विचार

धरातलको राजनीति 

धरातलको राजनीति 

केही मान्छे सोद्धछन्– यी विष्ट, जो तपाईंकहाँ बराबर आइराख्दछन् उनको आउनुको के रहस्य छ ? म एउटा कुराको उदाहरण दिन्छु  अनि त्यसलाई हेर्छु । मैले दशैंको उपलक्ष्यमा विशुद्ध सामाजिक मेलजोलको दृष्टिले पार्टी दिंदाखेरि, त्यस पार्टीलाई चारजनाले बायकाट गरेका छन् । टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, डा. केशरजंग रायमाझी र डिल्लीरमण रेग्मी । दुई वर्ष मैले आफैंले टेलिफोन गरें । उनीहरु आएनन् । 

एकापट्टि त्यो व्यवहार छ । अर्कोपट्टि, यिनी कीर्तिनिधि विष्ट छन, बेहान डुल्ने बानी छन उनको, यतातिर डुल्दै आएका छन् भने म कहाँ आइपुग्दछन् । उनको राजनीति र मेरो राजनीतिमा मेल छैन । उनी पञ्चायतवादी हुन् र यस पञ्चायतमा अहिले प्रधानमन्त्रीको खिलाफका प्रमुख मानिस हुन् । उनी मसंग गुनासो के गर्दछन् भने प्रधानमन्त्रीले यति बद्मासी गरिसक्यो, तपाईं भने चुप लागेर बसिरहनु भएको छ । उनको राजनीतिमा शत्रु पक्ष भन्नुपर्यो भने अहिलेको प्रधानमन्त्री छ । मेरो राजनीतिमा पनि विरोधी पक्ष छ, त्यो यो व्यवस्था हो । उनी व्यवस्थावादी हुन् । म उनलाई भन्दछु– अहिलेको प्रधानमन्त्री त यस व्यवस्थाको उपज हो । त्यसो हुनाले त्यस उपजसंग मेरो झगडा छैन् । म यो व्यवस्था नै खतम होस भन्ने चाहन्छु ।

त्यसमा मलाई साथ दिन तैयार छैनन् । तर, मैले उनलाई कुनै कुरामा बोलाएँ भने उनी आउँछन् । दशैंमा बोलाउँदा उनी आउँछन् । सामाजिक सम्बन्धमा मसंग राम्रो व्यवहार गर्दछन् । म सबैसंग सामाजिक सम्बन्ध बढाउन चाहन्छु । तर मलाई नै कसैले बायकाट गर्छ भने म के गरुँ ? कसैले मलाई दम्भि भने र मैले बोलाएको निमन्त्रण स्वीकार गरेनन् भने म के गरुँ ? टंकप्रसादजीले भने– पहिले उनी मकहाँ आउनुपर्छ, अनि म जान्छु उनीकहाँ । त्यो सुन्ने बित्तिकै टैक्सी लिएर गएँ उनीकहाँ । र, टंकप्रसादजीसंग मेरो राम्रो सम्बन्ध छ । म जहिले पनि उनीकहाँ जान्छु , उनकी दुलहीले मलाई टिका लगाइदिन्छिन् । मलाई फलहरु दिन्छिन् , मलाई राम्रो गर्दछिन् । 

मैले के भन्न खोजेको भने एउटा राजनैतिक सम्बन्ध हुन्छ, अर्को सामाजिक । विष्टसंग मेरो राम्रो सामाजिक सम्बन्ध छ र, उनको परिवारसंग पनि छ । कुनै समारोहमा उनकी दुलही देखिन भने पनि आएर मसंग कुरा गर्छिन् । त्यसमा कुनै राजनीतिक अर्थ छैन । राजनीतिमा उनी पञ्चायतवादी हुन् म कट्टर पञ्चायत विरोधी । 

