विचार

कालो सोमबारको त्रास  

कालो सोमबारको त्रास  

पत्रकारिताका मुखियाहरु आफ्ना चेला चपाटीहरुलाई पढाउँदा भन्ने गर्छन– ‘पत्रकारिता हतारको साहित्य हो ।’ कुन त्यस्तो लेखकीय लक्ष्मणरेखाले पत्रकारिता र सिर्जनात्मक लेखनको दूरी तय हुन्छ , त्यसको स्पष्ट व्याख्या छैन । नेपाली पत्रकारिताको पछिल्लो छिमलका युवाहरुमा दुवै डुंगामा खुट्टा हालेर नदी पार गर्ने हिम्मत पलाएको देखिन्छ । उनीहरु जागिर धानेर एकाध वटा कृति लेख्न पनि सफल दरिएका छन् । एकदिन त्यस्तो घडी आउने छ , उनीहरुले दुई मध्ये एक परिचय त्याग्नुपर्ने छ । यद्यपि अखबारका पानामा उनीहरु व्यंग्य विनोदी समाचारमा रमेको पाइएको छ । जो खरो राजनीतिक समाचार र टिप्पणी लेख्नेहरु छन् , उनीहरु साहित्यिक कर्ममा अनुपस्थितजस्तै देखिन्छन् ।

यसै मेसोमा लेखक बन्ने सपना पालेका एक अमेरिकी युवाले पत्रकारिता गर्दा भोगेको अन्तरकथा यहाँ प्रस्तुत छ ।  जुन भोगाई नेपालका समकालिन लेखक र पत्रकारले भोगेको भन्दा कम मर्मस्पर्शी छैन । शुरुमा पत्रकारिता गरेका अस्काइन काल्डवेल कालान्तरमा नामी लेखक भए । उनको जन्म सन् १९०३ मा अमेरिकामा भएको थियो । अमेरिकाको साहित्यिक फाँटमा काल्डवेलको नाम उच्च कोटिको लेखकको दर्जामा पर्छ ।  लेखक हुनु पूर्व उनी पत्रकार थिए । उनले आफ्ना कृतिहरुमा दक्षिण अमेरिकामा रहेका नीग्रो समुदायका कारुणिक चित्र जीवन्त शैलीमा उतारेका छन् । १९३२ मा प्रकाशित उनको ‘टोबेको रोड’ उपन्यास लाखौं प्रति विक्री भएको थियो । अर्काइनका लगभग चालीस पुस्तक प्रकाशित छन । लेखक हुनु पूर्व पत्रकारिता गरेका उनी आफूले पत्रकारितामा भोगेका अनुभव यसरी पोख्छन् । 

सन् १९२५ को बसन्त ऋतुदेखि मैले लेख्ने कामको थालनी गरें । त्यसबेला म २१ वर्षको थिएँ । पत्रकारितालाई व्यवसाय बनाउनेतर्फ मैले कहिल्यै सोचिन । यसैकारण लेख्ने कामलाई निरन्तरता दिने संकल्प गरें । म कामको खोजीमा एटलान्टिक जर्नलका सम्पादकलाई भेट्न गएँ । उनले मलाई हप्ताको २० डलर पारिश्रमिक दिने गरी रिपोर्टरमा नियुक्ति दिए । यसका निम्ति मैले उनलाई धन्यवाद दिंदै २,४ दिनपछि काम शुरु गर्ने बचन दिएँ । मेरो बचन अन्त्य नहुँदै हन्टरले प्रश्न गरे– ‘३,४ दिनपछि किन ?’ मैले भनें– ‘कितावलगायतका अन्य मालसामान लिन सार्लटसविल जानु छ ।’ कितावको नाम सुन्नेवित्तिक्कै हन्टर एक्कासी जंगिदै भन्न थाले– ‘तिमी अखबारको सट्टा कितावको सौखी छौ भन्ने अगाडि नै मैले थाहा पाएको भए म तिमीलाई कुनै हालतमा राख्ने थिइँन । मलाई दक्ष रिपोर्टर चाहिएको छ । कितावको किरो होइन । बुझ्यौ ?’

