खेल

सम्झनुस त गुच्चा खेल्दाका साथी

सम्झनुस त गुच्चा खेल्दाका साथी

जिम्मेवारीविहीन बाल्यावस्थामा एकपटक गुच्चा नेखेल्ने मानिस विरलै होलान । नेपाली समाजको हरेक पुस्ता अहिले पनि आफूलाई गुच्चा खेलाडी हुँदाको उमेरमा गर्व गर्छ । त्यसैले त उ कसैसंग अगाध स्नेह रहेको प्रमाणित गर्न भन्छ– ‘त्यो त मेरो गुच्चा खेल्दाको साथी हो ।’ यसले उनीहरु बाल्य अवस्थादेखि नै घनिष्ट रहेको पुष्टि गर्छ । त्यसो त गुच्चा खेलको इतिहास प्राचीन छ । गुच्चा अहिले जुन सरल र सहज रुपमा खेलिन्छ, त्यो प्राचीनकालीन ढुंगाको विकसित रुप हो ।

पहिला गुच्चाको आविष्कार नहुँदा मानिस गोलढुंगा छानेर वा ढुंगा घोटेर गोलो आकारको बनाएर खेल्दथे । कालान्तरमा यो खेल परिवर्तन हुँदै आयो । खेल्ने तौरतरिका र नीति नियममा पनि नौला नौला तरिका भित्रिए । 

उन्नाइसौं शताब्दीसम्म पनि मानिसहरु यस खेललाई जीवन्त बनाउन ढुंगादेखि विभिन्न फलफूलका गेडासम्म खेलेर मनोरञ्जन लिन थाले । बीसौं शताब्दीको प्रारम्भमा चाहिँ यो खेललाई व्यवस्थित बनाउने प्रयाश भएको देखिन्छ । यही नयाँ शैली नै वर्तमानको गुच्चा खेल हो । अहिले पनि यो खेल त्यही ढर्रामा स्थापित छ । माथि भनिएका सन्दर्भ पत्यारयोग्य बनाउन स्मरण गर्नुपर्ने के छ भने जुन ठाउँमा गुच्चा पुगेको हुन्न्थ्यो, त्यसको विकल्पमा पांग्रा गुडाइन्थ्यो । 

नेपालमा गुच्चा खेलको प्रवेश भारतबाट भएको हो । अहिले पनि नेपाल भित्रिने गुच्चा आउने भारतबाटै हो । यद्यपि सामाजिक सञ्जालको लोकप्रियतासंगै गुच्चा खेल एकादेशको कथा बनेको छ । गुच्चा संसारका थुप्रै देशमा खेल्ने गरिएको प्रमाण पाइन्छ । तर देशअनुसार त्यसको नाम भने फरक छ । भारतमा यसलाई अण्ठी भनिन्छ । 

यो खेल अत्यन्त सरल हुने हुँदा बालबालिकाका निम्ति यो एकसमय अत्यन्त लोकप्रिय थियो । के गाउँ, के शहर गुच्चाको लोकप्रियता सबैतिर रहेको पाइन्छ । बर्खा सकिएर हिउँद लाग्नासाथ यसको व्यापकता झन् बढेको पाइन्थ्यो । नेपालका कतिपय क्षेत्रमा गुच्चा खेल सगुने खेलका रुपमा पनि लिइन्थ्यो । जब केटाकेटीको आकर्षण गुच्चामा बढ्छ, त्यसपछि दशैं, तिहार भित्रिने भएकाले सगुने खेल भनिएको हो । 

यो खेल खेल्न आआफ्नो ठाउँमा आआफ्नै चलन र नीति नियम छन् । गुच्चा खेल्ने विभिन्न तरिकामध्ये वित्ता नापेर, पील गरेर, भलेर, सोरठ र ट्वाक्क ठोक्ने आदि लगायत तरिकाले खेलिन्छ । जुनसुकै खेल खेल्दा विजय, पराजय हुन्छ नै । तर गुच्चाको हारजीत यतिमा सीमित छैन् । यहाँ हार्दा हार्नेले जित्नेलाई गुच्चा नै तिर्नुपर्छ । अरु खेल खेल्दा परिवारका सदस्यको बधाई पाइन्छ भने गुच्चाको हारजीतले अभिभावकको अपमान झेल्नुपर्ने हुन्छ । समग्रमा गुच्चा बालबालिकाका निम्ति मिनी जुवा नै हो । 

कसैले परिचय गराउँदा आफूलाई गुच्चा खेल्दाको साथी भने पनि यसको सामाजिक असर ठीक उल्टो छ । समाजमा गुच्चा खेल्नुलायृ त्यति नराम्रो भावनाले नहेरी बच्चा भुलाउने खेल भने पनि त्यसको नकारात्मक प्रभाव त्यस बच्चामा पर्न सक्छ । त्यसैले गुच्चा खेल्नु बुझ्नेहरुका लागि मनोरञ्जन र समय कटाउने माध्यम भएपनि राम्रो चाहिँ पक्कै होइन । यो खेलले मानिसको मनस्थितिमा सकारात्मक अनि प्रेरणादायक प्रभाव छाड्नुको साटो उल्टै जुवा खेल्नतर्फ प्रेरित गरेको भान हुन्छ । 

सानोमा खेलिएको क्षणिक आनन्दको खेलले मानिसलाई जीवनभरि बाल्यकालको सम्झना गराउने र पिरोल्ने भएपनि यसले वास्तविक जीवनमा नकारात्मक प्रभाव पार्दछ । बाल्यकालको कुनै राम्रो कामको स्मृति गर्दा गुच्चा खेलको सम्झना हुन्छ । यसरी त्यो अज्ञात बेलामा यस खेलको प्रभाव मानसिक रुपमा परिसकेको हुन्छ । 

विना अवरोध मार्गदर्शन नै यो खेल भएपछि भविष्यमा यसैले जरो गाड्नु स्वाभाविकै हुन्छ । यही कुलतको विजारोपणले गर्दा कयौं मानिस आफ्नो सम्पूर्ण परिवार र जायजेथा गुमाउन पुगेका छन् । यसकारण गुच्चालाई ख्याल ठट्टा र मनोरञ्जनको खेल नसम्झिएर भविष्यमा पार्ने प्रभावको आंकलन गर्नु बुद्धिमानी ठहर्छ । यो यस्तो खेल हो, जसको सम्बन्ध कुनै प्रतियोगितासंग हुँदैन् । न त  स्कुल, क्याम्पसमा पुगेर यो खेलले निरन्तरता नै पाउँछ । 

जुन खेल दीर्घकालीन रुपमा योग्यता, क्षमता र दक्षतासंग जोडिन्छ, त्यसलाई आत्मसात् गर्नु जरुरी छ । बालबालिका जुनसुकै क्षेत्रमा लागे पनि उनीहरुमा आफूभित्र गुणात्मक क्षमताको विकास जरुरी छ । गुच्चा खेल्दाको साथीसंगै उसको परिचय स्टारमा अनुवाद गर्नु समयको आवश्यकता हो । आशा गरौं सूचना प्रविधिले कायापलट गरेको विश्वमा जन्मिएको नयाँपुस्ता गुच्चा संस्कृतिभन्दा माथि उठ्ने छ । 
     

भारत गुच्चा