विदेश

हेनरी फोर्ड : नाम, काम र दाममा वर्चश्व

हेनरी फोर्ड : नाम, काम र दाममा वर्चश्व

मानिसभित्र साहस, अठोट, लगन र धैर्य  छ भने ऊ एउटा उचाईमा पुगेर पूज्य हुनसक्छ । चाहे त्यो जस्तोसुकै कुल परिवारमा जन्मेको किन नहोस् । यस्तै विशेषताको कारण सानो किसान परिवारमा जन्मेर पनि दुनियाभर आफ्नो रवाफ  फिंजाउन सफल व्यक्तिको नाम हो– हेनरी फोर्ड । उनी अमेरिकाको मिचिगनको ग्रीनल्याण्डमा सन् १८६३ मा जन्मेका थिए । कृषि काममा मद्दत हुने आशाले हेनरीका पिताले प्राथमिक शिक्षा पढेपछि छोरालाई पढ्न छुटाएका थिए । 

हेनरी सानै उमेरदेखि धातुका टुक्रा र औजारसंग खेल्न रुचि राख्थे । १२ वर्षको उमेरमा उनले उनले पहिलोपल्ट डेट्रायटमा इन्जिन देखे । यसबाट उनमा स्वचालित यन्त्र निर्माण गर्ने इच्छा जाग्यो । ‘रुचिपूर्ण कार्य सरल हुन्छ र त्यसबाट अवश्य सकारात्मक परिणाम मिल्छ ।’ भन्ने मान्यता बोकेका फोर्डले १७ वर्षको उमेरमा ड्राइडोक इन्जिन वर्कसमा शिकारु कालिगढको रुपमा काम गर्न शुरु गरे । बाबुको  असल कृषक बनाउने इच्छा विपरीत हेनरीमा एउटा महान उद्योगपतिको बीजारोपण भइसकेको थियो ।

कालीगढका लागि यन्त्र लेखकका लागि कितावसरह हुन भन्ने उनको मान्यता थियो । तीन वर्षको कडा मेहनतपछि उनी एक कुशल कालिगढ बने । आफैं अघि बढ्ने सवारी साधन बनाउने उनको इच्छा तीब्र हुँदै गइरहेको थियो । यसका लागि उनले पहिले वाष्प इन्जिनको क्षेत्रमा काम गर्न शुरु गरे । तर यसको राम्रो भविष्य नदेखेर दुई वर्षपछि उनले यो क्षेत्र त्यागे । 

आफ्नो लक्षित क्षेत्रको बारेमा सकेसम्म धेरै ज्ञान बटुल्न पाएजतिका विज्ञान पत्रपत्रिकाहरु नछुटाई पढ्थे । जसले उनको औपचारिक शिक्षाको कमीलाई केही हदसम्म पूरा गर्यो । यी पत्रिकामा ‘अट्टो’ भनिने आवाजरहित ग्यास ईन्जिनको बारेमा चर्चा हुने गथ्र्यो । त्यतिबेला पेट्रोलले वाष्प इन्जिनलाई प्रतिस्थापन गर्न सक्दैन भन्नेमा सवै विशेषज्ञहरुको आम सहमति थियो । तर फोर्डले यसको उल्टो सोचिरहेका थिए । 

आफ्नो ज्ञानको ठूलो हिस्सा कामबाटै प्राप्त भएको बताउने फोर्डले यसपछि डेट्रायट एडिसन कम्पनीमा कालीगढ एवं ईन्जिनीयरको रुपमा काम पाए । त्यहाँ पनि उनले भाडामा लिएको सानो घर पछाडि कार्यशाला बनाई जागिरबाट फर्किएपछि त्यसैमा तल्लिन रहन थाले । २९ वर्षको उमेरमा उनले स्वचालित इन्जिनलाई अन्तिम रुप दिए । डेट्रायट कम्पनीका बासिन्दा उनले बनाएको बग्गी देखेर छक्क परे । यो बग्गी घोडाले नभएर आफैं स्वचालित थियो । यो सवारी साधनले अनपेक्षित भीड जम्मा गर्न सफलता पायो । भीड यति बाक्लो थियो कि बाटो नै जाम गरिदियो । 

सन् १८९५– ९६ सम्ममा फोर्डले यस सवारीद्वारा झण्डै १६ सय किमीको यात्रा सफलतापूर्वक पार गरे । अन्तमा २ हजार डलरमा यो विक्री भयो । यसै दौरान एडिसन कम्पनीले पदोन्नतिका साथै  तलव बृद्धि गराइदिने र यसको बदलामा फोर्डले पेट्रोल इन्जिनको अनुसन्धान त्यागेर विद्युत शक्तिको अनुसन्धानमा लाग्नुपर्ने प्रस्ताव राख्यो । विद्युत शक्तिलाई त्यतिबेला भविष्यको निर्विकल्प उर्जा मानिन्थ्यो । हेनरीले आफ्नो सपना त्यागेमा उनको भविष्य प्रत्याभूत र सुरक्षित हुने भयो । तर उनी आफ्नो लक्ष्य त्याग्न तयार भएनन् । पेट्रोलले चल्ने सवारीको बृहत् उत्पादन गर्ने सपनालाई विपनामा उतार्न सक्रिय भए । फलस्वरुप सन् १८९९ मा उनले एडिसन कम्पनी त्यागे । 

