फोटो

कस्तो रह्यो कृष्ण जन्माष्टमीमा पाटन (फोटो फिचर)

कस्तो रह्यो कृष्ण जन्माष्टमीमा पाटन (फोटो फिचर)


ललितपुर । कृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार देशभरका कृष्ण मन्दिरमा दर्शनार्थीको घुईँचो लाग्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पाटनस्थित कृष्ण मन्दिर पुगेर पूजा अर्चना गरिन्, प्रसाद ग्रहण गरिन् ।  

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

कृष्ण मन्दिरमा मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनका लागि मङ्गल टोल सुधार सङ्घले करीब ६०० सदस्य, ज्यापू समाजले पिउनेपानी र विभिन्न सङ्घसंस्थाले स्वयंसेवक खटाएका थिए । यसैगरी नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबले भक्तजनलाई दर्शनमा सहज बनाउने काम गरे । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । श्रीकृष्ण भगवानको दर्शनका लागि विहीबार रातदेखि नै पाटनस्थित कृष्ण मन्दिरमा घुईँचो लाग्यो । 

-तस्वीरहरु – चन्द्र राई