विचार

इमानको कसीमा चौथो अंग

इमानको कसीमा चौथो अंग

राष्ट्रको चौथो अंगको रुपमा नेपालको संविधानमा उल्लेख भएको पत्रकारिता क्षेत्र समयको गति र तीव्रता सँगै यसका विश्वसनियता धुमिल हुदै गएको छ । राज्यले नै संविधानमा चौथो अंगको मान्यता दिएको पत्रकारितामा जनमानसमा विश्वास गुम्दै गएको परिवेशमा यसको विषयवस्तुमा गहन छलफल जरुरी छ । पत्रकारितामा विकृति हुनुको कारण खोजिनु आवश्यक रहेको छ । पत्रकारिता आफैमा संवेदनशील विषय हो  । पत्रकारिताका माध्यमबाट जनताले सूचना प्राप्त गर्दछ । देश र जनताको प्रतिबिम्व रहेको पत्रकारिता क्षेत्र दिनानुदिन यसरी जनताको नजरबाट गिर्नु पर्ने अवस्थाका सिर्जना कसरी भयो ? यसमा सम्वद्ध सवै पक्ष सचेत हुनु आवश्यक रहेको छ । 

पत्रकारिता र पत्रकारको आफनै आचारसंहिता रहेको छ । यसको गाम्भीर्य र महत्व विशेष रहेको  छ । तर यसको विविधता र पत्रकारको चेतना, दक्षता र योग्यताका कारण यो पेशा धुमिल हुँदै गइरहेको   छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पत्रकारिता पेशा आफनो इमान, आचारसंहितामा टेकेरे बढ्नुभन्दा पनि कमाउने धन्दामा लिप्त वन्दै गइरहेको छ । पत्रकारिता जस्तो संवेदनशील क्षेत्रको दुरुपयोग गरेर व्यक्ति केन्द्र्रित स्वार्थमा बग्नु आफैंमा दुर्भाग्यपूर्ण छ । पत्रकारिताको खोल ओडेर व्यक्तिको चरित्रहत्या होस वा मनोहत्याले यसको महत्व र विश्वासनीयतामाथि नै प्रश्न खडा गरिदिएको  छ । पत्रकारिता र पत्रकार समाज र देशप्रति पूर्ण रुपमा जवाफदेही हुनुपर्दछ भन्ने भावना विलीन हुँदो छ ।

समाज रुपान्तरणमा मुख्य भूमिका खेल्नुपर्ने पत्रकारिता जगत गन्हाएको सिनो भएको छ । यो प्रवृत्तिबाट कोही अछुतो रहन सकेको छैन । जनतालाई समाचारको माध्यमबाट सूचित गराउने मुख्य कडीको रुपमा रहेको पत्रकारिता विकाउ बनेको छ । कमाउने राम्रो माध्यम बनेको  छ । भष्ट्राचारको विरुद्धमा चल्नुपर्ने कलमहरु त्यसको प्रतिरक्षामा उभिएका छन् । 

पत्रकारिता र पत्रकारको आफनै धर्म र आचारसहिताको पालना नहुँदा यो चौताराको मादलजस्तै बनेको छ । पत्रकारिताको ऐन नियम र त्यसको गरिमामा रहेर पत्रकारिता गर्ने हो भने यसमा यति धेरै विकृति देखिने थिएन । तर देशका उच्च दर्जाका पत्रकारको रवैया हेर्ने हो भने पत्रकार भन्ने दुस्साहस कमैले गर्लान् । यति धेरै विकृति र विसंगतिका खाडल बनिदियो कि यसको महत्व कायम राख्न ठूलो चुनौती व्यहोर्नु पर्ने अवस्था छ । पत्रकारिता  नियमन गर्ने अनुगमन तथा अनुसन्धान गर्ने प्रेस काउन्सिल नेपालको आचारसंहितामा पत्रकारका काम कर्तव्य र अधिकारको विषयमा स्पष्ट उल्लेख भएपनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन । जसको परिणाम नेपाली समाजमा बग्रेल्ती देखिएको  छ । 

सत्य–तथ्य र सन्तुलित समाचार संकलन गर्नु पर्नेमा चर्चित हुन जे लेख्न पनि माहिर बनेका सञ्चारकर्मीद्वारा सम्प्रेषित समाचारले समाजमा झन्झन् आतंक, अराजकता र संशय उत्पन्न गराएको  छ । समाचारको गाम्भीर्यभन्दा कमाउ र चर्चित हुने लोभमा लेखिने समाचार र अनलाईन पोर्टलका कारण  आत्महत्या, मानसिक रोगी बन्न पुगेका छन् । पत्रकारको काम कर्तव्य र अधिकारभन्दा बाहिर गएर गरिने यो क्रियाकलापले हिंसा, आतंक र अपराधलाई प्रश्रय दिएको छ ।

