अर्थ

सुनको मूल्य कीर्तिमान कार्यम गर्दै उचाइमा पुगेपछि बिक्री घट्यो

सुनको मूल्य कीर्तिमान कार्यम गर्दै उचाइमा पुगेपछि बिक्री घट्यो

काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् ।

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताए । उनले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गरे।

उनले भने, ‘आइतबारमात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ ।’ उनले भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण नेपाली सुन बजार प्रभावित भएको उल्लेख गरे ।

व्यवसायी शाक्यले सुनको कारोबार कहिलेसम्म बढ्ने भन्ने अनुमान गर्न नसकिने बताउँदै भने, ‘सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन ?’

एकातिर अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउँदाको असर पनि सुनमा परेको छ । अमेरिकी केन्द्रिय बैंकले ०.३ प्रतिहत ब्याजदर घटाएको छ भने अर्कोतिर सुनको भाउ आकाशिदा व्यवसायी तथा उपभोक्ता मारमा परेका छन् । काठमाडौं उपत्यकाका अधिकांश सुनचाँदी पसलहरू अहिले ठप्प जस्तै देखिन्छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।