विदेश विचार

आफ्नै आविष्कारबाट पछुताए आइन्स्टाइन

आफ्नै आविष्कारबाट पछुताए आइन्स्टाइन

सन् १९३३ मा शासन आफ्नो हातमा लिएपछि हिटलरले यहुदी विरोधी अभियान प्रारम्भ गरे । फलस्वरुप प्रसिद्ध वैज्ञानिक आइन्स्टाइन जर्मनीबाट निकालिए । आइन्स्टाइनलाई जर्मनीबाट निकालेपछि त्यहाँका विद्वानहरुले टिप्पणी गर्दै भनेका थिए– ‘जर्मनी आज युद्धमा हारेको छ ।’ यहुदी विद्वानहरुलाई देश निकाला अभियान चलाइएको थियो भने बाँकीलाई दारा निकालेको बाघका रुपमा शक्तिहीन तुल्याएर स्वदेशमै पलायन गरिएको थियो । यहुदी भएका कारण आफ्नो देशबाट च्यूत हुँदै आइन्स्टाइन बेलायत हुँदै शरण लिन अमेरिका पुगे । अणुबमको निर्माण सम्बन्धी आधारभूत सिद्धान्त सापेक्षतावादका जन्मदाता आइन्स्टाइनको प्रतिभाबाट प्रभावित भई अमेरिकी सरकारले उनलाई सम्मानपूर्वक बस्न दिने निधो गर्यो । अनुसन्धान सम्बन्धी सम्पूर्ण काम र सुविधा आइन्स्टाइनमाथि सुम्पिइयो । 

त्यसताका इटलीका यहुदी पनि अनेक प्रकारका यातनाबाट पीडित थिए । इटलीका महान वैज्ञानिक एनरिको फेमीलाई पनि अपमानजनक रुपमा देश निकाला गरियो । अन्तत फेमीले पनि अमेरिकामा भव्य स्वागत पाए । इटलीमै रहँदा आणविक इन्धन ‘युरेनियम’को सम्बन्धमा उनले विभिन्न खोज, अनुसन्धान गरेका थिए । अमेरिकामा रहँदा आइन्स्टाइनको पथ प्रदर्शनले फेमीले आफ्नो अनुसन्धान थप खार्ने मौका पाए । आइन्स्टाइन, फेमी र ईपी विजनर नामका तीन वैज्ञानिक आणविक बमको विकासमा एकाग्र भएर लागे । जर्मनीमा अणुबमको विकास हुन लागेको खबर पाएपछि नयाँ प्रयोग र आविष्कारका लागि ती विद्वान व्यग्र भएर लागे । आफ्नो अनुसन्धान सम्बन्धी जानकारी गराउने उद्देश्यले ती वैज्ञानिकहरुले संयुक्त रुपमा अमेरिकी राष्ट्रपति रुजवेल्टका नाममा पत्र पठाए । यो पत्र राष्ट्रपतिका अनन्य मित्र विख्यात अर्थशास्त्री अलेक्जेण्डर मार्फत पठाइयो । सन् १९३९ अक्टोबरमा पत्र लिएर अलेक्जेण्डर व्हाईट हाउस पुगे ।

आइन्स्टाइनको यही पत्र अणुयुगको सूत्रपात गर्ने कारक बन्न पुग्यो । युरेनियम सम्बन्धी अनुसन्धानमा अनुसन्धानमा नयाँ गति ल्याउने उद्देश्यले राष्ट्रपतिले रुजवेल्टले तत्काल एक परामर्शदाता समूह गठन गरे । डा. लिमेन ब्रिग्सलाई समितिको अध्यक्षमा मनोनयन गरियो । यसैगरी कर्णेल केएफ एडम्सन र जीओ टुवरले सदस्यको जिम्मेवारी पाए । द्वितीय विश्वयुद्धको श्रीगणेश भइसकेको थियो । त्यसबेलासम्म अमेरिका युद्धमा होमिएको थिएन । ७ डिसेम्बर सन् १९४१ मा जापानले पर्लहावरमा आक्रमण गरेपछि अमेरिका सक्रिय रुपमा युद्ध मैदानमा डट्न पुग्यो । अणुबमको अनुसन्धानमा तीब्रता आउन थाल्यो । अमेरिकी उपराष्ट्रपति हेनरी वालेसको नेतृत्वमा सञ्चालित एक उच्चतम नीति निर्धारण मण्डलको निर्देशनमा नयाँ योजनालाई गति दिन थालियो । सन् १९४२ मा उक्त समितिले रुजवेल्ट समक्ष एक रिपोर्ट प्रस्त गर्यो । रिपोर्टमा भनिएको थियो– ‘केही किलो युरेनियम या प्लेटोनियमबाट त्यति शक्ति प्रस्फुटन गर्न सकिन्छ , जति हजारौं टन टीएनटी बारुदबाट शक्ति निस्कन्छ ।

राष्ट्रपतिको आदेशअनुसार केही दिनमै ‘मेनहट्टन प्रोजेक्ट’ नामक विशाल अणुबम योजना बनाइयो । प्राविधिक एवं सुरक्षा दृष्टिलाई मध्यनजर गरी सो योजनालाई डीएसएम भनी छद्म नाम दिइयो । ब्रिगेडियर जनरल लेजली आर. ग्रोब्स डीएसएमका अध्यक्ष बनाइए । बेलायतमा पनि सोही समय वैज्ञानिक मोडरेले अणु योजनाको सम्बन्धमा प्रधानमन्त्री चर्चिलाई  पत्र पठाएका थिए । पत्र पाएपछि चर्चिलको प्रतिक्रिया पनि उस्तै रह्यो, जस्तो रुजवेल्टको थियो । ब्रिटेनमा पनि अणुबम योजना सफल बनाउन गुप्त रुपमा डीएचए नामको योजना अघि बढाइयो । अमेरिकी राष्ट्रपतिको सुझावमा दुवै देशको अणुशक्ति योजनालाई सहकार्यका रुपमा सञ्चालन गर्ने सम्झौता भई सोही अनुसार कार्य प्रारम्भ भयो । मेनहट्टन योजना मुताविक अमेरिकाको शिकागो विश्वविद्यालय हेनफोर्ड तथा ब्रिटेनको हारबेलमा अणुशक्ति प्रयोगशाला केन्द्रको स्थापना भयो । 

२ डिसेम्बर १९४२ मा फेमीद्वारा स्वनिर्मित प्रतिक्रियाबाहक अणुशक्तिको उत्पादन सम्बन्धी समाचार सार्वजनिक गरियो । अणुशक्ति सफलताको शूत्रधारको रुपमा फेमीको प्रयोग सफल ठहरियो । फेमीको योजनाबाट उत्साहित भएका अमेरिकी वैज्ञानिकहरुले मेक्सिकोमा लोसअलामोस नामको एक गोप्य प्रयोगशालाको पनि स्थापना गरे । अणुबमलाई अन्तिम रुप दिने काममा उक्त प्रयोगशालाको उपयोग  गरिन्थ्यो । रोबर्ट ओपनहाइमर यसको निर्देशक र फेमी उपनिर्देशक थिए । अमेरिका, ब्रिटेनले आफ्नो देशको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिकहरुको प्रस्ताव अनुरुप १६ जुलाई १९४५ मा पहिलोपल्ट संयुक्त रुपमा अणुबमको विष्फोट गरे । यस योजना सफल बनाउन अमेरिकाले चार अर्ब डलर खर्च गरेको थियो । 

रुस त्यतिबेलाको युद्धमा अमेरिकाको मित्र देश थियो । अमेरिकाले प्राप्त उपलब्धि रुसलाई सहयोग गर्नका लागि खर्चिएको थियो । कुनै न कुनै माध्यमबाट जर्मनीले गरेको उन्नति र प्रगति सम्बन्धी ज्ञान पनि रुसले प्राप्त गर्दै आएको थियो । अन्य देशबाट अझै यूरोपीय देशका रुपमा बस्ने विदेशी वैज्ञानिकहरु कतै अणुबम निर्माणमा हिटलरले त सबैलाई उछिन्ने त हैनन भनेर त्रस्त थिए । 

अणुबमको कल्पना आइन्स्टाइनको मस्तिष्कको उपज थियो । उनको सापेक्षवाद सिद्धान्तअनुसार जुनसुकै ठोस पदार्थलाई उर्जामा परिणत गर्न सकिने पद्धतिको विकास भयो । उर्जालाई पनि ठोस पदार्थमा रुपान्तरण गर्न सकिन्थ्यो । अमेरिकाको समस्त बिजुली घरमा एक महिनासम्म रातदिन बालिने बिजुलीबाट प्राप्त उपलब्धि एक किलो कोइलाबाट प्राप्त हुन्छ भन्ने मान्यतालाई आइन्स्टाइनले नै अघि सारे । सन् १९३९ मा अन्तर्राष्ट्रिय स्थिति गम्भीर हुँदै जान थाल्यो । हिटलरको आक्रामक नीति र घोषणाबाट पश्चिमा देशमा आतंकको शुरुवात भयो ।

