कभर स्टोरी

राजा वीरेन्द्रले खोलेको संस्थामा पूर्वमहारानी कोमलका ‘भाइ’को वक्रदृष्टि

राजा वीरेन्द्रले खोलेको संस्थामा पूर्वमहारानी कोमलका ‘भाइ’को वक्रदृष्टि

काठमाडौं । २२ रोपनी जमिन, राम्रो ठाउँमा कम्पाउण्डसहित भवनमा सबैको आँखा परेपछि विश्व हिन्दु महासंघमा किचलो उत्कर्षमा पुगेको छ । 
२२ रोपनी जमिन मध्ये २ रोपनी जमिन अपचलन भएको, सम्पत्तिको सदुपयोग नभएको, धार्मिक एजेन्डामा महासंघको हालको नेतृत्वको क्रियाशीलता कमजोर भएको जस्ता आरोप लगाउँदै महासंघसँग सम्बन्ध भएका र नभएकाहरु अहिले अनौपचारिक रुपमा आन्दोलित भएका छन् । 

पूर्वसहायक मन्त्री तथा पूर्वबडामहारानी कोमल शाहका भाइपर्ने निक्षे राणा नेतृत्वको समूहले विभिन्न माग राखेर महासंघका पदाधिकारीहरुलाई हिन्दुत्वको मुद्दा बलियो गरी अगाडि बढाउन दबाब दिएको छ । राजाको शासनकालमा नेपाली राजनीतिमा क्रियाशील राणा यसबीच बेलायतमा बसोबास गर्दै आएको चर्चा छ । झण्डै १२–१५ वर्षपछि राणा फेरि नेपाल आइपुगेका छन् । 

उनले हिन्दुत्वको मुद्दालाई नयाँ ढंगले सञ्चालन गर्न आफूले राम्रो टिम बनाउन लागेको निकटस्थहरुलाई बताउने गरेका छन् । जानकारहरुका अनुसार आफ्नै घरमा दैनिकजसो बैठक, सल्लाह आदि गरेर राणाले महासंघको वर्तमान नेतृत्वको विकल्प खोजिनु पर्ने धारणा राख्दै आएका छन् । 

विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरत केशर सिंहको एक वर्षअघि निधन भएको थियो । उपाध्यक्ष प्रमोद चिरौडिया अस्वस्थ भएर दिल्लीमा उपचार गराइरहेका छन् । उपाध्यक्ष अर्जुन बास्तोलाले भारतमा शंकराचार्यसँग पूर्वराजाले भेटेको अनौपचारिक तस्बीर सार्वजनिक गरेपछि कारबाहीमा परेर निकालिएका छन् । 

हाल बाँकी रहेका दुई उपाध्यक्ष मध्येका चक्रबन्धु अर्याल अख्तियारलाई अख्तियारले डामेको छ । पूर्वरक्षा सचिव अर्यालविरुद्ध करोडौं रुपैयाँ भ्रष्टाचार गरी कमाएको अभियोग सर्वोच्चमा छ । उनले आफ्नो कार्यकालमा आफ्नो र परिवारसहितले कमाएर जोगाएको सम्पत्ति रु. ६४,००,३३८/ ५८ थियो । 

तर अहिले उनीसँग निम्नानुसार सम्पत्ति रहेको अख्तियारको दावी छः 

–राजधानीको सहरी क्षेत्रमा ८० लाख रुपैयाँमा ३ वटा आधुनिक भवन निर्माण गरेका
–    काठमाडौंमा १५ रोपनी जग्गा खरिद गरेका ।
–    वैंकमा २० वटा खाता खोलेका ।
–    प्राइभेट अस्पताल र डनबस्को कलेज लगायतमा ४३ लाख रकमको शेयर लगानी गरेका ।
–    सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा अधुरो विवरण पेश गरेका ।
–    पत्नी र आफ्नो खाताबाट ३४ लाख रकम झिकेर लुकाएका ।
–    नाता सम्बन्ध नभएका व्यक्तिबाट काठमाडौंमा आफ्नो पत्नीको नाममा ६ रोपनी बढी जग्गा वकसपत्रबाट प्राप्त गरेको देखाएका ।
–    पुर्खौली सम्पत्तीको जिकिर लिएतापनि २०२२ साल देखि २०३५ साल सम्मको नोकरी अवधिमा कुनै घर जग्गामा लगानी गर्न नसकेबाट पनि पुर्खौली सम्पत्तिको प्रयोग भएको देखिँदैन ।
–    स्रोत नखुलेको सम्पत्ति २ करोड ६० लाख बढी मूल्यको सम्पत्ति प्रतिवादीले गैरकानूनी रुपले जोडेका । 

