बनाउनु पर्छ । सनातनधर्मका आस्थावान व्यक्तिले पूर्वजन्म र पुनर्जन्ममा विश्वास राख्ने भएको हुनाले मृत्युु पर्यन्तका र मृत्यु पश्चात् गर्नुपर्ने बार्षिक संस्कारहरु पनि शास्त्र विहित हुनाले अति आवश्यक छन् र गर्नु पर्ने नै हुन्छ ।

वर्तमान समयमा हाम्रो वैदिक सनातन धर्म संस्कृति लाई अपहेलना गरि पाश्चात्य संस्कृतिलाई नै प्रोत्साहन दिन थालेका छन् यसको फलस्वरूप हाम्रो संस्कार, संस्कृति, मान मर्यादा, नैतिक मूल्य र मान्यता, सदाचार, सद्भावना, सत्कर्म र सन्मार्ग आदिको अभावमा देवता, माता, पिता, गुरु, आचार्य , अतिथि, मान्यजन हरुको सेवा सत्कार, आज्ञापालन र मान मर्यादा नै नगरि सनातन धर्मलाई नै दोष देखाई आफूखुसी गर्नेहरु देखिन थालेका छन् ।

यसरी अनादि काल देखि चलि आएको परम्परा र धर्म संस्कार संस्कृति सेवा सत्कार आदि लाई जोगाउन र यसलाई निरन्तरता दिनको लागि तपाई हामी सबैको नैतिक दायित्व हो , यसले मानव सभ्यताको उचो गरिमा लाई अझ दिगो बनाउंछ ।

मातृ देवो भवः, पितृ देवो भवः ।

मातापिता सक्षात् देवतुल्य मानिन्छन् । जीवित हुँदा मातापिता प्रति सेवा गर्नु मानव कर्तव्य हो भने यसै गरि उनिहरुको मृत्युु हुँदा पितृहरुको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि कर्तव्य नै हो । पितृहरु लाई सम्झने वा उनीहरु प्रति श्रद्धाभाव जगाउने परम्परा विश्वभरी नै पाउन सकिन्छ ।

हिन्दू संस्कृतिमा भने अन्यत्र भन्दा फरक किसिमले पितृहरुलाई सम्झने चलन छ , पहिलो पितृहरु दिवंगत भएको तिथिमा एकोद्दिष्ट श्राद्ध र दोस्रो आश्विनकृष्णपक्ष अन्तर्गत पर्ने पितृपक्षमा श्राद्ध गरेर ।

श्राद्ध धेरै प्रकारका हुन्छन् यहाँ पाँच मात्र विशेष मानिएको छ, एक नित्य श्राद्ध (दिन दिनै गरिने श्राद्ध, दोस्रो नैमित्तिक श्राद्ध ( वार्षिक अथवा एकोद्दिष्ट श्राद्ध र पार्वण श्राद्ध सोह्र श्राद्ध आश्विन पितृपक्षमा औँसी आदि पर्वमा गरिने श्राद्ध, तेस्रो काम्य श्राद्ध (आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध, चौथो वृद्धि श्राद्ध (विवाह आदि कार्यमा अभ्युदय होस् भनेर गरिने आभ्युदयिक श्राद्ध, नान्दीमुखी श्राद्ध, पाँचौ तीर्थ श्राद्ध (तीर्थ आदि क्षेत्रमा गएर गरिने तीर्थ श्राद्ध लगायत हुन् । 

श्राद्ध गर्दा मुख्य दुई अङ्ग मानिएको छ एक हो श्राद्धको शुरुमा तर्पण र दोस्रो पिण्डदान गरिन्छ । तर्पण गर्दा ब्रह्मादेखि जो सुकै पनि चराचर जगतमा छन् ती सबैलाई मैले दिएको जलले तृप्ति प्राप्त गरून् । जुनसुकै वृक्ष लता गुल्म पहाड आदि स्थावर तथा देव मानिस पशुपक्षी आदि हिँड्ने डुल्ने जङ्गम प्राणीहरु सबैलाई हामीले दिएको तर्पण पानीले तृप्त होउन् र श्राद्ध र तर्पण द्वारा प्रसन्न भएका पितृगणहरुले श्राद्ध कर्तालाई आयु, सन्तान, धन, विद्या, आरोग्य, लौकिकसुख, मोक्ष तथा स्वर्ग आदि सबै इच्छा अनुसारको फल दिन्छन् भन्ने शास्त्रीय भनाइ छ।

निष्काम भावनाले शान्त भएर विधि पूर्वक आफ्ना पितृहरुको जसले श्राद्ध गर्दछ पितृहरुका आशीर्वादले सबै प्रकारका पाप बाट छुटि अन्त्यमा मोक्ष प्राप्त गर्दछ भन्ने पनि शास्त्रको भनाइ छ ।।

आयुः प्रजां धनं विद्यां स्वर्ग मोक्षं सुखानी च ।
प्रयच्छन्तु यथा राज्यं पितरः श्राद्धतर्पिताः । 

कुन समयमा कुन श्राद्ध गर्ने ?