‘ठीक छ । म आजैदेखि काम शुरु गर्छु ।’ मेरो फैसला सुन्नेवित्तिक्कै हन्टरले फिस्स मुस्कुराउँदै भने– ‘धेरै राम्रो ! अब तिमी एउटा टाइपराइटरको प्रबन्ध गर । दिनभरि शहरमा घुमेर रोचक समाचार बनाउने कामको अभिभारा पनि तिमीले लिनुपर्छ ।’ यसप्रकारको पत्रकारिताबाट मैले धेरै कुराको ज्ञान आर्जन गरें । सबभन्दा पहिले त मैले मेरो लेखाइलाई पत्रिकाको सरल भाषामा मोड्नु थियो । म समाचार बनाएर सहायक सम्पादकलाई दिन्थें । हातमा कलम लिएका सम्पादकले मैले तयार गरेको समाचारलाई काँटछाँट गर्थे । तीन, चारसय शब्दको समाचार अन्तिममा आएर दश पंक्तिमा सीमित हुन्थ्यो । सम्पादक बारम्बार मैले राम्रो समाचार बनाउन नसकेको भनेर टोकिरहन्थे । यो एकप्रकारको शिक्षा नै थियो, जसले मेरो जीवनको उत्तराद्र्धमा ठूलो सहयोग पुर्यायो । 

एकदिन सम्पादकले समाचार संकलनका लागि फाइभ प्वाइन्टस् स्थानमा पठाए । त्यहाँ एक व्यक्तिको रहस्यमय मृत्यु भएको थियो । उक्त रहस्यमय मृत्युबारे खोज अनुसन्धान गरी मैले रिर्पोट तयार गर्नु थियो । म घटनास्थल पुग्दा प्रहरीको बाक्लो उपस्थिति थियो । प्रहरीबाट घट्नाबारे कुनै जानकारी प्राप्त भएन । मृतकको नाम मात्र पत्ता लाग्यो । प्रहरी भन्दै थिए– ‘त्यो पनि सक्कली नाम हो, होइन शंकै छ ।’ आत्महत्या या हत्या भन्ने विषयमा उठेको विवादले उग्र रुप लिएको थियो । तर निक्र्योल कसैले निकाल्न सकेको थिएन । घटनाको जानकारी लिने उद्देश्यले मैले होटल मेनेजरसंग जिज्ञासा राखें । उसले भन्यो– ‘कालो सोमबार यहाँ यसरी नै आत्महत्या हुने गर्छ ।’ 

‘कालो सोमबारको अर्थ के हो ?’ मेरो जिज्ञासाको जवाफमा मेनेजरको उत्तर थियो–‘यहाँका मजदुरहरु आफ्नो सप्ताहभरको कमाई आइतबारको छुट्टीमा रक्सी खाएर सक्छन् । त्यसदिन तिनीहरुको दिमागमा अर्को दिन आउँछ भन्ने अटाउँदैन । जब सोमार ती व्यक्तिहरु ओछ्यानबाट विहानै उठ्छन् , त्यसबेला उनीहरुको जीवन अन्धकारमय हुन्छ । अन्ततः आफैंलाई सम्हाल्न नसकेर उनीहरु मृत्यु अंगाल्न पुग्छन् । म हतार हतार कार्यालय पुगेर त्यो गरिब मजदुरको बारेमा समाचार लेख्न थालें । मैले लगातार दुई घण्टा समाचार लेखिरहें । लेख्दालेख्दै कयौं पेज भरिए । सम्पादक दिउँसोको खाना खान निस्कन लागेका थिए । म लेख्न व्यस्त भएको देखेर सम्पादक आएर समाचार पढे । समाचार पढेपछि चुरोट सल्काउँदै भने–‘शायद तिमीलाई थाहा छैन होला अस्काइन, यतिबेला पत्रिकाको अपरान्ह संस्करण बजारमा विक्न लाग्यो होला । मैले तिमीलाई विहान ९ बजे नै घटनास्थलमा पठाएको थिएँ । यतिबेलासम्म तिमीले एउटा रिपोर्ट पनि तयार गरेका छैनौं ।’

