विचार

के हो अटोमेटीक पेमेन्ट ?

के हो अटोमेटीक पेमेन्ट ?

के हो यो अटोमेटीक पेमेन्ट अर्थात स्वतस्फूर्त भुक्तानी । अमेरिकामा बसिरहेका, खाइखेली ठाड भइरहेका, जानेबुझेका मानिसलाई लाग्दो हो– हामीले जानेकै कुरा किन लेखिरहन्छ ? उनीहरुलाई मनमा यस्ता जानकारी चाहिँदैन भन्ने मनमा पर्दो हो । तर भर्खरै अमेरिका आएका, आउँदै गरेका, आएको धेरै समय नभएका, अंग्रेजी नजानेका, बिल भुक्तानीको अनलाइनका बारेमा बुझ्न र जान्न नभ्याएका, जानेर पनि पूर्ण जानकारी नभएका, ध्यान दिन नसकेका, समयका कारण नभ्याएका र अनुभव नभएकाहरुका लागि यो आलेख सुनमा सुगन्ध हुन सक्दछ । त्यसैले जानेको छु भनेर भ्रममा पर्ने, नजाने पनि अरुलाइ देखाउन, जानेको स्वाङ्ग पार्ने, अरुले थाहा पाउलान भनी थाहा पाएको जस्तो चाहीँ नगर्नुहोस । घाटा तपाईंहरुकै हो । असर तपाईंहरुकै क्रेडीटमा पर्ने हो । असर तपाईंहरुकै फाइनान्सियल रेकर्डमा पुग्ने हो ।

साधारण रुपमा यसरी बुझ्नुहोस अटोमेटीक पेमेन्ट भनेको के हो भनेर । सञ्चार  यति द्रुत गतिमा अघि बढ्दैछ कि समय अनुसार यसको महत्व र प्रयोग सामान्य ढंगमै पनि गर्न, बुझ्न र सदुपयोग गर्न जान्नु भएन भने अमेरिकामा बस्यो भन्दैमा तपाइ स्वतस्फूर्त चलायमान बन्न सक्नुहुन्न । अर्थात तपाईं पछि पर्नु भयो, समयले तपाईंलाईं पछि पार्यो भनेर जान्नुहोला ।

अमेरिकाको दैनिकि भने जस्तो, सोचे जस्तो, कल्पना गरे जस्तो सजिलो छैन । कमाउ, बिल, तिरनतारन गर, भुक्तानी गर, कर तिर, आर्थिक जिम्मेवारी पूरा गर, सेवा सुविधा लेउ, यी सेवा लिए बापत तिर्नुपर्ने भुक्तानी समयमै तिर, मासिक रुपमा तिर, अवसरको सदुपयोग गर, आर्थिक समुन्नति प्राप्त गर र अमेरिकी कानुन, अमेरिकी प्रणालीको सम्मान गर ।

टेलिफोन, सेलफोन, केबल, टीभी, बिजुली बत्ती, पानी, घरभाडा, एपार्टमेन्ट भाडा, मोर्गेज, गाडीको भुक्तानी, क्रेडीट कार्डको भुक्तानी, ग्रोसरी, सपिङ्ग कार्डहरुको भुक्तानी, अन्य सेवा सुविधा र उधारोमा लिएका बस्तुहरुको नियमित भुक्तानी, स्वास्थ्य बीमा, जीवन बीमा, गाडी, सम्पत्तिको बीमा, घर बीमा लगायतका भुक्तानी नियमित अधिकांश मासिक  हुने गर्दछ । अमेरिकामा भने कहिलेकाहीँ टर्म पेमेन्ट अन्तर्गत १ महिना, २ महिना, ३ महिना, ६ महिना, ९ महिना, १२ महिना, १८ महिना, २४ महिना, ३० महिना, ३६ महिना, ४८ महिना, ६० महिना वा ७२ महिना अर्थात ६ बर्ष, १० बर्ष, १५ बर्ष, २० बर्ष र ३० बर्षका अवधि भुक्तानीका भिन्न भिन्न अपफ्रण्ट डाउन पेमेन्ट फरक फरक हुन सक्दछन् ।

यस्ता काम नछुटुन समयमै भुक्तानी गर्न, उक्त पेमेन्ट बुझाउनु पर्ने कम्पनी वरिपरि नहुन सक्दछन, सिधै पेमेन्ट गर्न नमिल्ने हुन सक्दछ । नगद भुक्तानी गर्न नमिल्ने हुन सक्छ । यस्तो अवस्थामा तिर्नुपर्ने यस्ता भुक्तानी समयमै पुगोस भन्नाका खातिर फोनबाटै पेमेन्ट गर्न सकिन्छ । मेलबाट चेक, मनिअर्डर, क्यासियर चेक बनाएर सम्बन्धित कम्पनी वा निकायलाइ भुक्तानी गर्न सकिन्छ तर यो समयमै पुग्दछ वा ती निकायले पाउलान भन्ने निश्चित भएन, मेल हराउन पनि सक्दछ । तर, फोनबाट तिर्दा ती कम्पनीले अतिरिक्त शुल्क मात्रै लिँदैनन कि कुनै ढिला भएको भए लेट पेनाल्टी,  ब्याज समेत असुल्न सक्छन् । 

