डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न कांग्रेसको माग 

डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्न कांग्रेसको माग 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएको भन्दै नियन्त्रणका लागि संकटकाल घोषणाको माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने– “सरकारले राष्ट्रिय इर्मरजेन्सिको डेंगुलाई लिनुपर्छ । डेंगु संक्रमणबारे गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिन्छ । ’’ “सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ? ”

उपचारमा संलग्न चिकित्सक देखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धित निकाय स्वास्थ्य मन्त्रालय जिम्मेवार बन्न नसकेको उनको आरोप थियो ।

उनले भने “के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाँहदैन ? सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा सदनलाई जानकारी गराओस् ।”

डेंगु उपचार किटमा आफूखुशी शुल्कबारे ध्यानाकर्षण 

सा‌सद अधिकारीले ३ सय ५० रुपैया मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैयाँसम्म लिने गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २ हजार ६ सय रुपैयासम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘१ हजारमा गरेनौ भने कारवाही गछौ’ भनेको उल्लेख गर्दै सांसद अधिकारीले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने माग गरे । 

उनले राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुको बारेमा आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न पनि सभामुखको ध्यानाकर्षण गराए ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । डेंगु संक्रमणले महामारीको रुप लिईसकेको भन्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसंग माग गरिन् ।

शुक्रराज ट्रपिकल अस्पताल टेकूका डाक्टर र कर्मचारी पनि विरामी भएको तथा मेसिनले उपयुक्त काम नगरेका कारण गत सोमबार देखि विरामीले चुस्त रुपमा सेवा पाउन नसकेको भन्दै उनले प्रयोगशालाका मेसिनलाई चुस्त दुरुस्त बनाउँदै सहज उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाण्डौमा २ सहित ६ जनाको मृत्यु भइसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टा फैलिँदै गएको छ । 

संम्बधित खबर