विचार Breaking News

दोषी नछूटुन, निर्दोष नपरून

दोषी नछूटुन, निर्दोष नपरून

पत्रकार शालिकराम पुडासैनी मृत्युका विषयमा उनको भिडियो हेरिसकेपछि दुई किसिमका प्रतिक्रिया आइरहेका छन् :

क ) भिडियोमा भने जस्तै आत्महत्याका लागि दुरुत्साहन गरिएको ।
ख ) पुडासैनीलाई परिबन्दमा पारी रवि लामिछाने र उनको टिमलाई फसाउन बक्न लगाई योजनाबद्ध रुपमा हत्या गरिएको । 

भिडियो हेरिसकेपछि त्यसअनुसार विश्लेषण गर्ने अधिकार सबैलाई छ । सत्य के हो भन्ने प्रहरी अनुसन्धान र त्यसपछि अदालतले गर्ने फैसलाबाट अपेक्षा गर्न सकिएला, तर अहिले अनुमान र विश्लेषण बाहेक अरु केही भन्न सकिन्न । 

सबैको अपेक्षा के छ भने गहिरो अनुसन्धान गरी सत्य तथ्य छिटो भन्दा छिटो सार्वजनिक गरी जो दोषी हो, त्यसलाई कडा कारवाही होस । पुडासैनीले नाम लिएका व्यक्ति मध्ये राष्ट्रिय टेलिभिजनमा कार्यरत रवि लामिछाने दोषी छन् कि छैनन् भन्नेमा धेरैको चासो छ । जसरी पुडासैनीले लामिछानेलाई केन्द्रमा राखी आफनो हत्यारा भनेका छन्, त्यस अनुसार लामिछानेको कसुर छ वा छैन भन्ने अनुसन्धानले देखाउला तर उनीमाथि ठूलो नैतिक दवाव भने परेको छ । 

यो आलेख तयार पारुन्जेलसम्म पुडासैनीबाट आरोपित अस्मिता कार्की पक्राउ परिसकेकी छिन् । लामिछाने र अर्का आरोपी युवराज कँडेलमाथि प्रहरी निगरानी उच्च छ । 

तर, अचम्म के छ भने घटनासगै प्रहरीले भिडियो प्राप्त गरेको हप्ता दिन नाघिसक्दा पनिे लामिछाने र कँडेललाई सोधपुछसम्म गरेको छैन । उनीहरुलाई सोधपुछ गर्नु भनेको दोषी करार गरी जेल कोच्नु होइन । यो पनि अनुसन्धानको एक प्रक्रिया हो । लामिछाने स्वयंले यो मामिलामा प्रहरीलाई सघाउन आफू तयार रहेको पटक–पटक बताइसकेका छन् । तर, प्रहरीले उनीहरुलाई सोध्नसम्म नसक्नु आश्चर्यको विषय भएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार यो किसिमका घटनामा यो भन्दा ठूलो अर्को प्रमाण हुँदैन । आत्महत्याका लागि दुरुत्साहन गरेको पुष्टि हुने आधार थुप्रै छन् । यसले आरोपित पत्रकारको संचार लाइसेन्स रद्द हुने देखि लिएर ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । 

आरोपित व्यक्तिहरुलाई प्रहरीले भिडियोका आधारमा पक्राउ गर्नुपर्छ । यसमा कसैको उजुरी कुरिरहनु पर्दैन । कुनैपनि अपराधको अनुसन्धान गर्नु प्रहरीको कर्तव्य भएकाले प्रहरी आफैं सक्रिय हुनुपर्छ । जो सुकै होस कुनै दवाव र प्रभावमा पर्नु हुँदैन । 

अर्कोतर्फ लामिछाने र कँडेलले आफूहरुमाथि लगाइएका आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको सामाजिक संजालमार्फत भनाइ राखेका छन् । यसको अर्थ उनीहरुले पुडासैनीले लगाएका आरोप अस्वीकार गरेका हुन् । पुडासैनीका विगतका भनाइ र व्यवहार हेर्दा पनि उनीहरुबीच तिक्तता देखिदैन । तर, कतिपय कुरा देखिने एउटा तर हुने फरक–फरक पनि हुन्छन् । यो रहस्य उद्घाटन गर्ने काम प्रहरीको हो ।