अन्तरवार्ता भिडियो

मुलुक राजनीतिक दुर्घटनाको संघारमा, निकास दिन तानाशाह आवश्यक (भिडियोसहित) 

मुलुक राजनीतिक दुर्घटनाको संघारमा, निकास दिन तानाशाह आवश्यक (भिडियोसहित) 

दुई तिहाईको बलियो सरकार भएर पनि जनअपेक्षा अनुसार काम हुन नसकेपछि विभिन्न बाहनामा सडकमा जनआक्रोश चुलिने क्रम जारी छ । सानो केही भेट्यो कि मानिस सरकारविरुद्ध नाराबाजीमा उत्रिन थाल्छन् ।  नेताहरुमाथि गालीगलौजको वर्षा हुन थाल्छ । 

राजनीतिक विश्लेषक प्रेमसागर पौडेलका अनुसार मुलुकको राजनीतिक प्रणाली  र नेताहरुको व्यक्तिवादी सोच नै समस्याको मूल कारण हो । संघात्मक व्यवस्था र नेताहरुको द्रव्यमोहका कारण जनताका चाहनामाथि कुठाराघात हुनेक्रम बढेको हो । पौडेल भन्छन्– ‘चुनाव प्रणाली यति महङ्गो भयो कि नेताहरु पदमा पुग्ने वित्तिकै खर्च उठाउनतर्फ लाग्न थाले । संघीयता यति महङ्गो भयो कि देशभर तलब खानेहरु मात्र भए । प्रदेश सरकारको आफनो आयश्रोत केही छैन । विदशीसंग पैसा मागेर संघीयता चल्छ ?’

यही अवस्था कायम रहने हो कुनैपनि बेला राजनीतिक प्रणाली दुर्घटनामा पर्ने र यसले नेपालको संविधान २०७२ लाई समेत खरानी बनाउन सक्छ । मुलुकको राजनीतिक प्रणाली असफलतातर्फ जाँदैछ, नेताहरु व्यक्तिगत स्वार्थमा मात्र लागेका छन् । उनीहरु समयमै गम्भीर नहुने हो भने यो व्यवस्था समाप्त भएको टुलुटुलु हेर्नु सिवाय कुनै विकल्प रहने छैन । 

सेना मात्र चोखो

नेताहरुकै बदमासीका कारण कुनैपनि संरचना चुस्तदुरुस्त छैनन् । कर्मचारीतन्त्र, निर्वाचन आयोग, प्रहरी, न्यायालय, मानवअधिकार, अख्तियार जताततै बेथिति नै बेथिति । उनीहरुले संवैधानिक निकाय र मुलुकका सार्वजनिक संस्थानहरुलाई राजनीतिक स्वार्थ सिद्ध गर्ने औजार मात्र बनाए । 

नेपाली सेनाबाहेक देशमा कुनैपनि निकाय राजनीतिक दुस्प्रभावबाट मुक्त छैन । सबै बिटुलिएका छन् । नेपाली सेनालाई पनि गिजोल्ने प्रयास थुप्रै पटक नभएका होइनन्, तर सफल हुन सकेनन् । मुलुकको राष्ट्रिय नीति र एक असल नेता नहुँदा यस्ता बेथिति आइरहन्छन् । 

वास्तवमा संघीयता होइन, विकेन्द्रीकरणमा ध्यान दिनुपर्ने हो । केन्द्र शासित राज्य प्रणालीमा विकेन्द्रिकरणको सिद्धान्त अनुसार अघि बढे मुलुकको आर्थिक भार कम हुन जान्छ । यसले राजनीतिक संस्कार र प्रणालीको पनि विकास गर्छ । 

तानाशाहको खोजी 

मुलुकलाई असफलतातर्फ जानबाट रोक्न अहिलेका कोही पनि नेता सफल हुने छाँट छैन । उनीहरु विभिन्न शक्ति केन्द्रबाट पालिएका र उतैबाट निर्देशित भैरहेकाले चाहेर पनि उनीहरु राष्ट्रिय स्वार्थमा काम गर्न सक्दैनन् । 

देश बनाउने हो भने मुलुकलाई सबैभन्दा पहिले प्रणाली अर्थात सिस्टममा लैजानु पर्छ । सिस्टम बसाउन आत्मविश्वासले भरिपूर्ण एक इमान्दार नेता चाहिन्छ । कडा अनुशासन चलाउने अर्थात एक प्रकारको  तानाशाह नेपालका लागि आजको आवश्यकता हो । 

यसो भन्दा लोकतन्त्रको विरोधमा बोलेको जस्तो देखिएला तर त्यसो होइन । चाहे वर्तमान ओली सरकार होस, कांग्रेस होस, राजा हुन वा सेना । जो भएपनि तानाशाहा शैलीमा अघि बढ्न जरुरी छ । यसका लागि आफना केही स्वतन्त्रता गुमाउनु परेपनि नेपाली जनता तयार हुनुपर्छ, तर मुलुक बन्नु पर्यो । 


चीन र भारतको सद्भाव, अमेरिका वैरी

नेपालका लागि चीन र भारत दुवैको सद्भाव छ । यहाँको विकास, उन्नति र शान्तिका लागि दुवै मुलुक गम्भीर भएको उनीहरुका अभिव्यक्ति र व्यवहारबाट पनि पुष्टि हुन्छ । 

अहिले आएर चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्ने तयारी गरेका छन् । त्यसको केही समयपछि राष्ट्रपति सी जिनपिङको भ्रमणको सम्भावना पनि छ । भारत सरकार पनि नेपालप्रति सकारात्मक देखिन्छ । दुई ठूला विकसित देशहरुको माया प्रेम र सद्भाव प्राप्त भएका बेला त्यसलाई राष्ट्रहितमा प्रयोग गर्न सक्नु नेपालको क्षमताको कुरा हो । तर, नेपाल सरकार र यहाँका नेताहरुले यसतर्फ गृहकार्य समेत गरेको पाइँदैन । 

तर, सजग हुनुपर्ने अमेरिकासंग छ । अमेरिकाको नियत राम्रो छैन । अमेरिकाले पूरै दक्षिण एशियामा द्वन्द्वको बीउ रोप्न खोजेको छ । उसको काम भनेकै द्वन्द्व मच्चाउने र हतियारको ब्यापार गर्ने हो । 

अमेरिकाले अहिले काश्मिर मामिलामा भारत र पाकिस्तानबीच युद्ध भड्काउन खोजेको छ । चीनसंग व्यापारका नाममा निहुँ खोज्नु पनि यसैको कारण हो । अझ, नेपाल सरकारलाई त प्रत्यक्ष अप्रत्यक्ष प्रलोभन तथा दवाव दिने काम लगातार गरिरहेको छ । नेपाललाई प्रयोग गरेर चीन र भारतविरुद्ध गतिविधि गर्ने उसको योजना छ । यो विषयमा गम्भीर हुन जरुरी छ । 

‘अचम्म त के छ भने राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुरक्षाको यति ठूलो चिन्ता भैरहँदा नेपालका प्रधानमन्त्री सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्छन । के यसले सरकारका गम्भीर सूचना चुहिने खतरा हुँदैन ?’ विश्लेषक पौडेलको प्रश्न छ ।