समाचार प्रदेश ५

उपनिर्वाचन बहिष्कार गर्ने वैद्यको घोषणा

उपनिर्वाचन बहिष्कार गर्ने वैद्यको घोषणा

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए ।

आवश्यकता अनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिष्कार नै उपर्युक्त हुने उनको भनाइ थियो ।

उनले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बदनाम गरिरहेको आरोप पनि लगाए । जनतामा भ्रम छर्ने काम भएको भन्दै उनले यो कम्युनिष्टको सरकार नभएको पनि बताए ।

सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको आरोप लगाउँदै उनले जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने दावीसमेत गरे  ।