हाम्रो एउटा  सामाजिक नीति छ– हामी प्रजातन्त्रका पक्षधर छौं र यस लाइनलाई मान्न जो तयार छन, तिनलाई लिन तयार  छौं । हामीहरुका दुईवटा समस्या छन् । विश्वबन्धुकै उदाहरण लिऊँ । अब विश्वबन्धुले हाम्रो पार्टीमा आफ्नो स्थान पाउनको निम्ति मेरो आशीर्वादले मात्र पुग्दैन् । हाम्रा जो कार्यकर्ताहरु छन् , तिनको पनि सहानुभूति उनले पाउनुपर्छ । हामीहरुले जुन बेलामा व्यवस्थाको विरोध गर्यौं, विरोध गर्दा बन्दुक पनि उठायौं, त्यसबेला विश्वबन्धु व्यवस्थाको पक्षमा लागे । गृहमन्त्री भएका छन् । एउटा नराम्रो पृष्ठभूमि छ । त्यस्तो नराम्रो पृष्ठभूमि भएता पनि एउटा गल्ति काम गरेको रहेछु भनेर उनी आउन चाहन्छन् भने हामी उनलाई लिन सक्छौं । यो मैले सिद्धान्तको कुरा भनेको । व्यवहारमा के हुन्छ भने विश्वबन्धु हाम्रो पार्टीमा कति स्वीकार्य हुन सक्छन् भन्ने कुरा किसुनजी वा मैले निर्णय गर्ने होइन । त्यो त हाम्रा कार्यकर्ताहरुले स्वीकार गर्न सक्नुपर्छ । उनीहरुको बीचमा उनले कुन स्थान पाउने हो त्यो त पार्टी कार्यकता र विश्वबन्धुका बीचमा हुने कुरा हो । 

मैले नयाँ समीकरण भनेको के भने पञ्चायत पक्षमा पनि त्यस्ता तत्व छन, जसलाई म राजावादी राष्ट्रवादी भन्छु । यद्यपि त्यसको सञ्चालन प्रक्रिया त्यस्ता तत्वको हातमा छैन् । त्यो अरुहरुको हातमा गइसकेको छ । त्यसो हुनाले नयाँ समीकरण भयो भने , जसको सम्भावना छ, त्यस्ता तत्वहरु जो हामीसंग रिसाएका छन् भनेर, राजाको हित पनि उनले बुझेका छन् भने शायद हामीहरुसंग आउन सक्छन् , तर हामीसंग आउने एउटै उद्देश्य हुन सक्दछ राष्ट्रवादी भएर । प्रजातन्त्रवादी भएर पनि होइन । जुनदिन विष्ट प्रजातन्त्रवादी होलान् , हाम्रो पक्षमा आउन सक्लान् , तर अहिले उनी पञ्चायतवादी छन् । 
यो प्रक्रिया पनि पञ्चायत भित्र छ– हामीहरु अहिलेसम्म त गलत बाटोमा हिँडिरहेका रहेछौं । त्यसमा उनी पर्दछन् पर्दैनन भन्न म अहिले सक्दिन् । जति पञ्चायतमा लागेका मानिसहरु हाम्रो साथमा छन् सक्रिय भएर उनीहरु बहुदलमा पनि लागे । त्यो पनि एकप्रकारको नयाँ समीकरण भयो नि । त्यो माथिल्लोस्तरभन्दा पनि बेसी जिल्लास्तरमा सम्भव छ जस्तो मलाई लाग्छ । 

एडितको सम्पूर्ण स्ट्रेटेजी चाइनाले बनाएको थियो– समीक्षाले भन्दछ । राष्ट्रिय मेलमिलापको नीति भनेको अमेरिकाको षड्यन्त्र हो । मैले विदूषककोे एउटा टोपी बनाएँ रे । कसैको टाउकोमा त्यो फिट हुन्छ भने मैले के गर्ने ? मैले जान्नु परेको छ– रुसी पक्षका अखबारहरुको नाउँ म बताइदिन सक्छु, नेताहरुको नाउँ गनाइदिन सक्छु । राजनैतिक नेता,  जो मेरो आमने सामने  आएका हुन को छ चाइनिज एजेन्ट मलाई देखाइदिनुस् न । मैले पहिले पनि भनेको छु । ती होलान् । आफ्नो काम पनि गर्दा होलान् , तर जुन क्षेत्रमा म कार्यरत छु , त्यहाँ मेरो तिनीहरुसंग मुकाविला हुँदैन् । त्यस क्षेत्रमा म न कुनै अमेरिकन एजेन्ट न कुनै चाइनिज एजेन्ट भेट्दछु । बरु इण्डियन एजेण्टहरुलाई भेट्दछु । रसियन एजेण्टहरुलाई भेट्दछु । तिनीहरु शायद दरबारमा होलान् , अन्त कतै होलान् तर मसंग भेट हुन्न । 