अमेरिकी वैज्ञानिक अणुशक्ति प्रयोग र विकास बारे गोप्य सम्झौतामा मग्न थिए । कोलम्बिया विश्वविद्यालयका वैज्ञानिक जर्ज पेग्राम अणुमा निहित अपार शक्तिको प्रयोग एनरिको फेमीबाट यति प्रभावित भए कि उनले अमेरिकी नौ सेनाका अधिकृत र वैज्ञानिकहरुबीच विशाल सम्मेलन आयोजना गरे । अमेरिकी वैज्ञानिकहरु पछि सम्म  पनि अणुशक्तिको पर्याप्त विकास र उसको सैनिक प्रयोगको सम्बन्धमा आशावादी थिएनन् । अमेरिका प्रवासमा रहेका वैज्ञानिकहरुले बराबर यस पक्षमा बल दिँदै आएका थिए । 

अमेरिकाले रुसलाई प्रचुर मात्रामा सैनिक एवं खाद्य सामग्री उपलब्ध गराउँदै आएको थियो । युद्धविराम नभएसम्म यो क्रम जारी रह्यो । युद्धताका रुसी लालसेनाको अधिनमा आणविक जासुसी केन्द्र स्थापना गरिएको थियो । यसको मूल केन्द्र थियो, मस्को । जसलाई जीआरयू भनिन्थ्यो । लण्डनमा जीआरयूका स्थानीय निर्देशक साइमन दाबेदोबीच क्रेमर अमेरिकामा कोसल पावेल मिकेलोब र क्यानाडामा निकोलाई जेबोटिनले काम गरेका थिए । रुसी सरकारले अन्य देशमा भएका आणविक विकासको प्रविधिलाई नक्कल गर्ने उद्देश्यले आणविक जासुसीका रुपमा ती व्यक्ति उपयोग गरेको रहस्य धेरै पछि आएर खुल्यो । रुसी एजेन्टमा अरु दुई ब्रिटिश वैज्ञानिक मोर्टन, डेविड ग्रीन र सन्देशबाहकका रुपमा रोजनवर्गका दम्पति प्रयोग भएका थिए ।

ईंगल्याण्डको तारबेग प्रयोगशाला, अमेरिकाको ओकरिज प्रयोगशाला, अर्गोन प्रयोगशाला, हेनफोर्ड आणविक संयन्त्र र अलामोस अनुसन्धानशाला (जहाँ अणुबमलाई अन्तिम रुप दिइएको थियो) यस्तै क्यानाडाको चाकरिबर आणविक संयन्त्रमा व्याप्त अत्यन्त गोपनीयताको घेरालाई तोडेर रुसी एजेन्टहरु आणविक रहस्यको चुरो फुत्काउन सफल भएका थिए । रुसी गुप्तचरद्वय फुस र ग्रीनग्लास त्यस प्रयोगशालामा पनि कार्यरत थिए । जहाँ रोबर्ट ओपनहाइभरको अध्यक्षतामा अणुबमको निर्माण भइरहेको थियो । उनी उपनिर्देशकको हैसियतमा फेमीलाई सघाइरहेका थिए । 

अणुबमको योजना सार्थक बनाउने उद्देश्यले बनाइएको रेखाचित्र एवं सयौं पृष्ठका आणविक विवरण उल्लेख भएका लिखित दस्तावेज यिनै गिरोहको माध्यमबाट रुसले प्राप्त गरेको थियो । युरेनियम २३५ प्रयोगशालाबाटै केही मात्रा रुसलाई उपलब्ध गराइयो । पहिलोपल्ट निर्मित अणुबमको प्रविधि एवं जापानको हिरोशिमा–नागासाकीमा हानिएका युरेनियम र प्लुटोनियम अणुबमको नालीबेली समेत रुसले हात पारिसकेको थियो । हिरोशिमा र नागासाकीमा बम प्रहार भएपछि अपार धनजनको क्षति भयो । कहालीलाग्दो घटनाबाट विश्वमा हलचल पैदा भयो ।

आफूले बनाएको बमले त्यतिका मानिसको चोला उठेको खबरले आइन्स्टाइन मर्माहत भए । यस्तो बम बनाएकोमा पश्चाताप समेत गरे । जिन्दगीभर उनलाई यो पीडाले लखेटिरह्यो । मेनहटको योजना निर्माण समयमा अमेरिकी गुप्तचर विभाग एफबीआईले आणविक योजनाको मुताविक योजनामा नियुक्ति गर्ने प्रत्याशीहरुका निम्ति औंला निशानीको परम्परा बसाएको थियो । अत्यन्त विश्वसनीय र गोप्य रुपमा गरिएको यो काम समेत रुसी जासुस र घुसपैठका कारण छिन्नभिन्न हुन पुगेको थियो । 
 

आइन्स्टाइन अणयुग