अपराध सुरक्षा

६१ वर्षका काकाले ११ वर्षकी भतिजी बलात्कार गरे 

६१ वर्षका काकाले ११ वर्षकी भतिजी बलात्कार गरे 

वागलुङ । बागलुङमा आफ्नै काकाले ११ वर्षीया बालिका भतिजी बलात्कार गरेका छन् । बालिकालाई बलात्कारपछि काका फरार छन् । भतिजी बलात्कार गर्ने जिल्लाको काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलवार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि घटना सार्वजनिक भएको हो । भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए ।

घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बालिका बलात्कारको घटना सार्वजनिक भएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकामसमेत आउन नसकेपछि प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पु-याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भने, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिए ।