विचार

भारतको स्वतन्त्रता संग्राममा नेपालको शानदार कदम 

मञ्जिभ सिंह पुरी 

भारतको स्वतन्त्रता संग्राममा नेपालको शानदार कदम 

महात्मा गान्धीको प्रभाव विश्वव्यापी छ । तर, उनले जीवनमा छिमेकी मुलुक नेपालको भ्रमण कहिले पनि गरेनन् । त्यसैले गान्धीको विरासत मुस्किलैले नेपालमा पाइन्छ । वास्तवमा नेपाल ती अति कम मुलुकहरूमा पर्छ, जहाँका सडक, सार्वजनिक स्थल, चोक आदि गान्धीको नामबाट छैनन् र उनको शालिक पनि नेपालमा खासै छैन । 

यो भएर पनि अर्को महत्वपूर्ण विषय के पनि हो भने नेपालका धेरै निष्ठावान व्यक्तिहरूले नेपालको प्रजातान्त्र प्राप्तिका लागि मात्रै संघर्ष गरेनन्, भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिए र केही त जेल पनि परे । 

नेपाली नेताहरूले भारतको स्वतन्त्रता संग्राममा भाग लिनुको एक महत्वपूर्ण कारण आन्तरिक पनि थियो । नेपाल आफैँ पनि निरंकुश शासनमा थियो, त्यो शासन हटाउन भारत स्वतन्त्र हुँदा सहज हुन्थ्यो । 

सन् १९४२, अगस्टमा अंग्रेजहरूविरुद्ध ‘भारत छोड’ अभियान शुरु भएपछि धेरै राजनीतिक नेताहरु गिरफ्तार परे । जयप्रकाश नारायण, डा. राम मनोहर लोहियालाई हैदराबाद जेलमा राखियो । जुन अहिले झारखण्डमा छ । त्यसबेलाका क्रान्तिकारीहरुलाई भारतमा ‘स्वराजी’ भन्ने गरिन्थ्यो । स्वराजीहरु जेल परेपछि त्यहाँ समय कटाउन कष्टकर हुन्थ्यो । ती मध्ये सुरज नारायण सिंह, जोगेन्दर शुक्ल, शालिग्राम सिंह, गुलाबचन्द्र गुप्ता र विजया पटवर्धन (अच्युत पटवर्धनकी बहिनी) लगायतले त जेल तोडेर पनि निस्केका थिए । 

प्रहरीले स्वराजीहरूविरुद्ध व्यापक धरपकड गरिरहेको थियो । दक्षिणी बिहारको घना जंगलमा लुक्नसमेत गाह्रो थियो । तर, बिहार कटेर नेपाल जान पनि सजिलो थिएन । किनभने त्यो बेला नेपालका राणा शासकहरु अंग्रेजहरूसँग अत्यन्तनिकट थिए । जसका कारण नेपालमा राजनीतिक शरणार्थीको मान्यता पाउन मुस्किल थियो ।

नेपालमा पनि प्रहरीले सीमावर्ती क्षेत्रमा चेक पोस्टहरू राखेर सतर्कता बढाएको थियो । नेपालमा यस्तो सतर्कता अपनाउँदा अपनाउँदै पनि जयप्रकाश नारायण र विजया पटवर्द्धनको एक चलाखीले उनीहरू सीमा पार गर्न सफल भए । 

त्यो चलाखी निकै रोचक पनि छ । सीमा कट्ने बेला जयप्रकाश नारायण घोडामा बेहुलाको रुपमा सवार थिए, विजया डोलीमा थिइन् । बाँकी जन्तीहरू थिए । उनीहरूले सीमामा भने कि – उहाँ सेठजी हुनुहुन्छ । आफ्नी नयाँ दुलही लिएर आफ्नो घर फर्किदै हुनुहुन्छ । 

यस्तो चलाखीले उनीहरू हनुमाननगरको बानरझुलामा सन्  १९४३ अप्रिलमा पुगे। त्यस क्षेत्रमा एक बहादुर र उदार जमिन्दार थिए रामेश्वर सिंह, उनैले सेल्टर थिए । र त्यो क्रान्तिको एक साझेदार बने । 

