विचार

भोक र लोभको युद्ध

भोक र लोभको युद्ध

कहिलेकाहीँ बडो फसादमा परिन्छ । सोध्नेले प्वाक्क सोधिदिन्छन् । उत्तरको खोजी गरिरहने समय पनि दिँदैनन । के भनौं भनौं हुन्छ । त्यहीँमाथि उदाहरण पनि दिनुस न सर प्लीज थपिदिन्छन । डम्फर जेलिएको वयरबोटमा एक दानो वयर टिप्न चढेजस्तो बनाइदिन्छन । आँखा, नाक, हातखुट्टा, जीउ केही पनि जोगिदैन । रगताम्मे बनाइदिन्छन । हुँदाहुँदा लुगाफाटो पनि च्यातिन्छ र इज्जतै स्वाहा हुन्छ ।

एउटा भाइले प्वाक्क सोध्यो– ‘सुुशासन भनेको के हो सर ?’ यो सुनेको, पढेको मात्र तर नदेखेको, नभोगेको कुराको वेलिविस्तार लाउन निकै असहज हुन्छ । सुशासनको ठाउँमा कुशासन सोधिदिएको भए ५ घण्टाको लेक्चर मुखैमा थियो । ल सुशासनको बारेमा त कनिकुथि भनौंला फेरि उदाहरण सोधिदियो भने के गर्ने ? मैले सुनेको नसुने झैं गरेर मुख बटारेँ । उसले अझ ठूलो स्वरमा उही प्रश्न दोहोर्यायो । पन्छिन खोज्दै भनिदिएँ– ‘राणाकाल मैले भोगिन भाइ, तर त्यसपछिका सवै शासन भोगेँ । तिमी यो भोग्दै नभोगेको शासनको बारेमा नसोध न यार ।’ ऊ मान्नेवाला थिएन आफ्नो जिद्दी लिएर उभियो ।

उत्तर दिने ठेक्का त मैले लिएको थिइनँ । तर उसको अपेक्षालाई उसै उपेक्षा गर्ने चाहना पनि भएन । उत्तम किसिमको शासन अथवा कल्याणकारी शासन व्यवस्थालाई सुशासन भन्छन राजा । उत्तर सकिनासाथ मैले उसको अनुहारमा हेरेँ । उत्तर पाउनु अगाडि उसको मुहार उज्यालो थियो । मेरो उत्तरले उसको अनुहारको रंग उडाइदियो । मानौं यो उत्तरबाट मैले ऊ माथि अन्याय गरेँ । हरेक क्षेत्रमा सुशासनको कुरा गरिन्छ । सुशासनको प्रत्याभूति दिलाइनेछ भनेर सवैले भाषण गर्छन । सुशासन हाम्रो जिम्मेवारी हो भन्छन । अस्ति हाम्रो अफिसको कार्यक्रममा हाकिम सावले भाषण गर्दा पनि सुशासन कायम राखिनेछ भन्नुहुन्थ्यो । तपाइँले भन्नुभए जस्तो यो कल्याणकारी शासन व्यवस्था कायम रहिरह्यो भने त हाम्रो बिल्लीबाठ हुन्छ सर । जसरी हुन्छ यो सुशासनलाई फाल्नु पर्यो सर लौन के गर्ने होला ?

तिमीले कुरा बुझेनौ भाइ । सुशासनले त सवैको कल्याण पो गर्छ त ! अनि किन फाल्नु पर्यो  सुशासन ? अँ मलाई थाहा छ । यो सुशासनमा त ठूलाबडाका आसेपासेलाई मात्र फाइदा हुँदो रहेछ । हाकिमले सुशासन कायम राख्ने कुरा गरेदेखि सवै आफ्ना मान्छे भर्ना गरेको गरेकै छन । उनीहरुले केही काम पनि गर्दैनन । कसैले भनेको पनि मान्दैनन । आफूभन्दा माथिल्लो अधिकारीलाई पनि टेर्दैनन । केही भन्यो भने उल्टो कुरा लाएर जागिर खाइदिने धम्की दिन्छन । अनि यो सुशासनमा रहेर गोरुको काँध र हाम्रो हालत एउटै हुने भयो सर । लौन हजुरले भनेजस्तो सुशासन भएको ठाउँमा हामीलाई जागिर मिलाइ दिनुहोस । हजुर त ठूलो मान्छे चिनजान पनि छ । मलिन अनुहारमा उसले दुखेसो पोख्यो ।

उसलाई कसरी संझाउँ । मैले भनेजस्तो सुशासन भएको ठाउँमा जागिर खाने हो भने जिन्दगीभर वेरोजगार वस्नु पर्छ । वुझ पचाएर, लाजशरमको तिलाञ्जली दिँदै नाता, कृपा, जाति आदि खै के के वादको गुन्यू उचालेर टाउको छोप्दै जेठाजु सम्मान गर्ने आजको यो समयमा त्यस्तो सुशासन भएको ठाउँ कहाँ पाइएला ? धेरै अगाडि सुशासनको दाहसंस्कार भैसकेको मुलुकमा मैले उसलाई असल शासन भएको अफिसमा जागिर खोजिदिनु छ । उसले मेरो मुख ताक्नेछ । म आफैं निराश छु भनेर उसलाई भन्न पनि सक्दिनँ । आफूले जागिर खोजिदिन नसकेपनि ‘लौ त्यहाँ जाऊ, तिमीले खोजेजस्तै ठाउँ हो’ त्यो भनेर कतै देखाउन पनि सक्दिन । उसलाई भन्दा ठूलो पीर मलाई पर्यो यो सुशासनले ।

