राजनीति

ओली विदेशमा रहँदा प्रचण्ड सक्रिय, विभिन्‍न नेताहरूलाई छुट्टाछुटै भेट

वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र अन्य स्थायी समिति सदस्यका नेतासँग छुट्टाछुट्टै भेट

ओली विदेशमा रहँदा प्रचण्ड सक्रिय, विभिन्‍न नेताहरूलाई छुट्टाछुटै भेट

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्। दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्। दाहालले दिन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्।

‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘छलफलका लागि आवश्यक ठानिएका सचिवालय र स्थायी समितिका सदस्यहरूलाई बोलाएर कुराकानी गरिरहनुभएको छ।’

दाहालले बुधबार वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झन्डै तीन घन्टा खुमलटारमा छलफल गरे। दुई नेताबीच कार्यविभाजन, एकता प्रक्रिया, राजनीतिक परिदृश्य र पार्टी कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्रोतको भनाइ छ। दाहालसँग भेटेका खनालले पनि केन्द्रीय नेताहरूको कार्यविभाजन र बाँकी एकता प्रक्रियामा केन्द्रित रहेर छलफल भएको बताए।

‘एकता प्रक्रिया टुंग्याउन अब ढिला गर्नु हुँदैन। त्यसलाई केकसरी सचिवालय बैठकबाटै टुंग्याउने भन्नेमा छलफल भयो,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘एकता प्रक्रिया टुंगो लगाएर देशव्यापी राष्ट्रिय अभियान चलाउनुपर्छ भन्नेमा उहाँ देखिनुहुन्छ। मेरो पनि त्यही चिन्ता छ।’

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै २८ साउनमा नेकपा सचिवालय बैठक बस्दैछ। साउन १३ मा उक्त बैठक बस्ने मिति तय गरेर दाहाल र ओली विदेश दौडाहामा लागेका थिए। नेकपामा केन्द्रीय नेताहरूको विभागीय जिम्मेवारीलगायतका एकतासँग सम्बन्धित कार्य टुंग्याउन बाँकी छ। यो खबर आजको अन्‍नपूर्ण पोस्टबाट लिइएको हो।

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’