समाचार

घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान् फरार

घाँटी थिचेर श्रीमतीको हत्या, श्रीमान् फरार

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मंगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीय बासिन्दा हरिनारायण यादवले बताए ।

 

घरायसी झगडाको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयले बताएका छन् ।  घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकोमा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

 

हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी हत्या

विशेष