विदेश

दुईपल्ट बेचिएको आइफेल टावर

दुईपल्ट बेचिएको आइफेल टावर

सामान्य चीजवस्तु चोरिने घट्ना हाम्रा लागि सामान्य लाग्छन् । तर विश्वकै दुर्लभ र ऐतिहासिक वस्तु किनवेच प्रसंग  धेरैका लागि आश्चर्यजनक हुनसक्छ । त्यस्तै एउटा घटना पेरिस विश्वविद्यालयको सबैभन्दा सुन्दर शहरमा घट्यो । पेरिस पुग्ने कोही पनि पर्यटकले पेरिस शहरको मध्यभागमा ठडिएको एफिल टावरको सम्मोहन पान नगरी रहन सक्दैन् ।

यस टावरको निर्माता एक व्यावसायिक इन्जिनीयर अलक्सान्द्र गुस्ताफ एफिल हुन् , जसलाई स्टील वास्तुकलामा विशेष मोह थियो । ९८४ फिट अग्लो र ७३ सय टन स्टील स्पातले बनेको यो टावर पुरै फ्रान्सेली धर्ती र जनताका लागि राष्ट्रिय धरोहर मात्र नभई गौरवको प्रतिमूर्ति हो । यस्तो ऐतिहासिक र दुर्लभ बस्तु पनि बेच्न सकिन्छ भन्ने कुरा ठगीका निम्ति विश्व विख्यात जोडी विक्टर लुस्तिग र रोबर्ट आर्थर टर्विलोले प्रमाणित गरेर देखाएका छन् ।

सन् १९२५ मा अर्का ठग फर्गुसनले नेल्सनकालम, बर्किंघम प्यालेस र विगवेनटावर बेच्न सफलता पाएका थिए । त्यही वर्ष ती जोडीको आँखा आइफेल टावरमा ठोक्किन पुग्यो । एकदिन भिक्टर लुस्तिग जो चेकोस्लोभाकियामा जन्मेका थिए, उनको मनमा कुनै कम अनुभवी र लालची व्यक्तिसंग ठूलो धनराशि ठग्ने विचार आयो । उनले ठग्ने काममा धेरै नाम कमाइसकेका थिए । उसले जीवनको शुरुवातीमै सानातिना अपराध गर्न थालिसकेको थियो । भिक्टर मानिसको स्वभाव बुझ्न र भित्री कुरा थुत्न माहिर थियो । 

उभित्र चलाखी, धुत्र्याइँ र बुद्धि सबै प्रकारका गुण थिए । एकदिन भिक्टर आफ्नो बानीअनुसार  पत्रिकाका पाना पालैपालो पल्टाइरहेको थियो । अचानक उसको आँखा एउटा रिपोर्टमाथि पुग्यो । जसमा आइफेल टावरको निर्माण भएको समयका साथसाथै कमजोर हुँदै गएको र त्यसको जीर्णोद्धार गर्न जरुरी भएको सम्बन्धमा के गर्ने भन्ने कुरा विशेषज्ञहरुबीच छलफल भइरहेको लेखिएको थियो । त्यो रिर्पोर्ट पढेपछि लुस्तिगको अनुहारमा अर्कै किसिमको मुस्कान छायो । उसले तत्काल एउटा योजना फुरायो । 

उसको साथी टर्विलो पनि त्यहीँ आइपुग्यो । टर्विलो फ्रेन्च नै थियो । ऊ ठगी र चतुर्याईंमा प्रसिद्ध भइसकेको थियो । अनि त्यस्तै अपराधमा उसलाई चार वर्ष जेलको हावा पनि खानु परेको थियो । आफ्नै पेशाभित्र भएको हुनाले लुस्तिगले आफ्नो योजनाका विषयमा के गर्ने भनेर बेलिविस्तार लगायो । अनि निष्कर्ष निस्कियो । जसअनुसार लुस्तिग एकाउन्टेन्ट बन्छ । जसमार्फत उसले डाक मन्त्रालयले छापेर तयार गरेको लेटरहेड प्राप्त गर्नेछ ।  जुन मन्त्रालयले आइफेल टावरको सारा प्रबन्ध आफ्नो हातमा लिएको हुन्छ ।