वास्तवमा मानिसको क्षयीकरण र पतनबाट सुशासनले बाटो विराउँछ । समाजले आश गरेर अग्ल्याएका राजनेता जब लोभका कारण बामपुड्के हुँदै जान्छन, स्वभावत त्यसको दुष्प्रभाव समाजमा पर्दै जान्छ । पतनको अर्थ हुन्छ झर्नु । यहाँ पदार्थको पतन नभई व्यक्ति अथवा व्यक्तित्वको पतनको सन्दर्भ उठाइएको हो ।  तसर्थ यसलाई गिर्नुको अर्थमा लिए अझ छर्लङ्ग हुनसक्छ । जहाँजहाँबाट गिरेपनि उठ्ने उपायहरु अनेक छन तर नजरबाट गिरेपछि सधैंको लागि गिरिन्छ । झर्दाझर्दा आँखै नभएको पनि एकदिन आफ्नै नजरबाट झर्छ । तपाइँ सोच्नुहोला आँखै नहुने कसरी आँखाबाट झर्छ ? कतिपय मान्छे दुईवटा टिलटिले आँखा बोकेर पनि केही देख्दैनन । अथवा, अनदेखा गर्छन ।

यिनीहरुको आँखा छ भन्ने कि छैन भन्ने ? हेर्नुस आँखाले त भौतिक कुराहरुको आवरण मात्र देख्छ । भाव देख्दैन । गुण, दोष देख्दैन । यो देख्ने त मन हुन्छ । जब आफ्नै मनले आफैंलाई लाई नकार्छ अनि सधैंका लागि गिरिन्छ । हो, आफ्नै आँखाबाट पतन भइन्छ । चाहे तपाईं जुनसुकै प्रकारको अन्धो हुनुहोस् । स्वयं भगवान पर्शुरामलाई हराउन सक्ने भीष्मले युद्धमा भगवान श्रीकृष्णलाई पनि हराउन सक्थे होला भन्ने तर्क तपाईं कत्तिको मान्नुहुन्छ  ?

पाँचै पाण्डवसँग भएको गुण एउटै कर्णमा थियो र उनी पाँचै पाण्डवलाई एकैसाथ हराउन सक्ने योद्धा थिए भन्ने तर्कलाई नि ? द्रोणाचार्यको धनुर्विद्याको उत्कृष्टतामा कुनै शंका लाग्छ ? अनि बज्रको शरीर पाएका दुर्योधनलाई के चोट लाउन सकिन्थ्यो ? धृतराष्ट्रको अँगालोमा पहाड पनि चकनाचुर हुन्थ्यो हैन ? विदुरको विद्धतामा कुनै शंका लाग्छ ? फेरि पनि हस्तिनापुर राज सिंहासनमा किन आँच आयो होला ? यसको एउटै उत्तर हो धर्म । आफ्नो धर्म बिर्सिएपछि सवैथोकको पतन हुन्छ । धरातलले धर्म बिर्सियो गयो पहिरो ।

सोच्नुहोस त तपाईंको धरातल के हो ? तपाईंको धरातल हो तपाईंको सोच । सोचको मतलब मन । मनको मतलब बुद्धि । तपाईंको बुद्धि केबाट निर्देशित छ ? अवश्य चाहनाबाट । चाहनालाई अर्को शब्दमा लोभ भन्न सकिन्छ । पक्कै सकिदो हो । अनि कसैले लोभलाई भोक भन्दियो भने गलत होला र ? संसारमा जे हुन्छ यही भोकले हुन्छ । अनि यो लोभ, भोक कहाँबाट आउँछ त ? लोभ, भोक त देखासिकीबाट आउँछ । तपाईंको देखासिकी गर्ने परिवेश जस्तो छ तपाईं त्यस्तै गर्नुहुन्छ होइन र ?

मान्नुस तपाईं निर्णायक ठाउँमा हुनुहुन्छ तर तपाईंको सल्लाहकार खराब छन भने तपाईंको निर्णय कस्तो होला ? हरेक मानिससँग एउटा लेयर छ । लेयरको मतलब पत्र । पत्रको मतलब तपाईंका वरिपरि भएका मानिसहरु । तपाईंको देखासिकी गर्ने ठाउँ । त्यही ठाउँ खराब भए तपाईंको धर्म डगमगाउँछ अनि हुँदैन पतन ?

राजा, महाराजा, शासक, उच्चपदस्थ अधिकारी वा साधारण मानिस नै किन नहोस गलत भोक जागेपछि सिद्धिन्छन । अक्सर यिनीहरु स्वयं सिद्धिदैनन सिध्याउने काम त्यही पत्रले गर्छ, जसमाथि यिनीहरुको भरोसा हुन्छ । तपाईंको बडिगार्ड नमरेसम्म तपाईं मर्नुहुन्न । तर, बडिगार्डले नै मारिदियो भने तपाईं बच्नुहुन्न । त्यसैले पत्र छान्ने काम  स्वयंले गर्नुपर्नेछ । र, भोकको प्रकृति धर्मसम्मत बनाउनु पर्नेछ । आखिर भोक र लोभकै बीचमा सुशासनको भविष्य हुन्छ । 

सुशासन सल्लाहकार