विचार

सुखद सपना, दुखद विपना

सुखद सपना, दुखद विपना

युद्धको समय थियो ।  सम्राट नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरातमा शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो– ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै तपाईंसंग भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने– ‘सोध मलाई भेटन आउनुको उद्देश्य के हो ?’ अंगरक्षकले सविस्तार भन्यो– ‘दक्षिणतिरबाट शत्रु सेनाको फौजले हमला गर्यो  । प्रतिरक्षाका लागि सेनापति तपाईंको आदेश खोज्दैछन् ।’ यति संवेदनशील खबरबाट पनि नेपोलियन किञ्चित विचलित भएनन ।

उनले सेनापतिलाई नबोलाई अंगरक्षकको ध्यानाकर्षण गर्दै भने– ‘कुनाको बाकसमा ३४ नम्बरको एउटा नक्सा छ । त्यो सेनापतिलाई दिएर भन्नु– भोलि विहानै विजयको सुखद समाचार लिएर म कहाँ उपस्थित हुनू ।’ त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने त्यसको प्रतिकार कसरी गर्ने भन्ने सूत्र उल्लेख थियो । नेपोलियनको योजनाअनुसार लडेको सेनाले विजय हात पार्यो । भोलिपल्ट  विजयको खबर लिएर आएका सेनापतिले नेपोलियनसंग जिज्ञासा राखे– ‘यति छिट्टै कसरी योजना बनाउनु भयो ? के कुनै देवताले तपाईंको मद्दत गर्छन ?’ नेपोलियनले जवाफ दिए– ‘हो विचार र दूरदर्शिता नामका दुई देवता हरदम मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।’

३ करोड जनसंख्या, एउटा रात्रीबसले एकरातमा पुरै छिचोल्ने भूगोल भएको देशमा एउटा दल चलाउन सयौं संख्यामा केन्द्रीय कमिटी, अढाई लाख सरकारी फौज, सत्तरी हजार कर्मचारी, हजारौं जनप्रतिनिधि, सिंहदरबारदेखि ब्रम्हनालसम्म लाखौं झण्डे अखडामा लाखौं मानिसको संलग्नता छ । जंगलका जनावर र घरपालुवा पशुपन्छी अपवाद छोडेर बाँकी सवैलाई राजनीतिक दलको दास बनाइएको छ । यदि हावा किनेर बाँच्नुपर्ने भएको भए यो देशमा झण्डा र जीवन एउटा रोज्नुपर्ने हुन्थ्यो । देशका हरेक तह तप्काका मानिसमा व्यस्तता छ । ६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघि पछि लगाएर कुदेका कुदै छन् । संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सवैलाई भ्याई नभ्याई छ ।

मन्त्रालयका सचिवहरु विहानदेखि बेलुकासम्म विभागीय प्रमुखहरुको भेला गरेर गाँठो फुकाउन व्यस्त छन् । विहानदेखि बेलुकासम्म बैठकले नपुुगेर अब त कामसंग नभएर कागजसंग सम्झौता हुन थालेको छ । एउटा मन्त्रालयका मुखिया अर्का मन्त्रालयका मुखियाको फाइल अड्काउने दिन कुरेर बसेका छन् । पर्यटन मन्त्रालय विमानस्थल विस्तार गर्ने भन्छ, वन मन्त्रालय ‘हेरौं मेरो जंगल छुन दिन्न कहाँ बनाउँदो रहिछस ?’ दारा किटेर बसेको हुन्छ । मन्त्रालयका सचिवको कुरै बेग्लै । हिमालमा यत्ति भेटिएला तर तिनलाई मन्त्रालयमा भेट्नु भयो भने त्यसदिन आफ्नो भाग्यलाई सलाम ठोके हुन्छ ।

आफू अनुकूलका काममा मन्त्री सन्काउने बाहेक अरु कर्म तिनीहरुको भाग्यमै लेखिएन । पाँच वर्षको करार जागिर मुलुकभन्दा पनि आफ्नो रोडम्याप बनाउन खर्च हुने गरेको छ । युवराज खतिवडा मन्त्री, नवराज सिलवाल सांसद हुन सक्छन भने त्यो भन्दा बढी लेवी बुझाएकाले खोज्ने हैसियत त्यही अनुसारको हुने नै भो । फौजका प्रमुख जर्नेलहरुको बैठकमा रातदिन शान्तिसुरक्षा पेचिलो बनाउन लागेकै छन् । दलका माथिदेखि गाउँ इकाईसम्मका नेतालाई नयाँ नेपालको सपनाबाट ब्यूँझिने एकछिन फुर्सद छैन । केन्द्रमा यसखाले पानी परेपछि त क्षेत्र, जिल्लाले त सक्कल बम्मोजिम नक्कलअनुसारको छाता ओढ्न परिहाल्यो ।

