अन्तरवार्ता भिडियो

ओली र प्रचण्डबीच सुमधुर सम्बन्ध, माधवले पार्टी निर्णय मान्ने   (भिडियोसहित) 

ओली र प्रचण्डबीच सुमधुर सम्बन्ध, माधवले पार्टी निर्णय मान्ने   (भिडियोसहित) 

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको सम्पूर्ण जिम्मेवारी आफ्नो पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुम्पेर उपचारका लागि सिंगापुर पुगेका छन् । ओली सिंगापुर जानुअघि बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले पार्टीका बैठक बोलाउने जिम्मेवारी समेत दाहाललाई प्रदान गरेको छ । 

नेकपाकी सांसद नविना लामा भन्छिन्, ‘ पार्टीमा दुई अध्यक्षबीच सम्बन्ध कति घनिभूत र विश्वसनीय छ भन्ने यो उदाहरण हो । उहाँहरुबीच उच्चस्तरको समझदारी छ । मेरो दुवै अध्यक्षसंग नजिकको सम्बन्ध भएका हिसाबले पनि उहाँहरु देश र पार्टीका लागि कति इमान्दार र दत्तचित्त हुनुहुन्छ भन्ने बुझन सक्छु । अहिले उहाँहरुबीच चरम अविश्वास छ भनेर कुप्रचार गर्न खोजिएको छ । अझ केही सञ्चार माध्यम त खुलेर नेकपाविरुद्ध खनिएका छन् । कसैले जथाभावी लेख्दैमा नेकपा कमजोर हुने होइन, दुई अध्यक्षले पार्टीलाई अझै बलियो बनाउनु हुन्छ, देशलाई पनि समृद्धिको मार्गमा लैजानु हुन्छ ।’

कार्यविभाजन स्वागतयोग्य 

नेतृ लामाका अनुसार जसरी पार्टीमा कार्यविभाजन भएको छ, यो निकै स्वागतयोग्य छ । निकै सुझबुझ ढंगले केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको छ । नेता बामदेव गौतमको उच्च सम्मान भएको छ । गौतमले आफनो क्षमता अनुसारको जिम्मेवारी पाउनु भएको छ, उहाँले पनि कार्यकर्तामाथि न्याय गर्दै काम गर्नुहुनेछ भन्ने विश्वास छ । 

हिजोको दिनमा वरिष्ठ नेता झलनाथ खनालमाथि अन्याय भएको थियो । नेता खनाल माधव नेपाल भन्दा सिनियर नै हुन् । त्यो बेला भएको त्रुटी अहिले अध्यक्ष ओली र दाहालले सच्याउनु भएको छ । कमजोरी सच्याएर अघि बढ्नु भनेको राम्रो कुरा हो, यसले तल्लो तहका कार्यकर्तालाई पनि हौसला दिन्छ ।

जहाँसम्म माधव नेपालको सन्दर्भ छ, उहाँले पार्टी निर्णय स्वीकार गरेर जानु नै उत्तम हुन्छ । पार्टीको नीतिगत निर्णय मान्नु सबैको कर्तव्य हो । पार्टीमा हुने सामान्य उतारचढावलाई कसैले पनि ठूलो मुद्दा बनाउनु हुँदैन । नेता नेपाल पनि पार्टीको वरिष्ठ नेता भएकाले पार्टी भित्रका समस्या समाधान गर्न उहाँको पनि भूमिका रहन्छ । 

एकीकरण प्रक्रिया अन्तर्गत जहाँसम्म निर्णय भएको छ, सबै सन्तुलित छ । कार्यकर्ताको उचित मूल्याङ्कन भएको छ । कसैको कुनै गुनासो भए त्यसलाई कुराकानी गरेर हल गर्न सकिन्छ । थुप्रै नेता कार्यकर्ताले अझै जिम्मेवारी पाएका छैनन् । थुप्रै निकायमा नेतृत्वको जिम्मेवारी टुंग्याउन बाँकी छ ।  साथीहरुले रिक्त स्थानमा अवश्य ठाउँ पाउनेछन् । 

