समाचार प्रदेश ३

लागु औषधसहित दुई पक्राउपछि सार्वजनिक

लागु औषधसहित दुई पक्राउपछि सार्वजनिक


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ बस्ने १९ वर्षीय सनम प्याकुरेल क्षेत्री र गोरखाको सुलिकोट गाउँपालिका–८ बस्ने २४ वर्षीय गणेश गुरुङ छन् ।

उनीसित प्रहरीले फेनेरागन ६ एम्पुल, डाइजापाम ६, बुप्रिनुफिन ६ एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (नाइट्राभेट) १० लेखेको लागुऔषध डाइजेपामसहित भरतपुर महानगरपालिका–९ स्थित परमानन्दचोकबाट पक्राउ गरेको हो ।

चितवनमा मोटरसाइकल गस्तीमा रहेका बेला प्रहरीलाई उनीहरुका गतिविधि शङ्कास्पद लागेपछि खोजतलास गर्दा लागुऔषधसहित बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४९च० बमोजिम लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।