तर, हिजोआज सहज छ ती निकायको भुक्तानी गर्न । ती निकायको वेवपेज अनलाइन खोल्नुहोस, तिनै वेवपेजबाट एक पटक वा स्वतस्फूर्त समय आएपछि आफ से आफ अनलाइनबाटै ड्राफ्ट वा भुक्तानी नियमित रुपमा भैरहन्छ अटोमेटिक पेमेन्टबाट । तर, यसका लागि ती निकायको वेव पेजमा गई साइन अन अर्थात एकाउन्ट दर्ता गर्नु पर्ने हुन्छ ।

तपाईंको नाम, तपाईं वा तपाईंको कम्पनीको नाम, तपाईंको ठेगाना, तपाईंले सुविधा लिँदै गरेको सेवाको उक्त निकायसंग सम्बद्ध एकाउन्ट नम्बर, तपाईंको ईमेल, तपाईंको नियमित पेमेन्ट एमाउन्ट, कुन मितिमा रेगुलर भुक्तानी तानोस् भन्ने तपाईं चाहनुहुन्छ, तपाइको पेमेन्ट विधि चेकबाट भए चेकको राउटीङ्ग नम्बर, बैंकको नाम, तपाइको बैंक एकाउन्ट जुनबाट तपाईंको भुक्तानी जाओस् भन्ने चाहनुहुन्छ र यति गरेपछि तपाईंको अटोमेटिक पेमेन्ट दर्ज भएपछि अर्को महिनाबाट लगातार पेमेन्ट जाने गर्दछ ।

यदि तपाईंले क्रेडीट कार्ड वा डेबिट कार्डबाट पेमेन्ट गर्ने भए क्रेडीट कार्ड नम्बर, क्रेडीट कार्डमा भएको नाम, क्रेडीट कार्डको एक्पायरिङ्ग मिति, क्रेडीट कार्डको ३ डिजिट सेक्युरिटी कोड, जुन क्रेडीट कार्डको पछिल्लो भागमा हुने गर्दछ । यदि तपाईंको कार्ड वा चेक जुन विधिबाट अटोमेटीक पेमेन्ट जाने हो त्यहाँ आवश्यक रकमको जोहो चाहिँ समयमै गरिराख्नु होला । नत्र कार्ड वा खातामा पैसा नभै अपर्याप्त भएमा अटोमेटीक ड्राफ्ट क्यान्सिल हुन जानेछ । यस्तो अवस्थामा तपाईंलाई थप आर्थिक भार वा पेनाल्टी चार्ज गर्न सक्नेछ ।

यसो भएमा तपाईंको नियमित बिल आफ्नो इमेलमा आउनेछ र यो दिनमा तपाईंको अटोमेटिक पेमेन्ट तान्छ भन्ने तपाईंलाई जानकारी दिन्छ । यस्तो भएमा  पेमेन्ट नतिरिने, ढिला हुने, बिर्सने र यसबाट हुनसक्ने पेनाल्टी वा आर्थिक भारबाट बच्न सक्नुहुनेछ । तपाईंले आफ्नो सेलफोनमा उक्त निकाय वा कम्पनीको एप्स  डाउनलोड गरि आफ्नै सेलफोनबाट उक्त भुक्तानि, बिल र ब्यालेन्स ड्यु चेक गर्न सक्नुहुनेछ।

अटोमेटीक पेमेन्टको एउटै बेफाइदा के हो भने यदि तपाईंले सेवा लिएबापत अटोमेटीक पेमेन्टमा साइन अन गर्नु भएको छ, भविष्यमा सेवा मन परेन, तपाईंले अटोमेटिक ड्राफ्ट पेमेन्ट बदर गर्न भुल्नुभयो भने तपाईंको खाता वा कार्डबाट उक्त कम्पनीले नियमित पेमेन्ट लगिरहन सक्दछ । यस्तो अवस्थामा बैंक कार्ड कम्पनीले यो अटोमेटिक पेमेन्ट बदर गर्न सक्दैन । कि त तपाईं आफैंले अनलाइनमै गै गर्नु पर्यो कि त सोही कम्पनीले गर्नुपर्यो ।
 

अमेरिका अटोमेटीक पेमेन्ट