सञ्चारक्षेत्रमा सूचनाको भल बाढी त कुरै गर्नु परेन, युधिष्ठिरलाई जस्तै इच्छा मरणको उपहार समाचार शिल्पीहरुबाट प्राप्त हुनेछ । कुर्सीमा बसेका त व्यस्त भए नै, भूतपूर्वहरुमा पनि माटोसंगको उभार यसरी आयो कि उनीहरु पनि भूमिका खोज्न तल्लिन छन् । दर्जनौं पूर्व भीभीआईपी, हजारमाथि पूर्वमन्त्री, निजामती, जंगी, न्यायका पूर्व बर्दीधारीसमेत जुँगाअनुसारको भाग खोज्न लालायित देखिन्छन् । यायाति ऋषि यति विलासी थिए, आफ्नो छोरा पुरुको जवानी पैंचो लिएर भोगविलासमा आफूलाई  रित्याए । यायातिलाई टक्कर दिने पुस्ता अझ उम्दा भएर उपस्थित छ । मस्त सुतेका नेपोलियनले युद्धको त्यत्रो जहाज हाँक्न सक्छन् भने चौवीसै घण्टा जाँगरिला देखिने लाखौं नेपालीले यति सानो भूगोल र एक गाउँ अटाउने परिवार भएको देश किन व्यवस्थापन गर्न नसकेका हौंला ?

सडकमा हेर्नुस– एम्बुलेन्स जत्तिक्कै शबबाहनलाई हतारो छ । राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलग अलग बाटो खोज्ने प्रतिस्पर्धा छ । कसैलाई झुन्ड्याउन ठिक पार्नुस, छिचोली नसक्नु मानिसको भीड लाग्छ । फूलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्वीन्टलको माला धारण नगर्ने कुन ठूलो मान्छे होला ? कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अविर लगाएरै सकिन्छ । नेपालमा पहिला पहिला मानिसहरु पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे । बाउबाट छोराले सुनसरह फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो । अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ ।

मान्छे जब मान्छे चराउन पल्किन्छ, उभित्र अरु भाव हराउँछ । एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन । यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसंग हैन आफ्नै बंशसंग डराउँछ । अरवी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ । भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे । 
शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरेपनि कलियुगमा भने पेशा जुनसुकै होस न, ठगी किस्मतको सूचिमा बढुवा भएको छ ।  सम्भवतः यही प्रवृत्ति सलहझैं बढेका कारण  कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्को समेत बाहिरबाट भित्र्याउनुपर्ने अवस्था आइपरेको हुनुपर्छ ।

जनै, नेपाली मात्ने छ्याङ समेत रेडिमेड पोकामा आउन थालेका छन् ।  महात्मा गान्धी, नेल्शन मण्डेला, देड सियाओ पिङ, मुहम्मद महाथिर, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हुँदा  हामी समयको कुन साईत कुर्दैछौं ? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे ! समयले देश बनाउने होइन । मानिसले सुकर्मको रंग छर्यो भने समय आफैं  इन्द्रेणी बनेर उपस्थित हुने हो । हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आफूमाथिको अन्तरघात हो । ईश्वरको संरचनामा कतै खोट छैन ।  मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन् । गीता, बाईबल, चर्च अनुवाद गर्नुस, अक्षरका पाँच गेडा पाउनु हुनेछ । 

देश बनाउने शिल्पी कस्तो हुनुपर्छ ? पतिको शारीरिक कुरुपताप्रति तीब्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् । विलासी जीवनको चाहना राख्थिन । यस विपरित अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन । संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिस मात्र होइन ख्यातीप्राप्त महामानवहरुको सोचाइ पनि यस्तै हुन्छ । तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतिको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो ।

भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई एकसय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् । लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्यो  । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसंग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरु अहिले पनि नाक खुम्च्याउँछन ।

आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन् । अरु त अरु हरे किर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे । एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्का्तिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरुको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरुको उपस्थिति सघन बन्दै गएको छ ।

सेनापति  सम्राट नेपोलियन