लेटरहेड प्राप्त गरेपछि लुस्तिग योजनाअनुसार एक वरिष्ठ अधिकारीको भूमिका निर्वाह गर्छ । जसलाई फ्रान्स सरकारले आइफेल टावर विक्री गर्ने काम सुम्पेको हुन्छ । त्यसपछि उनले पेरिसका पाँच ठूला स्टील व्यापारीलाई चुन्ने छन् । तिनीहरुलाई उसले आफ्नो कार्यालयमा बोलाएर आइफेल टावर बेच्ने सरकारको निर्णय सुनाउने छ । त्यसपछि व्यापारीहरुले आआफ्नो तर्फबाट टेण्डर भर्ने छन् । लुस्तिगले यी सबै काम गोप्य ढंगबाट गर्ने योजनाअनुसार व्यापारीलाई आफ्नो बचनमा विश्वास दिलाउँछ । योजना मुताविक टर्विलोलाई मन्त्रालयको सचिव बनाइन्छ । जसले ती पाँच व्यापारीलाई एक विशाल घरको प्रबन्ध गरेर लुस्गिसंग भेट्न त्यहाँ ल्याउने छन् । यो भेटघाटले उनीहरुको मन जित्ने विश्वास गरिएको हुन्छ । 

फ्रान्सका पाँचवटै स्टील व्यापारीहरुको घरमा डाँक मन्त्रालयको लेटरहेडमा निमन्त्रणा पुग्छ । जसमा एउटा अत्यन्त महत्वपूर्ण विषयमा वार्ताका लागि निजी रुपमा भेटन अनुरोध गरिएको थियो । निमन्त्रणा मानेर व्यापारी आउँछन् । प्राप्त आतिथ्यबाट व्यापारी मन्त्रमुग्ध हुन्छन् । व्यापारीहरुलाई लाग्छ– ७३ हजार टन स्टील बेच्न पाए त थुप्रै फाइदा हुनेछ । जब व्यापारीहरु छलफल पछि फर्कन्छन, तब लुस्तिग र टर्विलो आपसमा कुरा गरेर उनीहरुलाई बेबकूफ लागेको पाँचमध्येको  एक व्यापारी आन्द्रे पायसनलाई ठग्ने योजना बनाउँछन् । उनीहरुमा चाँडै धेरै पैसा कमाउने भूतसवार हुन्छ । अन्ततः व्यापारीले भरेको टेण्डर लुस्तिगको हातमा पुग्छ ।

आन्द्रे पायसनलाई लुस्तिगले कार्यालयमा बोलाएर उसको टेण्डर सबैभन्दा उत्कृष्ट भएको सुनाउँछ । उसले व्यापारीसंग एउटा प्रस्ताव तत्काल राख्दै भन्छ– ‘योजना तत्काल अघि बढाउन केही बाधा रहेको र त्यो फुकाउन केही रकम तत्काल चाहिन्छ ।’ पायसनलाई यो कुनै ठूलो विषय थिएन, उसले तत्काल पैसा दिन्छ । रकम पाएपछि लुस्तिग र टर्विलो तत्काल फरार हुन्छन् । उनीहरुले पायसनलाई अब उप्रान्त आइफेल टावर उसको भएको र जतिबेला पनि भत्काउन सक्ने आश्वासन दिएका हुन्छन् । उनीहरु बेपत्ता भएपछि आफू ठगीमा परेको पायसनलाई महशूस हुन्छ । तर आफ्नो बेबकुफीले आफैं उल्लू हुने भयले यो रहस्य आफैंमा दबाएर राख्छन् । अझ आश्चर्य त के छ भने पायसन मौन रहेको मौका छोपी उनीहरुले अर्को व्यापारीले दोस्रो पटक पनि टावर बेच्न सफल हुन्छन् ।  
 

आइफेल टावर भिक्टर