जस्तो विद्याथीहरुको क्षेत्रमा पनि छ । मैले आफ्ना विद्यार्थीहरुलाई सोधें– ‘यी अनेरास्ववियू के हुन् ?’ उनीहरुले भने– ‘पाँचौं, छैटौं हुन् ।’ अब सातौं पनि हुन थाले ।  मैले सोधें– ‘ती कसबाट सञ्चालित छन् ?’ ‘यो छ्यासमिस छ ।’ उनीहरुले भने । ‘त्यसमा चिनिया पनि छन् ?’ ‘छन् ।’ ‘त्यसमा राजा विरोधी पनि छन् ?’ ‘छन्’ ‘अहिले चिनियाहरुको गतिविधि राजा विरोधी छ ?’ ‘छैन ।’ मलाई ति विद्यार्थीले भनेका छन्  । चिनियाँको लाइन राजा समर्थक र उनका एजेण्टहरुको कार्य राजा विरोधी छ रे । यो त मिलेन नि । मैले धेरै नक्सलाइटलाई इण्डियाको स्ट्रेटेजीमा काम गरेको देखेको छु । 

उदाहरण दिऊँ । मोहनविक्रमको हेडअफिस बनारसमा थियो, हाम्रो पनि बनारसमा थियो र पुष्पलालको पनि । म र गिरिजा बाहेक हाम्रा पार्टीका कुनै पनि मान्छे थिएनन, जसलाई पुलिस र जेलको यातना सहनु नपरेको होस् । एउटा पनि मानिस थिएनन, जसले दुख नपाएका हुन् । तर यी बाँकी दुईवटा ग्रुपका मानिसलाई कहीँ पनि पुलिसले दुख दिएको थिएन । नामबाट यिनीहरु प्रो चाइनिज थिए । हिन्दुस्तानलाई यिनीहरु विस्तारवादी भन्थे । यिनीहरुलाई छुट थियो । हामीहरुलाई छुट थिएन, जबकि हामीहरु हिन्दुस्तानको त्यत्रो विरोधी थिएनौं, केवल राजाका विरोधी थियौं । हाम्रा प्रत्येक मानिसहरु जेलमा परे, र अझसम्म हाम्रा मानिसहरुमाथि  मुद्दाहरु पनि चलिरहेका छन् । यहाँ माफी भइसकेको छ तर त्यहाँ मुद्दा चल्दैछ । यहाँ धेरै नक्सलाइटहरु छन र, यिनीहरु हिन्दुस्तानबाट सञ्चालित छन् । यिनीहरुका हेडक्वार्टर हिन्दुस्तानमा छन् । त्यसो हुनाले, जो आफूलाई प्रो. चाइनिज भनेर नक्सलाइट भएका छन, तिनीहरुको मुकुण्डो उतार्नु परेको छ , र हेर्नुपरेको छ,  प्रो. चाइनिज हुन कि प्रो.रसियन हुन् । 

संगठित चाइनिज समूह म देखिरहेको छैन् । आफूलाई माओवादी भन्नेहरु रुसी समूहहरुद्वारा नै सञ्चालित भइरहेको म देख्दैछु । चाइनिजहरु काम गरिरहेका होलान तर कहाँ काम गरिहरहेका छन ? त्यो काम गर्ने क्षेत्रमा उनीहरुलाई पाउँदिन् । मसंग एकदिन सुब्रमण्यम् स्वामीले सोधे– ‘कम्युनिष्टोंका क्या हाल हे ?’ मैले भने– ‘कौन से कम्युनिष्टकी बात आप करते है ? राजावादी, रुसवादी, चिनवादी या इण्डियावादी ?’ ‘इण्डियन ? कौन, जो भारतीय कम्युनिष्ट पार्टीसे सम्बन्धित है ?’ ‘ नही, भारत सरकारद्वारा सञ्चालित कम्युनिष्ट भी है ।’ मैले भनें । चिनका प्रधानमन्त्री आए, गए । के त्यस्तो कुरा गरे ! देखिएन । उनले भने, ‘हामीलाई नेपालको राष्ट्रिय स्वतन्त्रतामा अभिरुचि छ ।’

त्यो भन्नका लागि यहाँ आउनुपर्ने नै थिएन । मैले त्यसको के अर्थ लगाएँ भने उनीहरुले इण्डियासंग राम्रो सम्बन्ध पार्न लागेता पनि नेपाल जस्ता देशहरुले घडबडाउनु पर्दैन भन्न आए होलान । जे होस उनले जनतालाई विश्वासमा लिने काम गरेनन् । म जेलमा छँदा सुनेको थिएँ । चाइनिज एम्बेसडरले प्रदर्शनी काण्डको कुरालाई लिएर राजाको टेबुल ठटाएर कुरा गरेको थियो । मैले गोरखपुरमा चिनको खतरा देखाएको सन्दर्भ अर्कै छ । त्यसबेला माओत्सेतुङ थिए ‘चिनका पाँचवाट औंलाहरुमा एउटा नेपाल हो’ भन्दथे । अब चिन बद्लिसक्यो । माओलाई चिनले फ्याँकिसक्यो । 

