अन्तरवार्ता मनोरञ्जन कला साहित्य भिडियो

दिवाकरको यात्रा : अध्यात्म र संगीतको नाता ( भिडियोसहित) 

दिवाकरको यात्रा : अध्यात्म र संगीतको नाता ( भिडियोसहित) 

३४ वर्षीय ठिटो तर अध्यात्मको साधना । अध्यात्म र संगीतबाट व्यक्ति मात्र होइन समाज नै परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास ।  उनको नाम हो, दिवाकर भण्डारी । अनवरत लागिरहेका छन् अध्यात्म र भक्तिसंगीतमा । जीवन दर्शनका गीतहरुमा उनको विशेष रुचि छ । देशका विभिन्न स्थानमा लाग्ने सप्ताह, पुराण तथा महायज्ञमा उनको उपस्थिति नभए खल्लो नै हुन्छ । 

२०४२ साल जेठ ३० गते स्याङ्जामा पिता तुलसीराम भण्डारी र माता फनकलाको कोखबाट जन्मिएका दिवाकरले संस्कृतमा स्नातकसम्म अध्ययन गरेका छन् । उनको विशेष रुचि संगीत हो । 

केही औपचारिक र बढी स्वाध्ययनबाट संगीतको अभ्यास गरिरहेका दिवाकरका पछिल्लो समय दुईवटा गीत रेकर्ड भएका छन् । आफनै स्वर, शब्द र संगीतमा उनको ‘ मेरो धड्कनले तिमीलाई बोलायो....भन्ने गीत रेकर्ड भैसकेको छ । यस्तै, प्रसिद्ध ज्योतिषी डा. रुद्रनाथ अधिकारीको रचनामा उनले ‘ एक पानीको फोका जस्तो....’ बोलको गीत पनि रेकर्ड गरिसकेका छन् । दुवै गीतको छायाङ्कन चलिरहेकाले चाँडै बजारमा सार्वजनिक हुने उनले बताए । 

विभिन्न ज्ञान महायज्ञमा कथा वाचन गर्न समेत सिपालु दिवाकर आफू जीवन दर्शनका गीतप्रति आकर्षित भएपनि सबै प्रकारका गीत संगीत समाजका लागि महत्वपूर्ण रहेको ठान्छन् ।  उनी भन्छन्, ‘ श्रोता वा दर्शकले स्वीकार गरेपछि कुनै व्यक्ति विशेषले अस्वीकार गर्नुको अर्थ हुँदैन । सबै गीत संगीतको आ–आफनै महत्व हुन्छ । ’

भजन शिरोमणि भक्तराज आचार्यको भजन ‘ मन पनि हरि भो...तन पनि हरि भो’ सुनेपछि आफूलाई पनि भजनतीर आकर्षण बढेको उनी बताउँछन् । 

नेपाल आजसंगको भेटमा गायक भण्डारीले थुप्रै भजन र केही आधुनिक गीत गाएर सुनाएका छन् । त्यसका लागि भिडियो नै हेर्नु आवश्यक हुन्छ ।