विचार

गणतन्त्रको चीरहरण                     

गणतन्त्रको चीरहरण                     

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै नेताहरुले निरंकुशशास्त्रको पीएचडी हासिल गर्नु नै रहेको अन्तिम सत्य हो । ०७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई ‘बिजुली गारत’ नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरुको त्यो हविगत हुने नै थिएन । राजा भर्सेज नेताको युद्ध शुभारम्भ यो सानो भूलबाट भयो । राणा निस्तेजपछि फेरि प्रधानमन्त्री बनेका मोहनशम्शेरले बीपीलाई सम्झाउँदै भनेका थिए– ‘बीपी बाबु , तपाईंहरु पढे लेखेका देश विदेश खाएका भएपनि देश चलाउने विषयमा तपाईंभन्दा म अनुभवी छु । मैले भनेको मानेर बिजुली गारत दरबारबाट झिकौं । कालान्तरमा तपाईंहरुलाई यही गल्तीले पिरोल्ने छ ।’ आखिर भयो त्यस्तै ।

 ०७ सालदेखि ०१४ साल अर्थात सुन्दर लक्की सेभेन हुनुपर्ने नेपाली राजनीतिको कालखण्ड अनलक्की श्रृंखलामा वित्यो । त्रिशंकु खेलकुदले राजनीतिलाई दाउपेचमा अनुवाद    गर्यो । त्यो बेला पनि राजनीतिमा कुखुरा चोरहरुको हालीमुहाली चल्यो । दाजुभाइ फुटाएर काँग्रेस ध्वस्त पार्न जनताका नेता मातृकाप्रसाद कोइरालालाई मानार्थ सेनाको जर्नेल बनाएर सैनिक पोसाकमै सार्वजनिक गरियो । ०११ सालमा युवा राजा महेन्द्रको उदयसंगै समवयी राजा–नेताबीच शक्ति संघर्ष चल्यो । एकथरि नेता  र अर्काथरि राजा उचाल्ने प्रतिस्पर्धा गर्न थाले । अनपेक्षित पात्रहरु केन्द्रीय राजनीतिमा हावी भए । बीपीका विश्वासपात्र चोर्ने रणनीतिमा राजा महेन्द्र पर्दा पछाडि खेल्न थाले । अनेकन दबाबबीच ०१५ सालमा चुनाव भयो । बीपी नेतृत्व सरकारले दुई तिहाइ मत हासिल गरेर शक्तिशाली सरकार बनायो ।

बीपीमा जनमतको अहं, राजामा स्वाभाविक थियो– श्रीपेचको घमण्ड । अन्ततः कहिले राजा बोकेर नेता र नेता बोकेर राजा हान्ने रणनीतिमा रहेका जवाहरलाल नेहरुले राजालाई काँध थापेर दुई तिहाईको काँच घरमा घन हाने । लोकतन्त्रको घर भत्कियो । जनमतले बनेकै भरमा लोकतन्त्र बलियो हुन्छ भन्ने मिथ्या हो भन्ने यो भन्दा निर्मम दृश्य अरु के हुन्छ र ? त्यही जगमा राजाले पञ्चायत नामको घर बनाए । त्यो घर पनि राजाको डिजाइन अनुसार बनेन । राजाको भिजनले आफ्नै व्यवस्थामा न्याय पाएन । बरु राजालाई अकबर बादशाहजस्तो मूर्ख बनाएर दाइँ गर्ने पात्रहरुको उदय भयो । त्यो श्रृंखला आजका मितिसम्म सक्कल बम्मोजिम नक्कल बनेर उपस्थित छ । 

धेरै कालखण्डपछि प्राप्त गणतन्त्र ‘भूईंमा न भाँडामा रित्ता डाँडामा’ प्रमाणित हुनु पछाडिका प्रमुख कारण पनि यिनै हुन । नेताहरुले राजाको विरोध गरे, तर राजामहाराजको विलासिता मस्तिष्कमा बोके । पदमा नपुगेसम्म नारीले आफूलाई नारीको कोटीमा राखे । पद पाएपछि जुँगामुठे पुरुषको दम्भ पाले । गणतन्त्रको रक्षक मानिएका नेताहरुका गतिविधिप्रति जसले खबरदार    गर्यो, उसलाई महाशत्रु घोषणा गर्ने परम्परा वीजारोपण गरियो । गणतन्त्रको सर्वोच्च शिखर मानिएको राष्ट्रपतिलाई अप्रिय बनाउन गणतन्त्रकै शिल्पी टुप्पी कसेर लागेका  छन् । यस्तो स्वतन्त्र र सचेत समाजको आंकलन नगरी राष्ट्रपतिलाई जताततै खेताला बोलाउने जिम्मा कसैले लिन पर्दैन ।

