विचार

वाल विवाह : एक जटिल समस्या 

वाल विवाह : एक जटिल समस्या 


डा. सिके सिंह 
कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । सामान्यतया २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।


बालविवाह नेपालको तराई क्षेत्रमा बढी देखिन्छ । यो प्रथा पढेलेखेको समुदायमा भन्दा नपढेलेखेको मुसहर, चमार, डोम, यादव, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । त्यसो त नेपाल बालविवाह गर्ने विश्वका दशौँ स्थानमा पर्दछ । दक्षिण एसियामा नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ ।

नेपालमा भने सप्तरी जिल्ला बालविवाह बढी हुने जिल्लाहरूमा पहिलो स्थानमा पर्दछ । नेपालमा हुने वार्षिक बालविवाहको ८३ प्रतिशत सप्तरी जिल्लामा हुने गर्छ । 


सबैभन्दा बढी बाल विवाह अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको बाल विवाह गरेको देखिन्छ । त्यसपछि क्रमशः परम्परागत विश्वास र सोचाइ तथा दाईजोका कारण बाल विवाह हुने गरेको छ  ।

छोरीको बालविवाहको हकमा भने दाइजो प्रमुख कारण देखिन्छ। दहेजपछि परम्परागत विश्वास तथा धारणा, गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । 


बाल विवाहको घटनापछि ८० प्रतिशत बालबालिकाहरूले श्रीमानका घरमा स्वच्छ र पर्याप्त खाना र हेरचाह पाएका देखिँदैनन् । यही कारणले बाल विवाह गर्नेहरू बिभिन्न शारीरिक तथा मानसिक रोगको शिकार भएका पाइन्छन् ।

यसबाट पनि बाल विवाहबाट हुने परिणामको आँकलन गर्नसकिन्छ । बाल विवाहका पक्षधर उत्तरदाताहरू १२ बर्षको उमेरपछि नै छोराछोरी विवाहका लागि परिपक्व हुने ठान्छन् । बाल विवाहको फलस्वरूप बालिकाहरु सानो उमेरमा आमा हुन्छन् ।

उनीहरूले आफ्नो प्यारो र महत्त्वपूर्ण समयको रूपमा रहेको बाल्यकाल अनाहकमा गुमाउँछन् । शतप्रतिशत उत्तरदाता बालबालिकाले विवाहपछि आफू साथीसँग खेल्न नपाउने, अझ साथी र परिवारका सदस्यसँग भेट्न पनि असहज अनुभव हुनेगरेको बताए ।

यति मात्र होइन, उनीहरूले बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउँछन् । उनीहरू घरमा विभेदको र घरेलु हिंसाको सिकार हुनुपुग्छन् । त्यस बाहेक बालविवाहमा आमा शिशुको मृत्युदर उच्च हुन्छ।


बाल विवाहका विरुद्धमा रहेकाहरूले त्यो उमेर विवाहका लागि अनुपयुक्त भएको, विवाहपछि बालवालिकाको पढाइ बिग्रने, बिरामी हुने, छिटो विवाह गर्दा छिटो बच्चा जन्मने, बालबालिकाको मानसिक शक्तिको विकास नहुने आदि जस्ता नकारात्मक पक्ष बताएका थिए ।

उनीहरूका अनुसार छिटो विवाह गरे आफ्नो खुट्टामा उभिन नसक्ने, मानसिक रूपमा विवाहका लागि तयार भएको नहुने, घरायसी खर्च बढ्ने, मानसिक यातना बढी हुने, सानै उमेरमा बच्चा जन्मिने, बच्चा र आमाको मृत्युसमेत हुनसक्ने जस्ता बिभिन्न समस्या भोग्नुपर्ने हुनजान्छ ।

उता सुत्केरी भएमा बच्चा जन्माउन पनि गार्हो हुने, घरपरिवारबाट सहयोगी ब्यबहार नहुने, मानसिक विकासको कमी हुने, नयाँ जन्मेको बच्चा बारम्वार बिरामीका साथसाथ सुस्त मनस्थितिको हुनसक्ने, आमालाई कामको बोझ हुने, जीवन बर्बाद हुनसक्ने, यौनांगलाई हानी हुनसक्ने र परिवार चलाउन गार्हो हुने भन्ने पनि उनीहरूको धारणा थियो ।

त्यस्तै उनीहरू कम उमेरमा विवाह गर्नु कानुनी अपराधको रूपमा पनि लिन्थे । उनीहरू बालविवाहले शारीरिक समस्या आउने, शरीर कमजोर हुने, घरायसी समस्या बढ्ने, आर्थिक समस्या बढ्ने भएकाले कम उमेरमा विवाह गर्नु हुँदैन भन्थे । अचम्म के भने ९४ प्रतिशत उत्तरदाता बाल विवाहको बिपक्षमा हुँदाहुँदै अध्ययन क्षेत्रमा भने बाल विवाह अझ बढ्दो देखिन्छ ।


बाल विवाहका पक्षकाहरूको विचारमा विवाहपछि प्राप्त हुने दहेजको पैसाले छोराले पैसा कमाउन विदेश जान पाउने, कम्तिमा बच्चा पाउने, घरपरिवारको व्यवस्था राम्रो बन्दै जाने भनेर बताए । बाल विवाह नगरी छोराको ढिलो विवाह गरेमा छोराका लागि उपयुक्त केटी र उपयुक्त ज्वाइँ नपाउने सोचले पनि बाल विवाह भएको देखिन्छ ।

मेरो अध्ययनबाट कतिपय उत्तरदाताहरूले बाल विवाहलाई आफ्नो अभिन्न मूल्यमान्यता र संस्कृतिका रूपमा मानेको पाइएको छ । छोराको बालविवाह गर्नपर्नुको कारणका हकमा मुख्य रूपमा घरायसी काम गर्न समस्या भएकाले छोराको बेलैमा विवाह गरेमा बिना ज्याला काम गर्ने कामदारको रूपमा बुहारी भित्रिने सोचले काम गरेको देखिन्छ । 


समग्रमा हेर्दा बाल विवाह हुनुको पछाडि केही सामाजिक सांस्कृतिक, केही आर्थिक र व्यवहारिक कारणहरू छन् । ढिलो विवाह गर्दा अथवा उमेर पुगेर गर्दा दहेज धेरै दिनुपर्ने अथवा विवाहमा धेरै खर्च हुने र ब्यवहारिक रूपमा ढिलो विवाह हुँदा उपयुक्त वर वधु नपाउने धारणा ब्याप्त देखिन्छ । 
 

उन्मूलनका उपायहरू :

बाल विवाहको उन्मूलन गर्न विशेषगरी केटीहरूलाई सशक्तिकरण गर्नुपर्छ । बाल विवाह बालअधिकार, महिला अधिकार, मानव अधिकार र विकासको बाधक हो । बाल विवाह पुराना परम्परागत संस्कृति र जातिय व्यवस्थासँग जोडिएकाले सर्बप्रथम त्यस्ता संस्कृति र जातिय व्यवस्थालाई बदल्नुपर्छ ।

समुदायका मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वाल(विवाहबिरुद्ध बोल्नसकेका छैनन् , बाल विवाहबिरुद्धका उजुरीहरू दर्ता भएका छैनन् । खराब राजनीतिक अबस्थाका कारणले पनि बाल विवाह बिरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन ।

बाल विवाह गैरकानुनी भएको र यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउन पर्ने हुँदाहुँदै यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज नउठेको देखिन्छ । 
 

-लेखक वालविवाह एवं दाइजोमुक्त नेपाल राष्ट्रिय अभियानका संयोजक हुन् ।