समाचार अर्थ

ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन

ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन

अमलेखगञ्ज : बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको मंगलबार उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको हैदरावाद हाउसबाट र नेपालका प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट रिमोटको बटन एकै समयमा थिचेर पाइपलाइन उद्घाट्न गरेका हुन्।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्ब खुलेको छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ। यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ। उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएको छ।

पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ। गत साउन २ गते पहिलो पटक मोतिहारीबाट पाइपलाइन हुँदै अमलेखगन्ज डिपोमा डिजल आइपुगेको थियो। मोतिहारीबाट हालिएको हजार किलोलिटर डिजल १८ घन्टापछि अमलेखगन्ज डिपोमा आइपुगेको थियो।