स्वास्थ्य

प्रचण्डपत्नी सीतालाई लागेको Progressive Supranuclear Palsy (PSP) कति जटिल छ, पढौं 

प्रचण्डपत्नी सीतालाई लागेको Progressive Supranuclear Palsy (PSP)  कति जटिल छ, पढौं 

काठमाडौं । प्रचण्डपत्नी सीता दाहाललाई लागेको  प्रोगेसिभ सुप्रन्यक्लियर पाल्सी भन्ने रोगलाई स्टील – रिचर्डसन– ओल्जेस्की सिन्ड्रोम पनि भन्ने गरिन्छ । सामान्यतः यो रोग ६०–७० वर्ष उमेर समूहका मानिसहरुमा लाग्छ । यो रोग पत्ता नलाग्दा कतिपयलाई चिकित्सिकहरुले समेत पार्किन्सन्स, अल्जाइमर्स भनेर उपचार गर्छन्। 

मस्तिष्कमा रहेको टाउ प्रोटिन क्रमशः मर्दै जाने समस्याका कारण यो रोग उत्पन्न हुन्छ । पिएसपीको हालसम्म कुनै औषधि उपलब्ध छैन । लेभेडोपा, अमान्टाडिन जस्ता औषधिहरु त छन्, तर यी औषधि सबैका लागि काम गर्दैनन् । प्रति १ लाख मानिसमध्ये ६ जना जतिमा पिएसपीको समस्या देखा पर्ने गर्छ । महिलाभन्दा यो रोग पुरुषमा बढी देखिन्छ । 

यो रोग कुनै जाती, स्थान र पेशा विशेषमा बढी देखा परेको भन्ने छैन । जसलाई पनि हुन सक्छ । 

यो रोग लागेका मानिसहरु मध्ये दुई तिहाईभन्दा बढीमा प्रारम्भिक लक्षणमा आफ्नो शरिर सन्तुलनमा राख्न नसक्ने, अगाडि हुत्तिने, लड्ने, हिँडाईमा समस्या हुने, दृष्टिमा समस्या हुन्छ । यो रोगलाई चार चरणमा वर्गीकरण गरिएको छ । ती चार चरणका लक्षण निम्नानुसार छन्ः 

पहिलो चरण
– लरखराउने
–बेलाबखत लड्नु
–शरिर सन्तुलनमा राख्न नसक्नु 
–पढ्न समस्या हुनु 
– आवाज कम आउनु, आवाज परिवर्तन हुनु 
–समाज, परिवारसँग घुलमिल हुन नसक्नु 
–उदासिन हुनु 
यो चरण बढीमा एक वर्षको हुन्छ । 

 दोस्रो चरण 
– कुनै मानिस वा वस्तुको सहयोगमा मात्रै हिँडडुल गर्न सक्नु 
–लडेर चोटपटक लाग्ने सम्भावना अधिक हुनु 
–खाने, बस्ने, हिँड्न समस्या हुनु 
–आँखा यताउता हेर्न नसक्नु 
–आवाज अस्पष्ट हुनु 
– जोखिमयुक्त शारीरिक व्यवहार हुनु 
–उदासिनता 
 –खाना निल्न समस्या 
– उच्चस्तरको रेखदेखको आवश्यकता हुनु
– समाजसँग घुलमिल हुन कम हुँदै जानु
यो अवधि तीन देखि छ वर्षको हुन्छ । 

तेस्रो चरण 
–हिँडडुल गर्न कठिनाई, ह्विल चेयरको आवश्यकता हुनु 
–दृष्टिमा धेरै समस्या 
–मांसपेशी कडा हुनु 
–वार्तालापमा धेरै समस्या हुनु, बोल्न पनि गाह्रो र बुझ्न पनि गाह्रो हुनु
– न्युमोनियाको सम्भावना उच्च हुनु, खाना निल्न नसक्नु 
–निद्रा नलाग्नु 
–हरेक कामका लागि अरुको सहयोग चाहिने हुनु 
यो चरण तीनदेखि ६ वर्षको हुन्छ । 

चौथो चरण 
– अधिकांश काममा दुर्बलता, असक्षमता 
– हरेक स्वास्थ्य स्थितिमा क्षय हुनु 
– विशेषगरी न्युमोनिया ठीक नहुनु 
यो चरण छ देखि ८ हप्ताको मात्रै हुन्छ । 

कुनै पनि रोग वा समस्याले मानिस कति वर्ष बाँच्छ भन्ने निश्चित गर्न कसैले पनि गर्न सक्दैन । चिकित्सकहरुले पनि आफूले थाहा पाएको ज्ञान र अनुभवका आधारमा भन्ने हुन् । औसतमा यो ६३ वर्षको उमेरमा लाग्छ र विश्वभर यो रोगबाट पीडित मानिसहरुलाई औसतमा सात वर्षमात्रै बचाउन सकिएको छ । यद्यपि १२ वर्षसम्म बाँच्ने सम्भावना पनि हुन्छ । 
 

यो रोगको पहिलो पहिचान सन् १९६३ मा जोन स्टिल, जोन रिचर्डसन र जेर्जी ओल्स्जेस्की नामका तीन न्युरोलोजिस्टले गरेका थिए ।
 

स्रोतः द नेचर जर्नल, विकिपिडिया, ब्रेन सपोर्ट नेटवर्क