मुख्य समाचार

आज जनै पूर्णिमा : महत्व र धार्मिक पक्ष

हरि न्यौपाने

आज जनै पूर्णिमा : महत्व र धार्मिक पक्ष

येनबद्धो बलिराजा दानवेन्द्रो महाबल।
तेनत्वं प्रतिवध्नामी रक्षेमा चलमा चल।।

 

हिन्दु तागाधारीहरुले श्रावण शुक्ल पूर्णिमा अर्थात विहीबार जनै पूर्णिमा पर्व मनाए । यस मन्त्रको अर्थ हो– ‘‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” । 

यही अपेक्षा र कामनासहित सनातनी नेपालीहरुले जनैपूर्णिमा मनाएका छन् । यस दिन विहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको मोठको माटो लगाई नुहाएर शुद्धभई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै–यज्ञोपवित्र फेरेर जनैपूर्णिमा मनाइन्छ। यज्ञोपवित अर्थात यज्ञबाट पवित्र पारिएको । हिन्दू धर्मशास्त्रमा जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो भनिन्छ । जसमा नौ डोरा हुन्छन् । 

तन्तु त्रयं त्रिरावृत्तं तत्त्रयं तत्द्वयं तथा ।।

तीन सुता भएको धागालाइ नछिनालीकन संकलन गरेर बराबर पारेर बाटी त्यसलाई तीन भागमा बनाई बाट्दा नौ डोरा हुन्छ । जनैमा रहने तीनवटा शिखाका नौवटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई, ब्रह्मा, विष्णु र महेश्वर अर्को तीनमा कर्म , उपासन र ज्ञानयोग र अर्कोमा ऋषिऋण, पितृऋण र देवऋणको प्रतीक र सूचक मानिन्छन् ।यसैगरी सत्व, रज, तमको र ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रमको पनि प्रतीक र सूचक मानिन्छ, संन्यास आश्रममा यज्ञोपवित लाई विसर्जन गरिन्छ । यसले गर्दा सदैव दायित्व र कर्तव्यबोधको बाटोमा डोर असल पथिक बनाउनेछ भन्ने मान्यता छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् ।

 वैदिक मन्त्र द्वारा शोधन गरि हातमा डोरो लगाउने र अभिमन्त्रित रक्षासूत्र ब्राह्मणद्वारा सबै यजमानका हातमा लगाइदिने परम्परा छ । त्यसो त जनैपूर्णिमाका चारपक्ष रहेका छन् । श्रावणी स्नान, यज्ञोपवित , रक्षाबन्धन र ऋषि तर्पणी । प्राचीन वैदिक कालखण्ड देखि मनाउँदै आएक‍ो श्रावण शुक्ल पूर्णिमाको दिन, विधिवत् ढंगबाट शास्त्रीय मर्यादाले मन्त्रिएको नयाँ जनै तथा रक्षासूत्र डोरो लगाएर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाउने गरिन्छ । 

जनैको नौसूतामा भिन्न भिन्न नौ देवताको अधिष्ठान छ। भनिएको छ ः 

ॐकारः प्रथमे तन्तौ द्वितीयेऽग्नि स्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं षष्ठे चैव प्रजापति ।
सप्तमे मारुतश्चैव ह्यष्टमे सूर्य एव च ।।
सर्वे देवास्तु नवम इत्येतास्तन्तु देवतास्।
ब्रह्मणोत्पादितं सूत्रं विष्णुना त्रिगुणी कृतम् ।
रुद्रेण दत्तो ग्रन्थिर्वै सावित्र्या चाभिमन्त्रितम् ।।

 

