विचार

रविप्रति भरोसाको अर्थ

बबिता बस्नेत

रविप्रति भरोसाको अर्थ

‘रविदाइले धेरै महिलाको जीवन बचाउनुभएको छ । उहाँलाई नै सरकारले यस्तो गरेपछि अब भोलि मलाई केही भयो भने कसले बचाउँछ ?’ रवि लामिछानेको समर्थनका लागि बुटवलबाट चितवन पुगेकी एक किशोरीले आँखाभरि आँसु पारेर टेलिभिजनमा दिएको यो प्रतिक्रियाले एकछिन स्तब्ध बनायो । देशकी एक युवालाई यो मुलुकको राज्यसंयन्त्र र प्रहरी प्रशासनभन्दा टेलिभिजन पत्रकारप्रति ठूलो भरोसा थियो, जसलाई उनले एकपटक पनि प्रत्यक्ष देखेकी, भेटेकी थिइनन् । कुनै बेलाका आफ्ना सहकर्मीले दोषी देखाएर आत्महत्या गरेको भन्ने आरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेका पत्रकार रवि लामिछानेको समर्थनमा चितवनमा देखिएको भिड कुनै पनि मुद्दामा नेपालका सर्वसाधारण एकै ठाउँ जम्मा भएर विरोध प्रदर्शन गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो जमात हो ।

चर्को घामको पर्वाह नगरी चितवनमा उर्लिएको मानवसागरलाई हेरेर जनतालाई सही लाग्ने कुरा कसैले गर्छ भने अब समर्थनका लागि राजनीतिको आड खासै आवश्यक छैन भन्न सकिन्छ । यसअघि जुलुस, नारा, मानिसको भिड प्रायः राजनीतिक मिसनहरूमा देख्ने गरिन्थ्यो । राजनीतिक उद्देश्यबाहेक केही समयअघि राजधानीको मण्डलामा नेवार समुदायबाट निकालिएको गुठी विधेयकविरुद्धको जुलुस र आमसभा उल्लेखनीय थियो । मण्डला सभाले कसैको संस्कृतिमाथि आफूखुसी निर्णय गर्दा केसम्म हुन्छ भन्ने सन्देश दिएको थियो । चितवनको मानवसागरले यो देशको राज्यसंयन्त्रप्रति मानिसको विश्वास नभएको प्रमाणित गरेको छ । यदि राज्यले कुनै पनि घटनामा सत्यतथ्यका आधारमा निष्पक्ष छानबिन गर्छ भन्ने विश्वास जनमानसलाई हुँदो हो त त्यसरी मुलुकभरिबाट मानिस ओइरिने थिएनन् ।

पत्रकार शालिकराम पुडासैनीले आफूले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमाथि सर्वसाधारणले विभिन्न प्रश्न उठाएका कारण मात्र नभएर अनुसन्धानकै प्रमुख पाटोका रूपमा नेपाल प्रहरीले सबैभन्दा पहिले त्यो हत्या हो कि आत्महत्या भनी अनुसन्धान गर्नुपर्ने हो । हत्या या आत्महत्यामा आत्महत्या भनी टुङ्गो लागिसकेपछि रवि, युवराज कँडेल या दोषी देखाइएकी युवतीलाई सोधपुछ गरिनुपर्ने हो । तर, पोस्टमार्टम रिपोर्ट आउनुअघि नै जसरी टेलिभिजनको कार्यालयमा गई अपराध प्रमाणित भइसकेको अपराधीलाई झैँ पक्राउ गरियो त्यो आफैँमा खेदपूर्ण छ । कुनै पनि बेला तपाईंहरूले भनेको ठाउँमा म आफैँ आउँछु, आउनुपरे खबर गर्नुहोला भनी रवि लामिछानेले प्रहरी प्रशासनलाई भनिरहेको अवस्थामा कार्यालयमा प्रहरी प्रवेश गरी पक्राउ गर्नु आवश्यक थिएन ।

रवि, युवराज र कुनै बेला पत्रकार पुडासैनीकी मित्र भनिएकी युवतीलाई पक्राउ गरेर अनुसन्धान थाल्नुको अर्थ शालिकरामको हत्या नभई आत्महत्या नै हो भन्ने निष्कर्षमा पुग्नु हो । आत्महत्याभन्दा पनि हत्या भएको हुन सक्ने प्रसस्त आधार देख्दादेख्दै यदि प्रहरीले आत्महत्याको पाटोबाट मात्रै अनुसन्धान थाल्छ भने त्यो पूर्वाग्रही हुनु स्वाभाविक हुन जान्छ । रविको गिरफ्तारीले आत्महत्या दुरुत्साहनसम्बन्धी कानुनको कार्यान्वयनबारे पनि केही प्रश्न उठाएको छ । यो कानुन सबैलाई लाग्ने हो कि केही लक्षित व्यक्तिलाई मात्र लाग्ने हो ? कामको सिलसिलामा मात्र नभएर व्यक्तिगत जीवनमै पनि कसले कसलाई बदलाको भावनाले हेरिरहेको हुन्छ थाहै हुँदैन । सरुवा, बढुवा, पदको बाँडफाँडलगायतका कुरामा चित्त नबुझेका मानिसले सुसाइट नोट या सुसाइट भिडियोमा नाम लिएका व्यक्तिहरू सबै दोषी हुने हुन् कि केही मात्रै ? भोलि कसैले नेता प्रचण्ड, केपी ओलीलगायतका कारणले मैले आत्महत्या गर्नुपऱ्यो भनी भिडियो बनाएर आत्महत्या गरे भने के हुन्छ ? विभिन्न ओहोदामा बसेका मानिस सधैँ यसप्रकारको जोखिमबाट गुज्रिरहेका हुनेछन् ।

