समाचार

रहेनन् साहित्यकार दीक्षित

रहेनन् साहित्यकार दीक्षित

काठमाडौं : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ। शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए।

विस १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्मिएका दीक्षितको नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्। उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। 

मदनमणि दीक्षित