विचार

नेपालको शिक्षा प्रणाली र अबको बाटो

अभिषेक घिमिरे

नेपालको शिक्षा प्रणाली र अबको बाटो

सतही ज्ञान मात्र रटाउने शिक्षा

एउटा रमाइलो प्रसंग छ । एक पटक एक जना व्यक्तिलाई एक हप्ताभित्र जसरी पनि पौडी खेल्न सिक्नु पर्ने भएछ । उसले पुस्तक पसलमा गएर पौडी कसरी खेल्ने भन्ने विषयमा भेटे जति सबै पुस्तक किनेर ल्यायो । आफू बस्ने कोठाको ढोकामा 'म पढ्दै छु, कृपया शान्त रहनु होला' भनेर लेख्यो । त्यसपछि चुकुल लगाएर पुस्तक रटान लगाउन थाल्यो । एक हप्ता सम्म दिन रात पुस्तक घोके पछि उसलाई कुनै पनि पाठको कुनै पनि पानाको प्रश्नको जवाफ पनि फ्याट्ट आउन सक्ने भयो ।

बडो उत्साहित भएर नदीमा गएको त्यो युवकले पौडी खेल्न सक्यो होला त ?

हाम्रो शिक्षाको समस्या पनि यहीं नेर छ । हामीले विद्यार्थीलाई पुस्तक रटान मार्न मात्र प्रेरित गरेका छौं । त्यसको व्यवहारिक तथा प्रयोगात्मक पाटोलाई नजरअन्दाज गरेका छौं । रटान मारेको विद्यार्थीलाई प्रश्नको उत्तर लेख्न लगाउँदा राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण हुन सक्छ, तर जीवनमा फेल हुन्छ । 

उच्च शिक्षा हाँसिल गरेर पनि बेरोजगार बनेका लाखौँ युवा अहिले पनि भविष्य खोज्दै विदेशिनुले पनि यो यथार्थलाई चित्रित गर्दछ ।

पुस्तकमा मात्र सीमित अव्यवहारिक शिक्षा

सिन्धुपाल्चोक जिल्लाको तातोपानी जानु पर्ने भयो । जुरे पहिरो र भुकम्पको कारण हाम्रो गाडी खाडीचौर भन्दा पर लैजान नमिले पछि खाडीचौरकै सदाबहार स्कुलको प्रिन्सिपलले त्यहींको स्थानीय स्कार्पियो व्यवस्था गर्नु भएको रहेछ । उहाँहरूसँगै जाँदै गर्दा, हेर्दा र कुरा सुन्दा फुर्तिला देखिने आफैं गाडी चलाइरहेका गाडी धनी संग कुरा हुन थाल्यो ।

छोटो समयमै उनी सिन्धुपाल्चोककै सफल ब्यापारी भएका रहेछन । केही जीप, टिपर, रिसोर्ट लगायत संचालन गरेर बसेका रहेछन । तर कक्षा चार भन्दा पढ्न सकेनछन । हामीले पढाइ छोड्नुको कारण सोध्यौं । तर, उनको जवाफले चकित बनायो । गणितमा शून्य अंक आए पछि शिक्षकलाई नै पिटेर त्यसपछि कहिल्यै स्कुल गएका रहेनछन् ।

शिक्षकलाई पिट्ने कुराको मेरो कहिले पनि समर्थन रहँदैन तर शिक्षकलाई हेर्ने विद्यार्थी र आम मानिसको नजर किन सम्मानजनक हुन सकेन भने प्रश्नको उत्तर खोज्न त्यो घटनाले मलाई प्रेरित गर्यो ।

त्यो दिन मलाई लाग्यो, गणित जस्तो व्यवहारिक र जीवनसँगका प्रत्येक पल जोडिने विषयमा विद्यार्थी किन फेल हुन्छन ? मुटुको धड्कनदेखि हामीले फेर्ने सास पनि गणितीय मापनमा चल्छ । जन्मिएदेखि बाचुन्जेलसम्म मानिसको हरेक गतिविधि गणितबिना सम्भव छैन । कहाँनेर चुक्यौं हामी ? गणित, विज्ञान जस्ता विषयलाई जीवनसंग किन जोड्न सकेनौ ?