म उसलाई कालो सोमबारका कारण एक गरिबले आत्मदाह गर्नुपरेको विवशताका बारेमा सविस्तार लगाउँदै थिएँ  । ‘तिम्रो विचारमा त्यस्तो हुनसक्छ । आज यो समाचार छापिएन भने भोलि मेरो लागि कालो मंगलबार बन्न सक्छ । यसैकारण प्रबन्ध सम्पादकले नोकरीबाट मलाई हटाइदिन्छ ।’ यति भन्दै उनले मेरो रिर्पोट च्यातेर मिल्काइदिए । मैले तयार पारेको रिपोर्ट प्रयोगमा आउन सकेन । पेगी मिचेल जो त्यस पत्रिकामा धेरै अघिदेखि कार्यरत थिइन । उनैबाट उक्त रिपोर्ट लेखाइयो । हन्टर रिपोर्ट, समसामयिक लेख मिचेल   मार्फत  लेखाउँथे । पाठकहरु उनका लेख पढ्न मरिहत्ते गर्थे । तर उनी त्यति सजिलै आफ्ना रचना दिन मान्दिनथिन । अखबारबाट निवृत्त भएर सम्पूर्ण समय उपन्यास, कथा लगायतका साहित्यिक सिर्जनामा खर्चिने उनको धोको थियो । उनले वर्षौंअघि देखि यसखाले योजना बनाएकी थिइन । अन्ततः उनले अखबारबाट विदा लिइन । त्यसको केही वर्षपछि मिचेलको एक ठूलो उपन्यास निस्कियो । जुन उपन्यास संसारका महान कृतिको समकक्षीमा आउन सफल भयो । उक्त कृतिको नाम थियो– ‘गन विथ द विड ।’ 

पत्रकारिता गरेर उब्रिएको समयमा  म पनि उपन्यास, कथा लेख्थें । यो कुराको जानकारी मैले सम्पादकलाई दिएको थिइँन । मलाई थाहा थियो– यो रहस्य खुल्ने वित्तिक्कै उनले मलाई जागिरबाट निकाल्छन् । किनकी उनको हेराईमा साहित्यिक कृतिको कुनै मूल्य छैन । महत्व छैन । पत्रिकामा काम गरेको ६ महिना पुगिसकेको थियो । हन्टरले मेरो पारिश्रमिकमा ५ डलर बढाइदिएका थिए । एकदिन सम्पादक मेरो कार्यकक्षमा आएर ‘किंबल हाउस’ मा हुन गइरहेको पत्रकार सम्मेलनमा पुगी रिपोर्ट तयार पार्न आदेश दिए । मैले सोचें कि आम मानिसको दृष्टिकोणबाट यो सम्मेलनको महत्व छैन । साधारण रिपोर्ट नै यसका लागि पर्याप्त छ । त्यहाँ पुग्नुभन्दा अघि नै मैले होटलमा पर्याप्त खाजा खाएँ । त्यहाँबाट निस्किएर जुत्ता पालिस गराएँ । एकघण्टाको हिँडाईपछि म तोकिएको स्थान पुगें । पत्रकारहरुको व्यापक जमघट थियो । म पनि पछिल्लो पंक्तिको कुर्सीमा गएर बसें । आयोजकहरुले बोलेको समेत सुन्न मलाई कठिन पथ्र्यो ।  