केन्द्रीय सदस्यको चाहना 

सांसद लामाले पार्टीमा आफूले ठूलो महत्वाकांक्षा नराखेपनि केन्द्रीय सदस्य हुन पाए खुशी लाग्ने बताइन् । आफूले विद्यार्थी राजनीतिमा खेलेको भूमिका र हाल सांसद भएर गरिरहेको कामले समाजमा राम्रै प्रभाव पारेको उनको दावी छ । 

कुनै लाभको पद भन्दा पनि पार्टीले जे जिम्मेवार दिन्छ, त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नु आफ्नो दायित्व हुने उनी बताउँछिन् । 

सञ्चारमाध्यमको आलोचना 

सरकारको जथाभावी आलोचना गर्नेहरुप्रति भने नेतृ लामा खुशी छैनन् । उनी भन्छिन्, ‘देश बनाउने जिम्मा सबैको हो । यो प्रधानमन्त्री र नेकपा भन्ने पार्टीको मात्र जिम्मा होइन । राम्रो कामलाई पनि नराम्रो भनेर कुप्रचार गर्ने संस्कृति अन्त्य हुनु पर्यो । अहिले विपक्षी कांग्रेससहित केही दलका नेताहरु अनावश्यक कुरा उछालेर सरकारविरुद्ध लागेको देखिन्छ । यसले कसैलाई फाइदा गर्दैन । प्रधानमन्त्री र नेकपा पार्टी मिलेर अघि बढ्न चाहन्छ, यसमा सबैले साथ दिनु नै बुद्धिमानी हो ।’

विप्लवलाई स्वागत 

जहाँसम्म नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र पूर्वराजाका कारण राज्य प्रणाली असुरक्षित भयो कि भन्ने चिन्ता छ, त्यो पनि बेकार हो । अहिले विप्लवका अधिकांश कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । उनीहरु शक्तिहीन भइसकेका छन् । उनीहरुबाट खतरा होइन बरु विप्लवलाई पनि नेकपामा विशेष भूमिका दिएर ल्याउनुपर्छ । यसले नेकपा झन बलियो हुन्छ । 

राजसंस्था फर्काउने कुरा पनि अफवाह मात्र हो । केही पूर्वपञ्चहरुले गरेको हल्लाले राजसंस्था फर्किदैन । यस्ता अफवाहको पछाडि लाग्नुभन्दा बरु सरकारले आफूले जनतासामु गरेका कबुल पूरा गर्ने दिशामा लाग्नुपर्छ । 

तीन महिना ‘भ्वाइस रेष्ट’

चर्चित नेतृ नविनामा घाँटीको समस्या बल्झिएको छ । करिब ८ वर्षअघि कञ्चनपुरमा स्ववियूको कार्यक्रममा भाषण गर्दैगर्दा भासिएको स्वर अहिले पनि उकासिएको छैन । चिकित्सकका अनुसार उनको घाँटीको ‘भोकल कर्ड’ च्यातिएको छ । उनलाई चिकित्सकले कम्तिमा तीन महिना नबोल्न सुझाव दिएका छन् । 

चिकित्सकले जे सुझाव दिएपनि नविनाको बोल्ने क्रम घट्नुको सट्टा झन बढेको छ । दैनिक हुने कार्यक्रम, नेता कार्यकर्तासंगको भेटवार्ता, विभिन्न सार्वजनिक कार्यक्रममा हुने सहभागिता, अन्तर्वार्ता, फोन कुराकानी लगायतले उनको बोल्नुपर्ने बाध्यता छ । 

नविना भन्छिन्, ‘अब भने म बोल्दिन । स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन्छु । बोल्दै नबोल्ने त होइन तर कम बोल्छु । पिरो, अमिलो, चिल्लो खायो कि स्वर बसिहाल्छ । बोल्नै सक्दिन । अब भने म सचेत छु । ’