 

भ्रष्टाचारको अभियोग लागेपछि सरकारी, अर्धसरकारी र निजी संस्थाहरुमा समेत अभियोग किनारा नलागेसम्म जागिर खान पाइँदैन । तर ‘धर्म रक्षा’को नाममा खुलेको भनिएको विश्व हिन्दु महासंघमा  भ्रष्टाचारको आरोपीलाई उपाध्यक्ष जस्तो पदमा राख्न मिल्छ ? भन्ने प्रश्नमा चक्रबन्धु अर्याल भन्छन्, ‘मिल्छ, महासंघको विधानले रोक्दैन ।’

महासंघमा अन्य दुई उपाध्यक्षमा एक हुन भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अर्का छन् पूर्वमन्त्री दिनबन्धु अर्याल । 

महासंघ बन्द 
 

विश्व हिन्दु महासंघ २०३१ सालमा राजा वीरेन्द्रले स्थापना गरेका थिए । यसका अन्तर्राष्ट्रिय शाखाहरु पनि छन् । अन्तर्राष्ट्रिय संस्था भएकोले यो संस्थामा अरु देशमा रहेका हिन्दुहरु पनि सदस्य र पदाधिकारी हुन पाउँछन् तर अध्यक्ष नेपालबाटै हुनुपर्छ । ठूलो विरासत बोकेको संस्थामा अहिले शीर्ष पदहरु केही रिक्त र केही विवादास्पद, केही कारबाहीमा त केही बिरामी भएपछि संस्थाभन्दा बाहिरी मानिसहरुलेको ध्यान महासंघमा आकर्षित भएको छ । 

केही दिन अघि पूर्वमहारानीका भाइपर्ने निक्ष राणाले महासंघ कब्जा गर्न खोजेको समाचार बाहिरिएको थियो । तर महासंघका महासचिव अस्मिता भण्डारीले कब्जा गर्न खोजेको खबर सत्य नभएको बताइन् । उनले भनिन्, ‘ठूलो संस्थामा विभिन्न माग राखिनु स्वभाविक हो । हामी विधानसम्मत, मिल्नेसम्म सबैका माग पूरा गर्छौैं । हिन्दुत्वको मुद्दामा मिलेर अघि बढ्छौं ।’

तर केही दिन यता महासंघ बन्द छ । महासंघ बन्द भएको साँचो नभएको उपाध्यक्ष चक्रबन्धु अर्याल बताउँछन् । उनले कृष्णजन्माष्टमीमा सधै बन्द हुने भएकोले बन्दगरिएको उनले जानकारी दिए । तर स्रोतले कृष्णजन्माष्टमीअघि लगातार तीन दिन महासंघ बन्द गरिएको दावी गरेको छ । 

महासंघको नाममा भएको जमिन वर्तमान नेतृत्वले हिनामिना गरेको पनि सत्य नभएको अर्याल बताउँछन् । उनले भने, ‘महासंघले भक्तपुरको बालुवा भन्ने ठाउँमा किनेको ३ रोपनी तीन आना जमिन भूमाफियाले बेपत्ता पारेका छन् । काठमाडौंमा भएको २२ रोपनी जमिन पनि सेनाको हो । त्यसमा गायत्री परिवार भन्ने पनि प्रवेश गरेको छ । महासंघकै नाममा जमिन छैन । हुँदै नभएको जमिन हिनामिना गर्ने कुरै भएन । 

विश्व हिन्दु महासंघको कचिंगलमा निरन्तर जोडिएका निक्षे राणासँग पटक पटक सम्पर्क गर्न खोजिए पनि उनले फोन उठाएनन् ।