स्वचालित सवारी साधन केवल धनीहरुको खेलौना हो भन्ने बुझाइलाई झूटो सावित गर्नु थियो । तर डेट्रायटका कुनै पनि उद्यमीले यस्तो जोखिमयुक्त व्यापारमा कौडी पनि लगाउन चाहेनन् । उनी अगाडिको चुनौती चानचुने थिएन । धेरै प्रयत्न गरेपछि फोर्ड केही उद्यमीहरुलाई आफ्नो योजनामा सरिक गराउन सफल भए । उनले डेट्रायट अटोमोबाइल कम्पनीको स्थापना गरे ।

तीन वर्षसम्म लगातार यसले कार उत्पादन गर्यो । तर वर्षभरिमा ४, ५ वटा बढी कार विक्री भएनन् । फोर्ड सर्वसाधारणको पहुँचमा आफ्नो उत्पादन पुर्याउन चाहन्थे । उनका सहकर्मी भने महँगा कार उत्पादन गरी धेरै नाफा खाएर छिट्टै धनवान बन्न चाहन्थे । स्वार्थको द्वन्द्वले  साझेदारबीच मनमुटाव भयो । सन् १९०२ मा फोर्डले डेट्रायट कम्पनीबाट अलग  गरे । त्यसपछि उनले आफूलाई कहिल्यै पनि अरुको आदेशमा नचलाउने र आफ्नै खुट्टामा उभ्याउने निधो गरे । 

आफ्नो उत्पादनतर्फ ध्यान खिच्न उनले कारदौडको सहायता लिए । किनकी त्यतिबेला कुन कार छिटो कुद्छ भन्ने हेर्न जनता हरदम उत्सुक रहन्थे । दौडमा विजयी हुनेले ठूलो लोकप्रियता पाउँथ्यो । सन् १९०३ मा ९९९ एरो नामक दुई कार बनाएर कार दौडमा भाग लिई उनी विजयी भए । यस विजयले उनलाई तीब्रगामी कार निर्माताको रुपमा चिनायो । लगत्तै उनले फोर्ड कम्पनी स्थापना गरे । 

फोर्डका प्रतिस्पर्धीहरु कारको वजनबारे लापर्वाह थिए । उनीहरु जति वजन बढी भयो, कार उति मूल्यवान हुन्छ भन्ने विश्वास राख्थे । फोर्डले त्यतिबेला सबैभन्दा हलुका कारको प्रारुप तयार पारे । फलस्वरुप यो गाडी अझ छिटो दौड्ने र सस्तो पनि हुन गयो । एक वर्षमै फोर्ड कम्पनी १७ सय बढी गाडी बेच्न सफल भयो । उनका कारले छिट्टै नै भरपर्दो र मजबुत सवारीको रुपमा ख्याती कमाए । पाँच वर्षभित्र फोर्ड कम्पनीमा २ हजार जनाले रोजगारी पाए । उत्पादन बढेर वर्षेनी ६ हजार कट्न थाल्यो । उत्पादित गाडीले अमेरिका मात्र हैन, युरोपमा समेत राम्रो बजार पाए । फोर्डले १२ वर्षमा देखेको सपना पूरा गरेरै छाडे । धन र ख्याति दुवैमा अब्बल प्रमाणित भए । 

फोर्डको लगनशिलता यसरी चुलिँदै गयो कि उनको कम्पनीले उत्पादन बढाएर दैनिक सयवटा पुर्यायो । कसै कसैले यति धेरै कार उत्पादन गर्दा खपत नभई फोर्ड कम्पनी टाट पल्टिने भविष्यवाणी गरे । तर फोर्डमा पछाडि फर्किएर हेर्ने चरित्र थिएन । बरु प्रतिदिन हजार कार उत्पादन गर्ने लक्ष्य राखेर दौडिए । उनी आफ्नो कार अझ हलुका पार्ने प्रयासमा लागे । हलुका र बलियो दुवै गुण भएको भ्यान्डियम स्टील प्रयोग गरेर उनले अर्को एउटा सफलता हात पारे । 
सामान्य नागरिकका लागि टी मोडेलको कार उत्पादन गर्ने योजना बनाए ।

पर्याप्त पेट्रोल र सडकको अभावले गर्दा उनको यो योजना विफल हुने चेतावनी दिँदादिँदै पनि उनले के सम्भव र के असम्भव भन्ने मानिसले ठोकुवा गर्न नसक्ने भन्दै आफ्नो योजनामा दिनरात लागिरहे । डेमोक्रेटिक भनिने यस मोडेलले सवारी उद्योगमा तहल्का मच्चाइदियो । पहिलोपटक फोर्डले प्रयोगमा ल्याएको एसेम्बली लाईन विधिको सहायताले वार्षिक ३५ लाख टी मोडेलको गाडी उत्पादन गर्न र ८ हजार मानिसलाई रोजगार दिन कम्पनी सफल भयो । एसेम्बली लाइनले एउटा कार जडान गर्न लाग्ने समय १० घण्टा घटाएर ५ घण्टामा ओराल्यो ।

टी मोडेललाई प्राप्त सफलताले अरु देशमा फोर्डका उत्पादन कम्पनी जन्मिए । फलत फोर्ड कम्पनीले दैनिक ४ हजार कार उत्पादन गर्न थाले । अहिले त यसको उत्पादनले विश्वमै कायापलट गरेको छ । सडकमा हेर्नुस यसका आकर्षक मोडलका कार, जीप देख्न पाइन्छ । विश्वका दर्जनौं ठाउँमा प्लान्ट स्थापना भएका छन् । सय, हजार हुँदै लाखौंले रोजगार पाएका छन् । एउटा व्यक्तिको लगन, निष्ठा र कामप्रतिको समर्पणले के सम्म हुन सक्ने रहेछ भन्ने हेनरी फोर्डले प्रमाणित गरेका छन् । 
 

अमेरिका हेनरी फोर्ड