शालिग्राम डिप्रेसनमा थिए भन्ने कुरा उनले साथीहरूसँग गरेका कुराकानी, औषधिका फोटोसहितका च्याटलगायतबाट थाहा हुन्छ । डिप्रेसनका बिरामीले कुनै कुरा मनमा खेलायो भने अब मलाई यसले यस्तो गर्ने हो कि भन्ने सोच्दासोच्दै त्यही घटना भएझैँ महसुस गरेका सिनेमाहरू पनि प्रसस्तै बनेका छन् । ला… अब मलाई यस्तो हुन्छ, त्यसपछि यस्तो हुन सक्छ भनेर सोच्दासोच्दै कसैले सोहीअनुरूपको नोट बनाई सुसाइट गरे के गर्ने ? कानुनलाई कसरी प्रयोग गर्ने ? यो घटनामा लासको खुट्टा ओछ्यानमा टेकिएको र शरीरमा नीलडामको कुरा आइरहेको छ, त्यसको वास्तविकता के हो ? भिडियो हेर्दा भावनात्मक पीडाले भन्दा पनि त्रासले रोएझैँ देखिन्छ । भिडियोमा आफूले चाहेको कुरा बोल्न लगाएर यदि कसैले उनको हत्या पो गऱ्यो कि ? नेपाल प्रहरीले आत्महत्या र हत्या दुवै पाटोबाट अनुसन्धान गरेन भने त्यो अधुरो हुन जान्छ ।

रवि लामिछानेले यो मुलुकमा त्यस्तो के काम गरे जसका कारण त्यत्तिका मानिस उनको समर्थनमा जम्मा भए ? यो प्रश्नलाई देश बनाउँछु भन्ने हरेक मानिसले मनन गर्नु जरुरी हुन्छ । रविलाई पक्राउ गरेको समाचार सार्वजनिक हुनासाथ घरघरमा टोलटोलमा रविको चर्चा शुरु भयो । चितवनमा मानिस जम्मा हुन थालेपछि काठमाडौंमा जुलुस हुँदैन ? भनेर धेरैले एक–अर्कालाई सोधे । पत्रकारितासँग सम्बद्ध मानिसहरू रविका फ्यान कमै छन् । उनले टेलिभिजनमा चिच्याइचिच्याई बोल्ने शैली उनको कार्यक्रम हेरिहालुँ न त भन्ने खालको छैन । मानिसलाई उनले सोध्ने प्रश्नहरू प्रहरीले अपराधीलाई केरकार पारेजस्ता लाग्छन, जुन पत्रकारिताको इथिक्सभित्र पर्दैन । फिल्मी स्टाइलमा मानिसलाई सीधै कुटुँ–मारुँझैँ गरेर हप्काउने उनको शैली पत्रकारिताको मूल्यमान्यताभन्दा बाहिर छ । तर, त्यति गरेर उनले धेरैलाई न्याय दिलाएका छन्, जसले गर्दा उनी सर्वसाधारणबीच लोकप्रिय छन् । यसबाट मानिसलाई इथिक्स, व्यावसायिक मूल्य, मान्यताभन्दा न्याय चाहिएको छ भन्ने बुझ्न गाह्रो पर्दैन ।

आफ्नी छात्रालाई ब्ल्याकमेल गर्दै बलात्कार गर्ने शिक्षकलाई उनले घटनास्थलमा प्रहरी लगेर पक्राउ गरे । उनले त्यहाँ जे–जस्ता शब्दहरू प्रयोग गरे ती पत्रकारले गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्न आफ्नो ठाउँमा छ, तर उनले त्यति नगरेको भए एउटी पीडित युवतीले न्याय पाउने थिइनन् । प्रहरीलाई भन्न नसकेको कुरा उनले रविलाई भनिन्, न्याय पाइन् । प्रहरीलाई उनले किन भन्न सकिनन् ? किनभने प्रहरीलाई भन्दा न्याय पाउँछु भन्ने विश्वासै भएन । यदि विश्वास भएको भए उनी प्रहरीकहाँ नै जाने थिइन् ।

उनले वैदेशिक रोजगारमा अन्यायमा परेका धेरैलाई उद्धार गरे । भ्रष्टाचार गर्नेलाई कारबाहीमा पारे । यसरी रवि सर्वसाधारणको नजरमा प्रहरी, अख्तियार, न्यायालय बन्न पुगे । यसको अर्थ के हो भने जनता कसैको भाषण होइन ‘एक्सन’ चाहन्छन् । सैद्धान्तिक गफ होइन व्यवहारमा न्याय चाहन्छन् । राजनीतिक दल होस् या स्वतन्त्र समूह या व्यक्ति जनतालाई खासै मतलब छैन, भरोसायोग्य मानिस चाहिएको छ । जसले दुईवटा कुरा नगरोस्, जे बोल्छ त्यो व्यवहारमा पूरा गरोस् । केही घटनामा न्याय दिलाउँदा, भ्रष्टाचार र अपराधका विरुद्ध बोल्दा एउटा टेलिभिजन पत्रकारलाई त यति विश्वास गर्छन् भने यो देशको राज्य संरचनामा बसेर निष्पक्ष रूपमा सबैलाई समान व्यवहार गर्ने, इमानदारीपूर्वक देश बनाउने भिजन भएको ‘एक्सनओरिएन्टेट’ नेता पाए यो देशका जनताले के गर्थे होला ?

घटना र बिचारबाट साभार