अन्तरवार्ता मनोरञ्जन कला साहित्य भिडियो कभर स्टोरी

११ वर्षीय प्रिन्सले तताउँदै सांगीतिक माहोल ( भिडियोसहित ) 

११ वर्षीय प्रिन्सले तताउँदै सांगीतिक माहोल ( भिडियोसहित ) 

नेपाली सांगीतिक क्षेत्रमा अहिले बाल कलाकारहरुको प्रभाव गज्जबको देखिन्छ । एकपछि अर्को गर्दै बाल कलाकारहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा तहल्का मच्चाइरहेका छन् । यस्तै बाल कलाकार मध्ये पछिल्लो समय चर्चामा आएका छन् प्रिन्स सिलवाल । 

२०६५ साल भदौ ३० गते चितवनमा पिता रमेश सिलवाल र माता प्रतिभा सिलवालको कोखबाट जन्मेका सिलवाल हाल काठमाडौंको चाँदवाग विद्यालयमा कक्षा ६ मा पढ्छन् । ६ वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेका सिलवालले तीनवटा गीत बजारमा आइसकेका छन् । 

२०७५ सालमा पहिलो पटक बजारमा आएको उनको गीत ‘दशैं मनाउने, चंगा उडाउने’ बोलको थियो । यो गीत रमेश पाठकको शब्द र संगीतमा छ । उनले २०७५ सालमै ‘ न मानामा नापिन्छ माया’ भन्ने गीत निकाले । बसन्त वित्यासी थापाको शब्द र अशोक राईको संगीत रहेको यो गीत निकै चलेको उनी बताउँछन् । 

हालै मात्र उनले ‘बाबा’ बोलको गीत भिडियोसहित बजारमा ल्याएका छन् । भवानी अधिकारीको शब्द र प्रेम घिमिरेको संगीत रहेको यो गीतमा नायक सरोज खनालले अभिनय गरेका छन् । खनालसंगै गायक प्रिन्सको पनि अभिनय रहेको यो गीतमा बाउ र छोराबीचको प्रेम दर्शाइएको छ । 

चिनियाँ भाषासमेत सिक्दै गरेका प्रिन्सले चाइनिज गीत पनि सिकेका छन् । स्कूल तथा मेला महोत्सवमा मौका परेका बेला उनी चाइनिज गीत पनि सुनाउने गर्छन् । प्रिन्सले ट्राफिक चेतना सम्बन्धी गीत पनि रेकर्ड गरिसकेका छन् । केही समयमै उनको ट्राफिक सचेतना बढाउने चेतनामूलक कार्यक्रम भिडियोमा समेत ल्याउने तयारी भइरहेको छ । 

कक्षा १ मा पढ्दै गर्दा डाक्टर बन्ने लक्ष्य लिएका प्रिन्स भन्छन्, ‘यो जीवनको लक्ष्य भनेको उमेरसंगै बदलिदै जाने रहेछ । सुरुमा डाक्टर बन्छु जस्तो लाग्थ्यो, त्यसपछि पाइलट, इन्जिनियर बन्ने इच्छा भयो । अहिले आएर सिभिल इन्जिनियर बन्न मन लागेको छ । अब भोलि के हुन्छ, थाहा छैन । गायनलाई भने म शौखका रुपमा अघि बढाउने छु । ’

प्रिन्स भद्र छन, साहसी छन्  । कुनै विषयको उत्तर दिँदा गमेर दिन्छन् । उनको मानसले भन्छ– ‘आफूले दिएको उत्तरले कसैको मनमा चोट नलागोस् ।’ तपाईंको आदर्श को ? हाम्रो प्रश्नमा उनी यसै भनेर उम्किए । प्रिन्स ठूलो हैन, असल मानिस बन्न चाहन्छन् ।

त्यसो त चितवनको सौराहमा जन्मिएका उनका लागि साहसका खेल दैनिकी बन्दै आएको हो । हात्ती, गैंडा र अन्य जंगली जनावर त साथीजस्तै भए । बाबु स्वयं पर्यटन व्यवसायी भएपछि विदेशीको भाषा, आहारविहार बुझ्न कठिन नै भएन् । त्यही रुझानका कारण चिनियाँ भाषामा दख्खल बढिसकेको छ । नैतिक शिक्षालाई पनि उनले उत्तिक्कै महत्वसाथ ग्रहण गरिरहेका छन् । गायन मात्र नभई अभिनयमा समेत प्रिन्सको रुचि छ । यद्यपि उनको नामको अगाडि कुन व्यावसायिक विशेषणले राज गर्ने स्वयं उनलाई नै थाहा छैन् ।

प्रिन्सको भनाई सापट लिएर भन्ने हो भने मानिस र मौसम उस्तै हो, कहिले कसरी बद्लिन्छ, कसैलाई थाहा छैन् । मानिसको कर्मको अधिनमा छ । परिणामको हैन ।