ठूला मानिसलाई राजश्व तिरेर सुविधा किन दिइएको हुन्छ भने उनीहरुले फेरेको श्वास पनि देश हितमा हुन्छ भन्ने मान्यता जीवित राख्न हो । जब देशको सर्वोच्च भनिएकै व्यक्ति हेलिकोप्टरबाट माइती मावली र  स्कुलको वार्षिकोत्सवमा माला पहिरिन हेलिकोप्टरमा कुद्छन भने यस्तो व्यवस्था संसारका क्रूर भनिएका ईदी अमिनले पनि कल्पना गरेका थिएनन् । यस्ता गतिविधिले पुस्तापुस्तासम्मको भविष्य निस्तेज बनाउँछ । यो त व्यक्ति र व्यवस्था दुवैको दुरुपयोग हो ।

कानुन मिचेर भावनाको निर्णय गर्दा बेथिति सञ्चयकोष भएर रहिरहन्छ । त्यसले अन्ततः डस्ने आफैंलाई हो । हिजो यस्तै खेलाँची गर्दा राजा दरबारबाट खँदारिए । बीपी, गणेशमानसिंह, कृष्णप्रसाद, गिरिजाप्रसाद कहाँबाट कहाँ पुर्याइए ? जिन्दगी नै काँग्रेसको बलिबेदीमा होमेका  गणेशमानसिंह, कृष्णप्रसादजस्ता महापुरुषको उत्तराद्र्ध सकसै सकसमा बित्यो । दलभित्र मौलाएको गुटैगुटको प्रलापमा यी महानआत्माहरु अटाउन सकेनन् । व्यवस्था फेरियो, पार्टी फेरियो, व्यक्ति फेरिए तर राजनीतिको कोर्स उही छ । कितावको एउटा च्याप्टर फेर्ने साहस कसैले गरेन । बरु व्यक्तिगत स्वार्थको दाउलाई व्यवस्थासंग जोडियो । मुलुकका कार्यकारी र संवैधानिक निकाय पुरै बद्नामीको चक्रव्यूहमा फसेका छन् ।

गफको विकल्प काम हुनुपर्नेमा गफको ठाउँ महागफले लिइरहेको छ । राष्ट्रपतिदेखि वडा सदस्यसम्मको दैनिकी भाषण र घुमफिरमा वित्ने गरेको छ । देशका विमानस्थल भीआईपी नै भीआईपीको लर्कोले भरिएको छ । कोही कसैलाई फुर्सद छैन । बेफुर्सदी कामको नभएर गफको हो । प्रचण्ड मुलुकको दुईपटक कार्यकारी सरकार प्रमुख भए । अहिले पनि दुई तिहाई सरकारको जिम्मावाल छन् । यद्यपि क्रान्तिको धमास दिन छोड्दैनन् । पूँजीवादी, दलाल, प्रतिक्रियावादीजस्ता अर्मूत शब्दको बेमिसाल आक्रमण तीब्र छ । केपी ओलीसंग हिसाव कितावको थोरै बेरुजु निस्कने वित्तिक्कै अर्को माओवादी शक्ति जन्मिने उद्घोष गर्छन । उनको यो कार्ड विप्लवप्रति केन्द्रित रहेको बुझ्न कठिन हुन्न ।  

प्रचण्डकै चेला नेत्र विक्रम चन्द विप्लवले आतंक खेती शुरु गरिसकेका छन् । यसको तादात्म्य के हो,  तिनै दुई पात्र या भगवान जानून । तर यो कहिल्यै नसकिने कम्युनिष्ट क्रान्ति के हो ? दमले छियाछिया पारेको धराप ज्यान लिएर हिँडिरहेका मोहन वैद्यलाई पनि क्रान्तिको नशाले छोडेको छैन । राज्यसत्तामा टेण्डर नपरेका हरेक कम्युनिष्टका नशामा क्रान्ति अधुरो छ भने सत्ता नपाएको काँग्रेस लोकतन्त्र धराप परेको चिन्ताले मरिच भएको छ ।

क्रान्ति, लोकतन्त्र या गरीब जनताको हवाला दिएपनि यी सवै आवरण लुट्न नपाएको आक्रोश सिवाय केही होइन । मुलुकमा भएका ‘टपटेन अपराध’मा टपटेन नेता या तिनका परिवारका सदस्यको नाम जोडिएको खबर सार्वजनिक हुन्छ । प्रधानमन्त्री केपी ओलीका नजन्माएका सन्तान, उपराष्ट्रपति, सभामुख, गृहमन्त्रीका छोराछोरी गुण्डागर्दी, ठेक्कापट्टा, भ्रष्टाचारीको मतियार भई भ्रष्टाचारीको भिडियो टेपजस्ता तुच्छ प्रकरणमा जोडिनुजस्तो अनैतिक, अमर्यादित अरु के हुनसक्छ ? आखिर माउअनुसार पाउको जन्म किन भइरहेको छ ?

