राजनीति

प्रचण्डबाट अन्तरपार्टी निर्देशन जारी

प्रचण्डबाट अन्तरपार्टी निर्देशन जारी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । प्रचण्डले पार्टी एकतापछि दोस्रो पटक अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । 

अन्तरपार्टी निर्देशनमा अध्यक्ष र महासचिवको जिम्मेवारी निर्देशन गरिएको छ भने वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गरिएको बारे जानकारी गराइएको छ । केपी ओलीको अध्यक्षतामा र प्रचण्डको अध्यक्षतामा बसेको यसअघि बसेका दुई सचिवालय बैठकका निर्णयहरुका आधारमा यस्तो निर्देशन जारी भएको हो ।

प्रचण्डले पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएका छन् । प्रचण्डले जारी गरेको निर्देशनमा भनिएको छ,‘पार्टीले समस्त नेता कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्न र आम रुपमा सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानमा जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’ 

दुई पार्टी बीचको एकतालाई तीन महिनामा पूरा गर्ने भनिएको भएपनि राष्ट्रिय राजनीतिका कारण तोकिएको समयमा नभएको प्रचण्डको भनाइ छ । तर सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको र अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

यसअघि एक वर्ष अघि २०७५ साल जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी भएको थियो ।