दोस्रो कुरा, गणित विषयमा शुन्य अंक ल्याउने विद्यार्थी फेरि कसरी सफल ब्यापारी बन्न सफल बन्यो? गहिराइमा पुगेर यसको उत्तर खोज्न जरुरी छ ।

स्कुल र शिक्षकको नाम लिन आवश्यक देखिन, तर पश्चीम नेपालमा एकजना गणित शिक्षकले कक्षा पाँचमा पढ्ने विद्यार्थीलाई कापीमा कोण खिच्न नजानेको भनेर धारिलो कम्पासले टाउकोमा रगताम्मे हुने गरी घोचिदिए । ज्यामितीय कोण बनाउनु वा बुझाउनु त्यति जटील विषय त होइन । त्यही कक्षाको ढोका उघार्दा र लगाउँदा पनि कोण बन्छ भनेर देखाएको भए त्यो दुर्घटना हुने थिएन । पुस्तकको पाना नै पल्टाउन लगाएर देखाएको भए पनि विद्यार्थीले कोणको अर्थ बुझ्न सक्थ्यो ।

म आफैं स्कुलमा पढ्दा गणित मन पर्दैन थियो । हरेक शीर्षकको प्रयोग कहाँ हुन्छ होला भनेर शिक्षकलाई सोध्दा गाली गर्नु हुन्थ्यो । फलस्वरुप, गणितसंग खासै दोस्ती जम्न सकेन ।

विद्यार्थीको वास्तविक क्षमता मापन गर्न नसक्ने परीक्षा

एउटा प्रसङ्ग छः धेरैओटा सिकारी कुकुर पालेका एक जना कुकुर धनीलाई आफ्ना कुकुरलाई चितुवासंग दौडाउन मन लागेछ । आफ्ना कुकुर तेज गतिमा दौडने र सबै भन्दा तेज जनावर चितुवालाई पनि सजिलै हराइदिने जीकिर गर्दै छिमेकीलाई पनि अवलोकन गर्न बोलाएछ । साथै, आफ्ना कुकुरसंग भिडाउन चिडियाखानाबाट चितुवा मगाएछ ।

तर, जब दौडिने समय आयो, तब चितुवा चुपचाप बसेर तँछाड मछाड गर्दै दैडिएका कुकुरलाई हेर्न थाल्यो । सबै छक्क परे । तर, चितुवालाई आफ्नो क्षमता थाह थियो । कुकुरसंग दौडिएर ऊ आफैंलाई अपमान गर्न चाहँदैन थियो ।

आज धेरै चितुवालाई कुकुरसंग भिडाएर उसको वास्तविक क्षमताको उपहास गरिंदैछ । आइन्स्टाइनले भनेका छन् 'सबैको आफ्नै क्षमता हुन्छ । तर यदि माछालाई रुख चढ्ने क्षमतासंग तुलना गरियो भने माछाले आफूले पौडन सक्ने विशिष्ट क्षमतालाई नजरअन्दाज गर्दै जिन्दगीभर आफूलाई मूर्ख ठान्ने छ ।'

सबैको आफ्नै क्षमता र विशेषता हुन्छ । तर, तुलना नै गर्न नसकिने क्षमतालाई एक आपसमा भिडाउने परीक्षा प्रणालीले विद्यार्थीको वास्तविक क्षमताको मापन गर्न सक्दैन ।

विल गेट्सले उच्च शिक्षा लिन सकेनन् । मार्क जुकरबर्गले पनि उच्च शिक्षालाई ध्यान दिएनन् । परम्परागत पाठ्यक्रमको पढाइमा औसत उनीहरू परीक्षाले मापन गर्न सक्ने सीमाभन्दा बढी क्षमतावान थिए । यही कारण आफूलाई काबील भएको साबित गर्न परीक्षाको कसीमा आफूलाई हाल्न चाहेनन् ।

महात्मा गान्धीलाई परीक्षाको कडीमा राखेर पटक पटक तेस्रो दर्जाको विद्यार्थी साबित गरियो । तर, वास्तविक जीवनमा गान्धीको क्षमतालाई अरुसंग मूल्यांकन गर्ने दुस्साहस कसैले गर्न सक्दैन आज ।    

संस्कार र आचरण नसिकाउने शिक्षा

केही महिना अगाडि एक जना डाक्टरले भने जति दाइजो नल्याएका कारण आफ्नी श्रीमतीको पिटेर हत्या गरे । हस्पिटलबाट उपचार गरेर ट्याक्सीमा फर्किंदै गरेको एक जना बिरामीलाई एक्कास्सी हृदयघात भए पछि ट्याक्सी ड्राइभरले बाटोमै छोडेर भाग्दा बिरामीको मृत्यू भयो ।

प्रहरी, वकिल, शिक्षक जस्ता पढेलेखेकाहरूबाट नै यौन हिंसा, घरेलु हिँसा लगायत हुने गरेका घटना बारम्बार बाहिरिन्छन् । उपल्लो दर्जामा पुगेका राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारमा लिप्त छन् । नीतिगत भ्रष्टाचारमा पढेलेखेकाहरू नै मुछिने गरेका छन् । नियम कानून तोड्ने, छलकपट गर्ने, झुक्क्याउने लगायत गतिविधि बढी मात्रामा पढेलेखेकाहरू बाटै हुने गरेको प्रष्ट देखिन्छ ।