कोही कलमको ह्रस्व दीर्घ, तर्कुले, कान्दानी, बाइमात्रा, किन्तु , परन्तु मिलाएर मार्ने त, कोही  खुँडा, खुकुरी उध्याएर मार्ने । आखिर मार्र्नेमा सबैको सहमति छ । विना पूर्वाग्रह भन्ने हो भने नेपालका कम्युनिष्टहरु गरिबको नाम लिएर चरम विलासी बन्ने यात्रामा छन् । राजनीतिक समानता उनीहरुको राजनीतिक प्राण भएपनि व्यक्तिगत सम्पति आर्जनमा उनीहरुको ध्याउन्न दिन दुईगुना, रात चारगुनाको दरले बढ्दो छ । पाखण्ड छोप्ने जामा नलगाउने हो भने अधिकांश सर्वहारा वर्गका नेता तथा कार्यकर्ता राजधानी बासिन्दा भएका छन् ।

काठमाडौंको केन्द्रिकृत अधिकार जनताको ढोका ढोकासम्म पुगोस भन्ने कसैको इमान्दार प्रयास छैन । संघीयता त महत्वाकांक्षी कार्यकर्तालाई जागिर लगाउन खोलिएको भर्ती मात्र हो । जसले हजारौं कार्यकर्ताको मुखबुजो लगाएको छ । स्वयं प्रधानमन्त्री केपी ओली संघीयता मोटाएको देख्न चाहँदैनन् । डाइनोसर हुन लागेको माओवादी एमालेको वैतरणी तरेर आएपछि एकाएक हात्ती बन्यो । भीमकाय कम्युनिष्ट पार्टीको ‘पाइलट’ हुन पाएको प्रचण्डलाई उँडी उँडी भएको छ । उनी पार्टीको एकल र सरकारको मुखिया बन्ने स्टेशन कुरेर बसेका छन् । लोकसेवा लड्न नपर्ने, एक समय गरेको त्याग सधैं एटीएम कार्डको रुपमा प्रयोग गरेर फाइदा लिइराख्न मिल्ने डेट एक्सपायर नहुने राजनीति गज्जब उद्यम बनेको छ ।

आफ्ना परिवारका तीनपुस्ते, नोकरचाकर, चण्डमुण्ड, ढोके, हुक्के सबैलाई व्यवस्थापन गर्न मिल्ने यस्तो पोषणयुक्त संघीय गणतन्त्र विश्वमै छैन होला ।  यदि यो अभिष्टमा कोही भिलेन भएको भान भयो भने गणतन्त्रमाथिको प्रहार भनेर काँचो खरमा आगो लगाउन मिल्ने सुविधा पनि यस भूमिको गणतन्त्रले दिएको छ । जसरी टोलटोलमा पुगेर जातका नाममा राज्य बाँड्ने आश्वासन बाँड्दा त्यसको प्रहारले अहिलेसम्म नेताहरुलाई ऐंठन हुने गरेको छ । राज्यको संयन्त्रमा बसेर गरिएका कर्म पत्र भएर बस्छन् । जसको जवाफदेहीता रहिरहन्छ । यो कर्म हो कि कुकर्म त्यसको भेद पनि नियतिले छुट्याउँछ ।  

अब नेपाल मात्र नभएर विश्व सबैको साझा हो । मानवताविरोधी अपराधको भागी संसारको जुनसुकै देशमा गएर भुक्तान गर्नुपर्छ । सत्ता र शक्तिका भरमा दुईचार दिन चुरीफुरी गरेर आपूmलाई राज्य सम्झिने दिन उहिल्यै अन्त्य भए । दुई तिहाईको भोट जे मन लाग्यो, त्यही गर्ने लाइसेन्स नभएर फुकी फुकी पाइला चाल्ने म्यान्डेट हो । त्यसैले क्याप्टेनहरुले सरकारी जहाज उडाउँदा र बसाउँदा गम्भीर हुन जरुरी छ । 

गणतन्त्र नेता राजा