वृद्धि (नान्दीमुखी) श्राद्ध प्रातः कालमा, एकोद्दिष्ट (तिथि) श्राद्ध मध्यान्ह कालमा ,पार्वण र एकपार्वण श्राद्ध अपरान्ह कालमा ,दैविक (नित्य) श्राद्ध पूर्बान्ह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय धारणा छ।

दिवसस्याष्टमे भागे मन्दी भवति भास्करः ।
स कालः कुतपो ज्ञेय पितृणां दत्तमक्षयम् ।।
त्रीणि श्राद्धे पवित्राणि दौहित्रः कुतपस्तिलाः ।। 

अर्थात् श्राद्धमा तीन वस्तुहरु अत्यन्तै पवित्र मानिन्छन् , भान्जा, कुतपकाल र तिल । त्यस तै मध्यान्ह काल, खड्गपात्र, नेपालकम्बल, चाँदी, कुश, तिल, गौ र भाञ्जा यी आठ पनि कुतप नामले प्रसिद्ध छन् ।

अपसव्य भइ तिल र कुश सहित पितृलाई जलले तर्पण गर्दा तृप्यतामिदं तिलोदकं तस्मै स्वधा नमः भनेर दायाँ हातको बूढीऔँलाबाट ( पितृतीर्थबाट) जल दिइन्छ, सभ्य भएर देवतीर्थबाट देवतालाई अर्थात् अञ्जुली बनाई औँलाहरु तर्फबाट देवतालाई तर्पण गरिन्छ अनि जनैलाई माला लगाएको जस्तो गरि कायतीर्थबाट कान्छी औँलातिरबाट ऋषि तर्पण गरिन्छ ।

त्यस्तै पिण्ड दिँदा एष पिण्डः अमृतस्वरुपःअक्षयतृप्तिहेतोस्ते स्वधा भनेर दिइन्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ , अघिल्लो दिनदेखिनै एकछाक सात्विक भोजन र ब्रह्मचर्य धारण गरि श्रद्धाका साथ श्राद्ध गर्नु पर्दछ तबमात्र यहाँ भनिएको फल पाइन्छ ।

पिता ददाति सत्पुत्रान् गोधनानि पितामहः।
धनदाता भवेत्सोपि यस्तस्य प्रपितामहः ।।
दद्याद्बिपुलमन्नाद्यं वृद्धस्तु प्रपितामहः ।
तृप्ता श्राद्धेन ते सर्वे दत्त्वा पुत्रस्य वाञ्छितम् ।।

पिता प्रसन्न भए असल छोरा र पितामह खुशी भए गोधन दिन्छन् । त्यसका जुन प्रपितामह हुन ती प्रसन्न भएर अतुल वैभव दिनुहुन्छ । वृद्ध प्रपितामह खुशी भए प्रसस्त अन्नादि प्रदान गर्दछन् अनि सबै पितृहरु श्राद्ध द्वारा तृप्त भएर पुत्रलाई इच्छित फल दिएर आफू स्वर्गमा परम आदरका साथ बस्न पाउँछन् भन्ने शास्त्रको भनाइ छ ।

नाना प्रकारका पुण्य र पापले गर्दा मरेर स्वर्ग मर्त्य नरकादि विभिन्न लोकमा भिन्न भिन्न योनिमा पैदाभएका पितृहरुलाई मर्त्यलोकमा छोरानाती हरुले दिएको पिण्ड जल कसरी पुग्न सक्ला ? 

नामगोत्र सम्बन्ध ठिक ठिक उच्चारण गरि मन्त्रआदिको सहाराले परलोकमा भएका पितृहरुलाई पुत्रादिले श्रद्धा भक्ति विश्वास पूर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निष्वात्ता, वर्हिषद, कव्य, सोम, अर्यमाआदि पितृगण हरुले व्यवस्था गरि जुन जुन लोकमा जुन जुन योनिमा पितृहरु छन्, त्यही लोकमा त्यही योनिमा भोगिने पदार्थको रुपमा परिणत गरि पुर्‍याइ दिन्छन् ।

अर्थात् देवता भए अमृत बनाई , पशुभए घाँस बनाइ, सर्प भए बतास बनाई, राक्षस भए मासु बनाई, दैत्य भए मदिरा बनाई, प्रेत भए रगत पानी बनाई, मनुष्य भए अन्नपानी बनाई, यक्ष गन्धर्व भए भोग्य बस्तु बनाई र अरु अरु जुन योनीमा पुगेका छन्, त्यही योनीमा भोगिने वस्तुको रुपमा पुर्‍याइदिने छन् ।

यो धर्म शास्त्रको बचनहो र धर्मशास्त्र लाई हामीले प्रमाण मान्नु पर्दछ ।

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।।

यसैले शास्त्रप्रमाणकै अनुसार आफ्नो जीवनपद्धतिलाई अपनाउनु पर्दछ, कर्तव्य अकर्तव्य, राम्रो नराम्रो, उचित अनुचित, धर्म अधर्म, पुण्य, पाप, सत्य असत्य र खाने नखाने भन्ने कुराको निश्चय र प्रमाण शास्त्रीय वचनद्वारा मात्र हुन सक्छ ।

शास्त्रमा उल्लेख गरिएका विधि (विधानहरुको व्यवस्था ऋषिमुनिहरुले गरेका हुन् जसले त्यही मार्गद्वारा पूर्णत्वलाई प्राप्त गरेका थिए । त्यसैले उनीहरूले बताए अनुसारको मार्गलाई विनयभावले अनुसरण गरेर आफूलाई कृतार्थ बनाउनु नै श्रेयस्कर हुन्छ ।

यसैले भगवान श्रीकृष्ण मनुष्यलाई काम , क्रोध र लोभलाई त्यागेर शास्त्रअनुसारको जीवनयापन गर्न उपदेश दिनुहुन्छ । बास्तबमा यही नै कर्मयोगको जीवन हो ।

-संस्कृत स्नातक मण्डली, थाइल्याण्ड