हिन्दुस्तानसंग सबभन्दा मिलेर बसेको सुवर्णजीले हो । त्यसबखतको नेपाली कांग्रेस र अहिलेको नेपाली कांग्रेसमा कसको प्रतिष्ठा बढी छ ? मलाई लाग्छ, अहिले हामीले कुनै संघर्ष नगरेता पनि अहिले नेपाली कांग्रेसको प्रतिष्ठा उच्च शिखरमा छ । किनभने हामीले यो धरातल समाएका छौं । 
मलाई एकपटक माओत्सेतुङले के भन्यो भने जुन बेलासम्म हामीहरु रुसबाट निर्देशित थियौं, मलाई लाग्यो, रुसलाई ठीक हुने काम गर्दा रहेछौं । त्यसपछि हामीलाई लाग्यो, यो त गर्न भएन । त्यसपछि हामीले स्वतन्त्र लाईन लियौं । त्यसको पाँच, छ वर्षपछि त हामी सत्तामा आयौं । किनभने ऊ अघि आफ्नो धरातलमा उभिएको थिएन, रुसको धरातलमा काम गर्दोरहेछ । उसले आफ्नो धरातलमा उभिएर राजनीति गर्नासाथ पाँच, छ वर्षमा उ सत्तामा आइहाल्यो । यो कुरो मलाई माओत्सेतुङले भनेको छ । 

मलाई अमेरिकामा के भने भनेदेखि खान नपाएका, अशिक्षामा रहेका तिमीहरुलाई प्रजातन्त्र किन चाहियो ? त्यसो भए प्रजातन्त्र त त्यस्तो विलासी रहेछ जो खान, लाउन र पढ्न सक्नेलाई मात्र प्राप्त हुँदोरहेछ , हामीजस्ता मानिसलाई त चाहिँदो रहेनछ । म यसलाई नभई नहुने भन्दछु, विलास मान्दिन । 
आज मसंग विहान एकजनाले भने– तपाईंले हिन्दुस्तानसंग मेल गर्नुपर्यो, तपाईको एकोहोरो कुरा भयो । मैले भने– हिन्दुस्तानसंग सबैभन्दा बढी मिलेको सुवर्णजी होइन ? र, हिन्दुस्तानले पनि अत्यधिक मद्दत गरेको थियो उहाँलाई । त्यसभन्दा बेशी त हामी मिल्यौं भने पनि मद्दत गर्न उ सक्दैन । अहिले हाम्रो स्थिति र सुवर्णजीलाई हिन्दुस्तानले मद्दत गरेको बेलाको स्थितिमा दाँज्ने हो भने के हामी घटियाको स्थितिमा छौं आज ? के यो भावनात्मक कुरा मात्र भयो राजनीतिमा ? अहिले हामीले यो लाईन छोड्ने वित्तिक्कै कसै न कसैको पोल्टामा जान्छौं ।

व्यावहारिक राजनीति भनेको यात राजासंग त्वं शरणम् भनेर जानुपर्यो, आफ्नो कुनै भूमिका नै रहने भएन । या त हिन्दुस्तान जानु पर्यो, उनीहरुको पोल्टा पर्नुपर्यो र उनीहरुकै मानिस भएर बस्नु पर्यो । हाम्रो आफ्नै कुनै भूमिका लिएर यहाँ बसेर राजनीति गर्ने हो भने यो बाहेक अर्को कुनै लाइन छैन । यो जुन भूमिमा हामी काम गर्दैछौं, त्यस भूमिलाई छोड्ने वित्तिक्कै हामीहरु कुनै अरुको निर्भर शक्ति हुन पुग्ने छौं । जबसम्म हामी यस भूमिमा अडेर बसौंला, हाम्रो राजनीतिमा प्रमुख भूमिका रहिरहने छ । 
 

(हाम्रो राजनीति राष्ट्रिय र अन्तर्राष्ट्रिय जालोमा कसरी जकडिएको छ ? यो सन्दर्भ अहिले  पनि उत्तिक्कै पेचिलो छ । वीपीकृत ‘राजा, राष्ट्रियता र राजनीति’बाट लिइएको सामग्री)                                                                                
 

राजा पञ्चायत प्रजातन्त्र