दिउँसोको खाना खाइसकेपछि मैले हन्टरलाई फोनमा सम्पर्क गरें । एक डाक्टरले नयाँ खालको बिजुली बल्बको आविष्कार गरेका थिए । त्यही बारेको पत्रकार सम्मेलन थियो त्यो । थोमस अल्वा एडिसनको आविष्कारपछिको बल्ब सम्बन्धमा त्यो नै नयाँ खोज र प्रयोग थियो ।  जुन रिपोर्ट सचित्र आकर्षक ढंगले प्रकाशित हुनसक्थ्यो । मेरो फोन सम्पर्कबाट हन्टर आत्तिए । यसपटक पनि समाचार भताभुङ्ग हुने भयो भन्ने डरले उनलाई त्रस्त पारेको थियो । तर मैले भोलिको अखबारमा रिर्पोट छाप्ने ढाड्स दिंदै नडराउन आग्रह गरें । अब मलाई रिपोर्ट कसरी तयार गर्ने भन्ने चिन्ताले सताउन थालेको थियो । मैले तत्कालै गई केही डाक्टरहरुसंग कुराकानी गरें । तत्पश्चात् अमेरिकाका लागि उक्त पत्रकार सम्मेलनको के महत्व छ र मानव जीवनका लागि यसबाट कस्तो प्रभाव पर्न सक्छ  भन्ने विषयमा मैले सानो रिपोर्ट तयार गरें । जुन रिपोर्टले अखबारमा ठाउँ पायो । मेरो रिपोर्ट पढेपछि प्रबन्ध सम्पादकले हन्टरलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रशंसासहित चुरोट पिउन दिए । उनले हर्षित हुँदै डाक्टरको पत्रकार सम्मेलन बारेको रिपोर्ट आफ्नो पत्रिकामा मात्र प्रकाशित भएको बताए । हन्टर मलाई भेट्न आए ।

आज उनको मुहारमा खुसीको चमक देखिन्थ्यो । आउने वित्तिक्कै उनले मलाई बधाई दिंदै भने– ‘अस्काईन, तिम्रो रिर्पोटलाई सवैले मन पराएका छन् । यो हो सच्चा पत्रकारिता । यदि तिमीले निरन्तर पत्रकारिता गर्यौ भने तहल्का मच्चाई दिन सक्छौ । कथा, उपन्यास लेखेर लेखक बन्ने सपना मन, मस्तिष्कबाट हटाइदेउ । त्यो कामको कुनै भविष्य छैन् । लेखक मरी मरी काम गर्छ तर उसको गोजी रित्तो भइरहन्छ । तिमीले मन लगाएर जर्नलमा काम गर्यौ भने एकदिन तिमी धेरै माथि उठ्ने छौ । सम्पादक बन्नेछौ ।’ यति भनेर केही छिनको मौनतापछि हन्टरले पुन ममाथि प्रश्न तेस्र्याए– ‘के अब पनि तिमी पत्रकारिता छोडेर पेशेवर लेखक बन्न चाहान्छौ ?’

मैले दृढतापूर्वक भनें– ‘हो ! मैले महान लेखक बन्ने सपना देखिरहेको छु ।’ मिचेलले अखबारको जागिर छोडेर लेखक भई नाम कमाएको घटना मेरो लागि प्रेरणाको श्रोत बनेको थियो । हन्टर चुरोट तान्दै थिए । केही छिनपछि मतिर हेर्दै क्षेप्यास्त्र हान्दै थिए– ‘जे भएपनि केही छैन । किनकी म तिमीलाई रोक्न सक्दिन । मेरो भनाई नमान्दा तिमीले जीवनमा ठूला ठूला कठिनाई सामना गर्नुपर्छ ।’ त्यसको एक महिनापछि मैले पत्रिकाबाट राजिनामा दिएँ । जति दुख भोग्नु परेपनि भोग्ने क्षमता मभित्र पलाएको थियो । दुख भोग्नुपर्ने डरले सफल लेखक हुने मेरो इच्छालाई म कहिल्यै दब्न दिन्नथें । लेखक भएर बाँच्नु नै मेरो जीवनको अन्तिम लक्ष्य थियो । पत्रकारिता त केवल उक्त लक्ष्य प्राप्तिका निम्ति अपनाइएको क्षणिक बाटो थियो । 
 

पत्रकारिता लक्ष्मणरेखा