अपराध सुरक्षा

मोबाइल फोनले भेट्यो हत्यारा

मोबाइल फोनले भेट्यो हत्यारा


काठमाडौँ । महोत्तरी प्रहरीले मोबाइल  फोनको आइएमइ नम्बरको आधारमा १ महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको थियो । हत्यापछि फरार भएकालाई मोबाइलको आइएमइका आधारमा गौशाला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरी छन् । उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गौशालाले आज सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  


इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको थियो । सोही मोबाइलको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठको गत असार ५ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हतियार प्रहार गरी फरार भएको समूहले मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलसमेत लुटेका थियो ।


हत्याको घटनाको अनुसन्धानको क्रममा मोबाइलको आइएमइको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिनुभयो ।