विचार

महिलापीडक नै नेपाली महिलाका ‘रोलमोडल’ 

रेखा शर्मा

महिलापीडक नै नेपाली महिलाका ‘रोलमोडल’ 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रकरण यो बेला चर्चाको शिखरमा छ । यो प्रकरणले कतिपय राजनीतिका मुद्दाहरुलाई समेत ओझेलमा पारिदिएको छ । एक विषय सार्वजनिक भएर दूनियाँको ध्यान तानिरहँदा केही यस्ता प्रकरणले कुनै पक्ष पीडित पनि भइरहेको हुन्छ । जस्तो कि शालिकराम पुडासैनीले आफ्नो ज्यान आफैंले लिएपछि उनको भिडियोमा किटान गरिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउमा पर्नेहरुलाई त पीडा हुन्छ नै उनीहरुका परिवार पनि प्रभावित हुन्छन् । चर्चा भने सबैभन्दा बढी रवि लामिछानेकै छ । 

आफ्नो टेलिभिजन कार्यक्रमको बलमा रविले लाखौं प्रशंसक कमाए । उनका नाममा सडकमा नारा लगाउने पनि भए । उनको पक्षमा लेख्ने, बोल्ने र आन्दोलनसम्म गर्ने मानिसहरुको ठूलो समूह तयार छ । उनको पक्षमा कलाकारहरु उभिएका छन् । उनको पक्षमा पत्रकारहरु पनि छन् । सबैभन्दा बढी त सर्वसाधारण नै छन् । ‘सर्वसाधारण’ भन्ने शब्दले साधारण भन्ने बुझाउँछ तर ‘सर्वसाधारण’को समर्थन पछि विषय असाधारण बन्न पुग्छ । अहिले रविको प्रकरण तिनी सर्वसाधारणका कारण असाधारण बनेको हो । 

आजको दिनमा रवि लामिछानेका असंख्य फ्यान छन् । जसमा महिलाहरु बढी रहेको बताइन्छ । रविलाई महिलाहरुले रोल मोडल ठान्छन् । रविका ससाना विषय पनि ख्याल गरिरहेका हुन्छन् । उनको कार्यक्रम, फेसबुक लाइभ, स्टाटस आदिमा ध्यान दिनेहरु धेरै छन् । 

रविका समर्थकहरुमा महिला उल्लेख्य हुँदा हुँदै पनि उनी महिलाकै कारण बेला बेलामा विवादित बन्न पुग्छन् । आफ्नै पत्नी इशा लामिछानेको परपुरुषसँग सम्बन्ध रहेको विषय उनी आफैंले केही अगाडि सार्वजनिक गरेका थिए । त्यो कामले इशाको त बेइज्जत भयो भयो, दुई किशोरी छोरीहरुको मनमा पनि कस्तो आघात पर्यो होला ?

नेपाली समाजमा नारीलाई इज्जतको रुपमा हेर्ने गरिन्छ । छोरीको प्रतिष्ठा आमाको इज्जतसंग जोडिएको हुन्छ । झन विवाह गर्नेबेला त हाम्रो समाजमा त आमाबुवा र घर परिवारको बारेमा पनि बुझने चलन छ । रविले आफना किशोरी छोरीहरुको आमाको सार्वजनिक बेइज्जत गरे । आफना छोरीहरुको प्रतिष्ठाको पनि ख्याल गरेनन्  । रविले धेरै महिलाहरुको उद्दार गर्ने, उनीहरुको पक्षमा आवाज उठाइदिने काम गरेका छन् । तर उनले आफ्नै छोरीहरुलाई न्याय दिन सकेनन् । 

आजका दिनमा रविका पक्षमा लाखौ मानिसहरु देखिएका छन् । तर रविका दुई छोरीहरुले आफ्नो बाबुप्रति गौरववोध गर्न सकेका छन् भन्न सकिदैन । त्यसै पनि एक पत्नी हुँदाहुँदै अर्कीसँग सम्बन्ध बनाउँदा प्रथमलाई अन्याय गरेको ठहरिन्छ । त्यसमाथि रविले इशालाई छाड्नुअघि नै एक अमेरिकी गर्लफ्रेन्डबाट सन्तान नै जन्माएको, तिनै अमेरिकी महिलालाई पनि धोका दिएर अमेरिकामा एक नेपाली फिल्म अभिनेत्रीसँग लिभिङ टुगेदरमा बसेको  र तिनलाई पनि छाडेको विषयले रविबाट पीडित हुने महिलाहरुको लाइन बनेको छ । तर पनि नेपाली महिलाहरु रविलाई ‘रोलमोडल’ मान्छन् । यसअर्थमा रवि भाग्यमानी हुन् । 

धर्मशास्त्रमा पनि भनिएको छ कि जहाँ महिलाको सम्मान हुँदैन त्यहाँ भगवानको पनि बास हुँदैन । महिला–सम्मान र रवि लामिछाने सम्बन्धमा चित्त बुझाउने ठाउँ छैन । तर आज रवि लामिछाने लायक, अस्मितासँग प्रेम गर्ने शालिकराम नालायक, अपराधी, फटाहा भनेर परिभाषित हुनै लागेको अवस्था छ । 

रविबाट न विवाहित पत्नीले सुख पाए, न विवाह नगरी पत्नी बनाइएकाहरुले सुख पाए । उनले महिलाहरुलाई जीवनसाथी कहिल्यै बनाएनन् । उनले अमेरिकी शैलीको ‘गर्लफ्रेन्ड’ वा ‘वाइफ’ मात्रै बनाए । अमेरिकैमा पनि विवाहेतर सम्बन्ध ‘व्यभिचार’ नै मानिन्छ । अमेरिकीहरु श्रीमती वा प्रेमिका फेरिरहन्छन् तर एक पटकमा एकभन्दा बढीलाई ओगटेर राख्न हुँदैन भन्ने मान्यता राख्छन् । 

नेपाली समाजमा नारीलाई इज्जतका रुपमा हेरिन्छ । छोरकिो प्रतिष्ठा आमाको इज्जतसँग जोडिएको हुन्छ । झन विवाहवारी गर्ने बेलामा आमा, बाबु, घरपरिवारको बारेमा बुझ्ने चलन छ । किशोरले आफ्नो छोरीहरुको समेत सार्वजनिक बेइज्जती गरे । आफ्ना छोरीहरुको प्रतिष्ठाको पनि ख्याल गरेनन् । 

रविले त नेपाली र अमेरिकी दुवै समाजका मूल्यमान्यतालाई पर फालिदिए । उनको यो शैलीले महिला नै पीडित भए । तर उनी अहिले नेपालमा महिलाहरुकै आदर्श पुरुष हुन् । 

यस्तो कुरा गर्दा ‘पुरानो विषय’ भन्ने, रविलाई फसाउन खोज्ने भन्ने खालका प्रतिक्रिया उत्पन्न भइहाल्छ । त्यसमा केही छैन । विचार आफ्नो आफ्नो हुन्छ । म मेरो अभिव्यक्त गर्छु, अरुले अरुकै । 

अहिलेको प्रकरणमा अस्मिता कार्की पनि पीडित भइन् । शालिकरामबाट पनि पीडित भइन्, रवि लामिछानेको समूहबाट उनै पीडित भइन् । अस्मितालाई ‘जनतासँग सिधा कुरा’ कार्यक्रम कै स्टुडियोमा ल्याएर अन्तर्वार्ता गराउनु अघि प्रहरीले उनीहरुलाई पक्राउ गरेको समाचार बाहिरियाे ।  टेलिभिजनको स्टुडियोमा अस्मितालाई बोलाउनुको अर्थ शालिकरामलाई न्याय दिन, अस्मिताको प्रतिष्ठा जोगाउनका लागि थिएन । त्यो काम त उनीहरुले आफूहरु ‘पानीमाथिको ओभानु’ बन्नका लागि थियो । अर्थात अस्मितालाई पनि रविले ‘युज’ मात्रै गर्न खोजेको प्रष्ट छ ।

जहाँसम्म रविकी प्रथम पत्नी इशासँगको कुरा छ, उनले आफू सडकमा आउन लागेको विषय सार्वजनिक गरेकी छन् । रविले गरेको वाचा अनुसार पैसा नपठाएको, छोरीहरुको शिक्षामा खर्च नगरेको कुराहरु इशाले बताएकी छन् । रविले इशाको त प्रतिष्ठाको ख्याल गरेनन् गरेनन्, छोरीहरुको विषयमा पनि उनी गम्भीर भएनन् । छोरीहरुकै इज्जतको ख्याल नगर्ने रवि आम नेपाली दिदीबहिनीप्रति संवेदनशील छन् भन्न सकिदैन । 

नेपालमा नेताहरु मात्रै होइन, मानवअधिकारवादीहरु पनि ‘पब्लिक कन्जम्प्सन’ हेरेर काम गर्छन् । महिलाअधिकारवादी हुँ भन्नेहरुले यो विषयमा बोलेको खासै सुनेको छैन । 

–भरतपुर–१०, महाकालेश्वर टोल विकास संस्था, चितवन