ती देवताहरुका पनि नौ गुण रहेका छन् । पहिलो देवता ॐ कारको गुणहो ब्रहज्ञान, दोस्रो अग्नि देवको गुणहो तेज, तेस्रो अनन्त देवको गुणहो धैर्य, चौथो चन्द्रदेवको गुणहो शान्ति शीतलता , पाँचौ पितृदेवको गुणहो स्नेहशीलता, छैठौं प्रजापति देवताको गुणहो प्रजापालन, सातौं वायुदेवको गुणहो बल, आठौं सूर्यदेवको गुणहो प्रकाश, नवौं सर्वदेवताको गुणहो सात्विकता । यी गुणहरुको प्रतीक मानिने यज्ञोपवीत लाई ब्रह्माले सूत्र पैदा गर्नुभो, विष्णु ले तीनगुना गर्नुभो , शिवजीले गांठो पार्नुभो, र सावित्रीले अभिमन्त्रित गर्नुभयो । यस्तो पवित्र यज्ञोपवित विधिपूर्वक पूजा गरि धारण गर्नाले सम्पूर्ण उक्त गुणहरुले भूषित हुन जान्छ भन्ने विश्वास गरिन्छ ।

शास्त्रमा भनिएको छ:

पौर्णमास्यां श्रावणस्य स्नानकर्म समाचरेत् 
ऋषि तर्पणकं कुर्यात् ब्राह्मणस्य प्रपूजनम् 
पौर्णमास्यां दक्षहस्ते कङ्कणं धारयेत्तुवै ।

बर्षदिन सम्म हुनगएको त्रुटिजन्य प्रत्यवाय शान्तिक‍ो निमित्त उपाकर्म र उत्सर्जन कर्म गर्नुपर्छ । बिहानै उठी पञ्चगब्य प्राशन गरेर , कुश, दूबो, अपामार्ग, तिल, जौ, शुद्ध माटो , सप्तमृत्तिका, गाईको ग‍ोवर, खरानी र भस्म आदि लिएर पोखरी, ताल, तलाउ, कुवा , नदी , तीर्थ वा जलाशयमा गएर वैदिक मन्त्रद्वारा शरीरमा लगाई स्नान गर्ने परम्परा छ, यसलाई श्रावणी स्नान वा गण स्नान पनि भनिन्छ । यसैगरी यसदिन स्नानपछि देह शुद्ध गरि जौ, तिल र कुशद्वारा देवता, ऋषि र पितृहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ, र सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनै पूर्णिमाको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । 

ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरुको मान सम्मानमा ऋषि तर्पण गरि अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ ।

के हो जनै ? 
जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु। जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ, जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक र अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । अतः जनै धारण गर्ने व्यक्तिको लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तैः जनै धारण गरेको व्यक्ति हिन्दू हो भन्ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्यक्ति हात मुख धोएर सुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ, जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुशारको गाँठो दिईन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ। 

यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। 

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरेर गुरुद्वारा गायत्रीमन्त्र प्रदान गरे पछि , एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे कांधमाथि पर्ने गरि दाहिने हातबाट छिराई गुरुले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ हिन्दुधर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदअध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारणगर्न मन्त्रिएको धागो हो।
वैदिक सनातन वर्णाश्रमधर्म मान्ने हरूले ब्रतबन्ध गरेका दिनदेखि प्रत्येक दिन त्रिसन्ध्या गायत्री जाप गर्नु पर्छ र आजको दिन नयाँ यज्ञोपवित धारण गर्नु पर्छ।। 

धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्।  दर्शन अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ ।

रक्षाबन्धन किन मनाउने ? 
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक विश्वासको आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । 
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‍

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमा चल’ 

 

भनि रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेका हुन्छन् कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । यो पर्व भारतमा अलगै प्रकारले मनाईन्छ । यस दिन बहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षाबन्धन(राखी)बाँधेर, टिका लगाएर मिठाई खुवाउँछन । भाईले बहिनीलाई केही उपहार दिई भाइ बहिनीको प्रेम अमर रहोस् भन्ने कामना गर्दछन्, तथा बहिनीको रक्षा गर्ने वचन पनि दिन्छन्।