राजनीति

सरकार र व्यवस्थामै विश्वास छैन यसकारण जनता सडकमा– शिव सेना 

सरकार र व्यवस्थामै विश्वास छैन यसकारण जनता सडकमा– शिव सेना 

काठमाडौं । वर्तमान सरकार र राज्यव्यवस्थाप्रति जनताको विश्वास रत्तभर नभएका कारण उनीहरु सडकमा आएको शिव सेना नेपालले दावी गरेको छ । 
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले देशभर प्रदर्शन गर्नुपछाडि वर्तमान व्यवस्थाप्रतिको असन्तुष्टि रहेको पार्टीका अध्यक्ष अनिलब बस्नेत ‘बाबा’ले दावी गरेका छन् । 

अध्यक्ष बस्नेतले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘समाजका कुनै पनि तह र तप्काले राज्यबाट सुरक्षाको अनुभूति महशुस गर्न सकेको छैन । राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेका छन् ।’

 अध्यक्ष बस्नेतले राजनीतिक दलहरुले मुलुक र जनताप्रति बेइमानी गरेको आरोप पनि लगाएका छन् । उनले जनतालाई भ्रममा पारेर नेपाल र नेपाली जनतालाई दिग्भ्रमित पारेको उल्लेख गरेका छन् । 

‘नेपालमा प्रमुख राजनीतिक दलको रोडम्यापमा आस्था राखेर नेपाली जनले देखाएको विश्वास अहिले धोकामा परिणत भएको छ । जनजीवीकाका सवाल, राष्ट्रियताको सवाल, देशको सीमा, सार्वभौमसत्तालाई सत्ताधारी दलहरुले फगत एक खोलौना बनाइदिएका छन् ।’ शिव सेनाको विज्ञप्तिमा भनिएको छ । 
मुलुकमा जनताका प्रतिनिधिका नभएर यमराजको शासन भएको कुरा जनताले नै बालिरहेको र राजनीतिक दलहरु विदेशीको एजेन्ट बनेर नेपालीमाथि अत्याचार गरिरहेको शिव सेनाको दावी छ । शिव सेनाको विज्ञप्तिमा भनिएको छ, ‘ 

शान्तिभूमि, देवभूमि, कर्मभूमि र पूर्खाको रगतले आर्जेको यो राष्ट्र रोइरहँदा तमाम नेपाली जनता आज दलहरुको परिबन्दमा फसेको महशुस गरिरहेका छन् । यो देश केही भ्रष्ट नेता, उनका आफन्तहरुका लागि हाँस्ने, रमाउने, सुखभोग गर्ने स्वर्णभूमि भएको छ, कसैले मारिइँदा, लुटिइँदासमेत न्याय पाउन सकेका छैनन् ।’

हिन्दुराष्ट्र र राजसंस्था पक्षधर शिव सेनाले जनतालाई वर्तमान शासन व्यवस्थाविरुद्ध एकताबद्ध हुन जनतामा अपिल समेत गरेको छ ।