आचरण मात्र नभएर आफ्नो मौलिकताको रक्षा, धर्मसंस्कृतिको सम्मान, सामाजिक मूल्य मान्यताको संरक्षण, चाडपर्व तथा संस्कृतिको सम्बर्धन जस्ता विषयमा शिक्षित व्यक्ति नै बाधक बनेका छन् ।

यसको तुलनामा अशिक्षितहरू केही अपबादबाहेक अलि बढि इमान्दार देखिएका छन् । किन यस्तो भयो? शिक्षित व्यक्ति अझ बढी इमान्दार, अझ बढी जवाफदेही र जिम्मेवार हुनुपर्ने हो ।

लेखनाथ पौडेलले भनेका छन्ः

'फलेको वृक्षको हाँगो नझुकेको कैले छ र ?

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर !'

अर्थात, शिक्षित व्यक्ति जहिले पनि विनम्र, शिष्ट र अनुशाशित हुनु पर्ने हो ।

तर किन उल्टो परिणाम देखिएको छ ?

यसको एउटै जवाफ छ । हाम्रो शिक्षाले विषयवस्तुको ज्ञान त सिकायो, तर नैतिकता र आचरण निर्माण जस्ता कुरा सिकाउन सकेन । आफू मात्र अघि बढ्नु पर्छ, अरु भन्दा अब्बल हुनु पर्छ, सबैभन्दा तेज गतिमा दौडन सक्नुपर्छ भनेर सिक्दै गर्दा अरुलाई पनि सहयोग गर्नु पर्छ, सामुहिक एकता सबैभन्दा ठूलो हुन्छ भनेर हाम्रा स्कुल कलेजले सिकाउन सकेनन् । विश्वमा प्रतिष्पर्धी बन्नु पर्छ, संसारका हरेक उपलब्धीलाई चुम्नु पर्छ भनेर सिक्दै गर्दा आफ्नो मौलिकता भुल्नु हुँदैन, आफ्नो माटो र धरातल भुल्नु हुँदैन भनेर आजको शिक्षाले सिकाउन सकेन ।

तर, त्यो सतही शिक्षाको के अर्थ जसले मानवता र संस्कार सिकाउन सक्दैन ।

कर्मकाण्डी व्यवस्थापन

प्रसंग : विराटनगरबाट एक जना मित्रले मलाई काठमाडौँमा फोन गर्नु भएछ । विराटनगरमा कलेज संचालन गर्ने उहाँले स्नातक परीक्षाको फारम भर्न काठमाडौँ आउँदा भेट्न खोज्नु भएको रहेछ । एअरपोर्टमा भेटेर संगै त्रिभुवन विश्वविद्यालय जाने कुरा भयो । तर, जब उहाँले बीएस्सी सीएसाइटीको ब्लकमा लैजानु भयो, मलाई बडो अचम्म लाग्यो ।

इन्फर्मेसन टेक्नोलोजी पढाउने विश्वविद्यालयको स्नातक तहको परीक्षाको फारम पनि हातले भरेर विराटनगरबाट प्लेन चढेर आएर बुझाउनु पर्ने ? यो जस्तो लज्जास्पद कुरा अरु केही हुन सक्छ ? अनलाइन फारम भर्ने व्यवस्थापन पनि मिलाउन नसक्ने विश्वविद्यालयले के सिकाउँछ ? त्यति मात्र होइन, तीन किलोमिटर तल रहेको बैंकमा पैसा तिरेर रसिद पनि बुझाउन भनियो । सम्पूर्ण व्यवस्थापन नै खातापाता, हाते कामकाज र कर्मकाण्डी ढंगमा चलेको विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्छ ?

सूचना प्रविधि जस्तो विषयमा पनि हाम्रो व्यवस्थापनको ढांचा पूरातन शैलीको छ भने यस्तो शिक्षाको के अर्थ ?

पूरानो र परम्परागत पाठ्यक्रम

प्रसंग : कम्प्यूटर इञ्जिनियर गर्नु भएका एक जना मित्रले अध्ययन गरेको पेशा नरोजी एक मासिक पत्रिकाको मार्के्टिङ्ग गर्दै गरेको देखेपछि उत्सुकता लागेर मैले कारण सोधें । उहाँको जवाफले मेरो होस उडायो । पढिसकेर जागिरको लागि आवेदन दिंदा बल्ल उहाँले थाहा पाउनु भएछ, उहाँले पढेको पाठ्यक्रम बजारमा आउटडेटेड रहेछ । त्यस पछि पश्चाताप गर्दै उहाँले आफ्नो परिवारले संचालन गर्दै आएको पत्रिकामा काम गर्न सुरु गर्नु भयो ।

