समाचार

मिलोमतोमा वन फँडानी : पक्राउको डरले बस्तीभरि ताला

मिलोमतोमा वन फँडानी : पक्राउको डरले बस्तीभरि ताला

नवलपरासी । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँसपराल हाल्ने कोही छैन । बस्तीका ३४ घरमध्ये सबैजसोको ढोकामा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो ।

कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एक सयवटाभन्दा बढी हरिया रूख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका छन् । हरिया रूख काटिएको ३६ दिनपछि डिभिजन वन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् ।

खकरा गाउँ नजिकको जंगलमा वन कर्मचारी र वन समितिका स्थानीय पदाधिकारीको मिलेमतोमा हरिया रूख फँडानी भएको हो । त्यहाँ करिब ४ हजार क्युफिट काठ अवैध कटान गरिएको प्रारम्भिक अनुमान छ । त्यसको प्रचलित बजार मूल्य ४० लाख पर्छ ।

रूख कटानमा संलग्नले जनही ४० लाख बिगो र त्यसको दुई गुणा बढी जरिवाना तिर्नुपर्ने हल्ला भएपछि सोझा गाउँलेको भागाभाग भएको हो । रूख कटानमा संलग्न रहेको आरोप लागेका वडाध्यक्ष रनबहादुर झेडीमगर, वन समूहका अध्यक्ष दीपक जीसी र सचिव जयबहादुर बाह्रघरे भने गाउँमै छन् । वर्षायाममा विद्यालय बन्द भएको मौकामा रूख काटिएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीसहितको टोली निरीक्षणमा गएपछि कारबाहीमा परिने र जेल बस्नुपर्छ भन्ने त्रासले गाउँले घर छाडेर हिँडेका हुन् । ‘वन कर्मचारीकै मिलेमतोमा टाठाबाठाले रूख काटे तर गाउँले कारबाहीमा परिने त्रासले गाउँ छाडेर हिँडे,’ तालदेवी सामुदायिक वनका पूर्वअध्यक्ष चक्रपाणि तिमिल्सिनाले भने, ‘बाठा जोगिन्छन् । सोझा गाउँले फस्न सक्ने अवस्था रह्यो ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।