आफैं कानुन र आफैं न्यायालय झैं गरेर पत्रकारिता पेशा अगाडि बढ्दा स्वतन्त्र न्यायालयको निर्णय नै धरापमा परेको छ । विषयवस्तुको सत्य र सही उठान गर्नुभन्दा यूट्युब उपभोक्ता बढाउने, समाजमा नै अराजक मच्चाउने हेतुले गरिएको पत्रकार र पत्रकारिताको यही रवैया कायम हुने हो भने यसले समाजमा आपसी द्वन्द्व , कलह र अराजकता शिवाय केही निम्त्याउँदैन ।    

३३ किलो सुन होस वा निर्मला हत्याकाण्ड, शालिकराम पुडासैनी काण्ड होस वा अन्य आपराधिक क्रियाकलापमा मिडियाको भूमिका को कारण नै अनुसन्धान फितलो बनेको यथार्थ नकार्न सकिन्न । यही मिडिया ट्रोलका कारण अनुसन्धान नै प्रभावित बनेर दोषी उम्कने सर्वसाधारण फस्ने घटना हाम्रो समाजमा बगे्रल्ती भेटिन्छन् । पीडितलाई नै थप पीडा दिने मनसायसाथ लेखिएका समाचार र भिडियोहरु  पत्रकारिता धर्म भित्र कदापी पर्दैन  ।

सूचना प्रेषित गर्दा कसैको चरित्रहत्या र मर्यादामा आँच आउने गतिविधिले समाज झन् झन् द्वेष, कलह र मानसिक तनावको बीचमा गुज्रिएको हुन्छ । पत्रकारिताका नाममा गरिने यो कुकर्म प्रेस काउन्सिल जस्ता स्वतन्त्र निकायबाट नियमन, अनुसन्धान र निगरानी नहुनु अर्को झन दुखद् कुरा हो । पत्रकारिता जस्तो संम्वेदनशील पेशामा समेत कुनै योग्यता, क्षमता र  इमान्दारीको कुनै पनि मापन नहुनुले पनि यस पेशाप्रति जनताको विश्वास दिन प्रतिदिन गुम्दै गइरहेको छ । 

सामाजिक सद्भाव कायम राख्न, राष्ट्रियता जोगाउन, देशको सार्वभौमसत्ताका रक्षाका लागि चल्नुपर्ने कलम व्यक्ति केन्द्रित स्वार्थमा पुगेर लिप्त हुनु भनेको जघन्य अपराध हो । पत्रकारिताका माध्यमबाट जनतालाई थर्काउने, धम्काउने, आर्थिक दलाली गर्नु जस्तो अर्को अपराध कुनै हुन सक्दैन । पत्रकारिताको आफ्नै मूल्य मान्यता र धर्म भएझैं देशको न्यायालय, कानुन, प्रशासनको पनि आफ्नै क्षेत्राधिकार, काम कर्तव्य रहेको हुन्छ, जुन उनीहरुले नै निर्वाह गर्नु पर्दछ । उनीहरुलाई आफनो काम कर्तव्यका लागि स्वतन्त्र छोड्नु पर्दछ । पत्रकारिताका नाममा मिडिया ट्रोल नै उत्पादन गरेर न्यायालय, प्रशासनलाई नै हस्तक्षेप गर्नु पत्रकारिताको आचारसंहिता र धर्मभित्र कदापी पर्दैन । 

पत्रकारितामा देखिएको विकृत्ति, विसंगति रोक्नका लागि सम्बन्धित निकाय नै चनाखो हुनु जरुरी  छ । पत्रकारिताको आचारसंहितामा टेकेर पत्रकारिता गरेमा जनताको नजरमा गिरेको साख उठाउन सकिन्छ होइन भने कानुन पनि मै, प्रशासन र न्यायालय पनि मै भन्ने हेतुले गरिएको पत्रकारिताले एकदिन आफंैलाई डुबाउँदैन भन्न सकिदैन । किनकी अराजक भीडको कुनै मूल्य मान्यता र स्वरुप हुँदैन ।

अनुसन्धानलाई नै प्रभावित गर्ने गरी गरिने पत्रकारिता क्षणिक हुन्छ । जुन पत्रकारिताको धर्म र मर्यादा भित्र कदापी पर्दैन । पत्रकारिताको दायराभित्र रहेर गरिने क्रियाकलापले नै यो क्षेत्रको गरिमा बढ्छ हैन भने समाज झन् अराजकतातर्फ उन्मुख हुनेमा कुनै शंका छैन । 

पत्रकारिता राष्ट्रको चौथो अंग