कभर स्टोरी

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः चितवनका एसपी भन्छन्, ‘आज र भोलिसम्ममा एक्सन देख्नुहुनेछ’

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः चितवनका एसपी भन्छन्, ‘आज र भोलिसम्ममा एक्सन देख्नुहुनेछ’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्यामा दूरुत्साहन गरेको निष्कर्षमा पुग्नासाथ संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरिने चितवन प्रहरीले बताएका छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘हामी केही रिपोर्टहरु पर्खिरहेका छौं । आज साँझसम्ममा रिपोर्ट आइपुग्ला । त्यसपछि निष्कर्षमा पुग्छौं ।’

एसपी मल्लका अनुसार मृतक पुडासैनीको साथमा रहेको मोबाइल, भिडियोमा उनको आवाजलगायत विषयहरु परीक्षण प्रतिवेदन पर्खिइएको हो । नेपालआजसँग कुरा गर्दै उनले भने, ‘नेपालआजले सार्वजनिक गरेको भिडियोलाई मात्रै आधार बनाएर आत्महत्यामा दूरुत्साहन गरेको भन्न मिल्दैन । तर सो भिडियोसहित अन्य आधारहरु, विभिन्न घटनाक्रम, आदिलाई केलाएर अनुसन्धान भइरहेको छ । यो अनुसन्धान पूरा भएपछि गिरफ्तार गर्न सक्छौं ।’

एसपी मल्लले पुडासैनीको आत्महत्या प्रकरणमा दूरुत्साहन गर्ने जो कोही भए पनि पक्राउ गरिने उल्लेख गरे । पुडासैनीले आत्महत्याअघिको भिडियोमा चर्चित टेलिभिजन कार्यक्रम ‘जनतासँग सीधा कुरा’का सञ्चालक रवि लामिछाने, सो कार्यक्रमसँग सम्बद्ध पत्रकारहरु दीपक बोहोरा, युवराज कँडेलसहितले आफूमाथि अन्याय गरेको बताएका छन् । 

एसपी मल्ल भन्छन्, ‘कोही चर्चित हुँदैमा अनुसन्धानको दायरामा नपर्ने, सामान्य मानिसहरु मात्रै पर्ने भन्ने छैन । ढूक्क हुनूस्, केही रिपोर्ट पर्खिरहका छौं । आज र भोलिसम्ममा चितवन प्रहरीको एक्सन देख्नुहुनेछ ।’

यता कार्यक्रम ‘जनतासँग सीधा कुरा’का प्रस्तोता रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस् र हदैसम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेछ ।’

 न्युज २४ कै अर्का पत्रकार दीपक बोहोराले पनि सामाजिक सञ्जाल फेसबुकमा मृतक पत्रकार पुडासैनीलाई डिप्रेसन भएको  र उनले सेवन गर्ने औषधिसमेतको स्क्रिन सट राखेका छन् । उनले लेखेका छन्, ‘शालिकको भिडियो मैले पनि हेरेँ । ननडराउनु, नबिराउनु प्रहरीले अनुसन्धान गरिरहेको छ भनेको छ । प्रमाण हेर्ने र अनुसन्धान गर्ने जिम्मा प्रहरीकै हो । हाम्रो संलग्नता देखियो भने तोकिएको भन्दा बढी सजाय भोग्न तयार छु ।’

पत्रकार बोहोराले शालिकले आफ्नी बहिनीर प्रेमिकालाई पठाएका केही म्यासजहरु भनेर फेसबुक म्यासेन्जरको स्क्रिन सटहरु फेसबुकमा बुधबार नै पोस्ट् गरेका छन् । 

(स्क्रिन सट दीपक बोहोराको फेसबुक पेजबाट)

त्यस्तै गरी अर्का पत्रकार युवराज कँडेलले पनि शालिकले भनेकी युवती आफूले नचिनेको र कहिले पनि नभेटेको उल्लेख गरेका छन् । उनले त भनेका छन्, ‘मबाट कुनै गल्ती भएको रहेछ भने यो देशमा कामनु छ अनि सबै कुरा देख्ने इश्वर छ । म मर्न तयार छु । सबै कुरा छानविन होस् । हामीले कुनै अपराध गरेका छैनौं ।’