लगत्तैपछि जयप्रकाशको कंग्रेस समाजवादी पार्टीको सम्मेलन पनि बानरझुलामा सम्पन्न भयो । त्यो सम्मेलनमा बिहार, उत्तरप्रदेश, उडिसा, बंगाल र पञ्जावबाट समेत प्रतिनिधिहरु आएका थिए । आजाद दस्ता तयार गर्नु र नेपाली क्रान्तिकारीहरुलाई पनि तालिम दिनु पर्ने आवश्यकताका कारण त्यहाँ सम्मेलन गरिएको थियो । 

निकै उत्साहका साथ सरदार नित्यानन्दको नेतृत्वमा तालिम सुरु भयो । नित्यानन्दले आजाद हिन्द फौजी बनाए त्यो फौजमा १८ जना थिए । विजया पटवद्र्धन तालिमकै क्रममा घाइते भइन् । त्यसपछि उनलाई भारत फिर्ता पठाइयो । 

त्यसपछि ‘स्वराजी’हरु कौशिक क्षेत्रमा लुकेर बसेको सुराक ब्रिटिस शासकहरुको कानसम्म पुग्यो । ब्रिटिस शासकहरुले नेपाल सरकारलाई दबाब दिन थाल्यो । नेपाल सरकारले पनि सो क्षेत्रका स्वराजीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन बाक्लो बनायो । मे महिनाको मध्यतिर सन् १९४३ मा नेपाल प्रहरीले जयप्रकाश नारायण, लोहिया र केहीलाई पक्राउ गर्यो । तुरुन्तै उनीहरुलाई गोरुगाडामा राखेर हनुमाननगर जेल पुर्याइयो । 

प्रहरीको नियन्त्रणमा भएको बेलामा पनि जयप्रकाशले एउटा चुरोटको बट्टामा ‘मलाइ मुक्त गर, तिम्रो सेठजी’ भन्ने सन्देश पठाए । सेठजी भन्ने शब्दले पक्राउ नपरेको नारायण सिंहलाई जयप्रकाश पक्राउ परेको थाहा भयो । र उनलाई मुक्त गर्नै पर्छ भन्ने खबर पनि उनले पाए ।

जयप्रकाशको सन्देशपछि सुरजनारायण सिंहले नेपालका रामेश्वर सिंहको सहयोगमा ‘नेपाली आजाद दस्ता’ मे २३, १९४३ मा हनुमाननगर जलतर्फ अगाडि बढ्यो । उनीहरु मध्येरातमा हनुमाननगर जेलनजिकै पुगे । प्रहरीमाथि आक्रमण गरे र जेलमा रहेका आफ्ना स्वराजीहरुलाई मुक्त गरेर कोशी नदी तर्दै भारत फर्किए । हनुमाननगर जेलसँग प्रमुख जिल्ला अधिकारीको निवास पनि थियो । बाहिर बन्दुकको फायरिङ सुनेर प्रमुख जिल्ला अधिकारी खाटमुनी लुके । 

हनुमाननगरको त्यो घटना धेरै अर्थपूर्ण पनि छ । किनभने नेपालीहरुले आफ्नै प्रहरीविरुद्ध धावा बोलेका थिए । १०४ वर्षको राणा शासनमा यो नै यस्तो पहिलो घटना थियो नेपालमा । नेपालीहरुले यस्तो ऐतिहासिक काम भारतको स्वतन्त्रताका लागि गरेका थिए । 

यो घटनापछि बानरझुलाका धेरै मानिसहरु पक्राउ परे । कतिपयलाई काठमाडौंको जेलमा पनि राखियो । रामेश्वर सिंहसहित धेरैलाई हनुमाननगर काण्डमा दोषी ठहर्याइयो । उनीहरुलाई कारावासमा राखियो । मुद्दाकै प्रक्रियामा कृष्णवीर कामी र अब्दुल मियनले प्राण त्यागे । १९४६ मा भारतको अन्तरिम सरकारलाई महात्मा गान्धीले आदेश दिएपछि भारत सरकारको अनुरोधमा नेपालको जेलबाट मुक्त भए ।  

जयप्रकाशको सम्बन्धमा उनी पछिल्लो पटक कलकत्तामा पक्राउ परे, उनी हनुमाननगर काण्डमा संलग्न भएको कुनै औपचारिक प्रमाण भेटिएन र कुनै अभियोगपत्र पनि दर्ता भएन । 

(नेपालका लागि भारतीय राजदूत पुरीले हिन्दुस्तान टाइम्समा लेख्नुभएको लेखेको अनुवादित संस्करण)