आफैंलाई नचिनाउने शिक्षा

सन्दर्भ ३ : केही वर्ष अगाडि निजी स्कुलमा शिक्षक व्यवस्थापन गर्ने एउटा संस्थामा तालीम निर्देशक भएर काम गर्दै गर्दा एमबीबीएस गरेको एक व्यक्तिको बायोडाटा मेरो हातमा पर्यो । माध्यमिक तहको शिक्षकका लागि आवेदन दिएको उक्त व्यक्तिको विवरण पढे पछि मलाई अचम्म लाग्यो । अन्तर्वार्तामा बोलाएँ । शिक्षक बन्ने इच्छा भएका उनलाई बाबु आमाले डाक्टर बन्न दवाब दिएका रहेछन ।

यो विषयमा वैज्ञानिक अध्ययन नभए पनि आफ्नो इच्छा विपरीत वा आफैंलाई नचिनेर अरु नै पढ्ने वा काम गर्नेको संख्या धेरै छ ।

शिक्षामा परिवर्तन किन जरुरी छ ?

टम हेरिकले भनेका छन् - 'एक्काइसौँ शताब्दीका आजका विद्यार्थीलाई बीसौं शताब्दीको चिन्तन बोकेका शिक्षकले उन्नाइसौं शताब्दीको पाठ्यक्रममा अठारौँ शताब्दीमा आविष्कार भएका सिद्धान्त घोकाउदै छन्' । आलोचनात्मक रुपमा सोच्ने हो भने उनको यो भनाइसंग ठ्याक्कै सहमत हुन त नसकिएला । तर, यो आलंकारिक हो । उन्नाइसौं शताब्दीको प्रविधि र पद्धतिले एक्काइसौँ शताब्दीको जनशक्ति तयार गर्न सकिन्न ।

एल्विन टफ्लर भन्छनः 'अक्षर नचिन्नेहरू एक्काइसौँ शताब्दीका अशिक्षित होइनन् । निरक्षर त ती हुन् जसले जाने बुझेको कुरालाई पुरै बिर्सिएर त्यसको ठाउँमा नयाँ कुरा सिक्न हिम्मत गर्दैनन् ।'

शिक्षाको परिभाषा बिस्तारै फेरिंदै छ । हिंजो अक्षर चिनेर सामान्य लेखपढ गर्नु नै शिक्षित भनिन्थ्यो । तर आज आफूले सिकेको कुरालाई विश्लेषण गर्न नसक्ने, सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न नसक्ने, सिकाइमा निरन्तर लाग्न नसक्ने शिक्षित नै होइन । शिक्षित व्यक्तिबाट समाजले गरेको आशाको दायरा फराकीलो बन्दैछ । 

आज हरेक कुरामा विश्वमा परिवर्तन देखिन्छ । हिंजो भन्दा आज कसरी नयाँ आविष्कार गर्न सकिन्छ भनेर वैज्ञानिक अध्ययनरत छन् । प्रविधिको विषयमा त हरेक पल नयाँ नयाँ प्रयोग र आविष्कार हुन थालेका छन् । पचास वर्ष अगाडि हामीले हेर्ने टेलिभिजन आजको जस्तो थिएन । हामीले प्रयोग गर्ने स्मार्ट फोन आज यस्तो हुन्छ भन्ने कुरा बीस वर्ष अगाडि सोचिएको नै थिएन । प्रत्येक विषयमा नयाँ परिष्कृत रुप, आयाम, आविष्कार  तथा प्रयोग भेटिन्छ । तर, शिक्षा जस्तो संबेदनशील विषय सय वर्ष अगाडी जस्तो थियो, आज पनि लगभग उस्तै नै छ ।

नेपालको सन्दर्भमा विद्यालय तहको आधुनिक शिक्षाको सुरुवात विक्रम सम्बत १९१० मा भयो । १९७५ मा स्थापना भएको त्रिचन्द्र कलेज पनि १०० वर्ष पुग्यो । प्रजातन्त्र स्थापना भए लगत्तै सुरु भएको शैक्षिक सुधारको बहस आज पनि सकिएको छैन । आज सम्म आइपुग्दा शैक्षिक सुधारका लागि धेरै अध्ययन समिति गठन भए । धेरै आयोग बने । धेरै आक्रामक परियोजना तथा अभियान संचालन भए । तर, परिणाम –मुलुकको शैक्षिक स्थिति झन् बिकराल बन्दै गएको देखिन्छ । ऊ बेला जुन मुद्धामा बहस चल्थ्यो, शिक्षामा सबैको पहूँच लगायतका केही सुधारका विषय बाहेक अधिकांश विषय आज पनि उस्तै अवस्थामा छन् । 

यसर्थ, अब शिक्षामा आमूल परिवर्तनका लागि व्यवस्था र नीति मात्र होइन, सोच र मानसिकतामै परिवर्तन गर्नु पर्ने देखिन्छ ।

नेपालको शिक्षा प्रणाली