राजनीति

मुलुक समृद्ध बनाउन नेताहरुको जोड

मुलुक समृद्ध बनाउन नेताहरुको जोड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्ध बनाउन गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिल्नुपर्ने बताउनुभएको छ ।


शमी साहित्य प्रतिष्ठानले आज काठमाडौँमा गरेको कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रममा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले आफूलाई मान्छेहरुले हिंस्रक देख्ने गरेपनि अहिलेसम्म एकजनालाई थप्पड नहानेको र कसैको एक थप्पड पनि नखाएको बताउनुभयो । विकृति र विसंगतिका कारण आफू झन्डै–झन्डै पागल भएर विद्रोहमा गएको तर अहिले सही ढंगबाट काम हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समाज रुपान्तरण गर्ने शक्तिशाली औजारका रुपमा साहित्य रहेको भन्दै कम्युनिष्ट आन्दोलनले वर्तमान समयको समस्यालाई बोधगरी सुन्दर भविष्यको परिकल्पना गर्न लाग्नुपर्ने बताउनुभयो । 


कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले छलछाममात्र गर्ने गरेको भन्दै अब छलछाम होइन, साँच्चिकै देश निर्माणमा लाग्न सुझाव दिनुभयो।